थरी थरीका चीर

ललितपुर, १८ फागुन । हरेक वर्ष फागुन अष्टमिका दिन होली पर्व आरम्भ भएको संकेत स्वरुप काठमाडौंको बसन्तपुरमा चीर ठड्याउने गरिन्छ । आठ दिन पछि उक्त चीर ढालेर टुँडिखेलमा जलाउने परम्परा छ ।
तर काठमाडौंमा चीर ठड्याउने कार्य बसन्तपुरमा मात्र गरिने भने होइन । बसन्तपुरमै रहेको हनुमानढोका दरवारभित्रका विभिन्न चोकहरूमा पनि चीर ठड्याउने गरिन्छ ।
बसन्तपुरमा चीर ठड्याएकै दिन हनुमानढोका दरवार भित्रको दाक चोक, मनकाली चोक र हनुमानको मूर्ति सामुन्ने पनि चीर ठड्याउने गरिन्छ । यी चीरहरू भने रुखको हाँगो जस्तो मात्रै देखिन्छ । तर यो मल्लकालदेखि नै चल्दै आएको पुरानो चलन हो ।
बाहिर बसन्तपुरमा भने रंगबिरंगी कपडा सहितको ठूलो चीर ठड्याउने गरिन्छ । यो चीर बनाउने काम काठमाडौंको धालसिक्व टोलका स्थानीय मानन्धर समुदायले गर्दछन् । साथै त्यहाँ चीर ठड्याउने काम पनि यही समुदायले गर्दछन् ।
बसन्तपुर बाहेक अन्य ठाउँमा चीर उठाउन नेपाली सेनाको गुर्जुको पल्टनले पशुपति गुजेश्वरी मन्दिरको पछाडि रहेको वनबाट जंगली नास्पातीको बोट लिएर आउने गर्छन् । बोट टिपेपछि त्यसको एउटा हाँगा गुजेश्वरीलाई चढाउँछन् । त्यस्तै अर्को एउटा हाँगा मृगस्थलीस्थित गोरखनाथलाई चढाउँछन् भने एउटा हाँगा पशुपतिनाथलाई चढाउँछन् ।
त्यसपछि त्यही हाँगा हनुमानढोकामा ल्याई विभिन्न चोकहरूमा चीरका रुपमा ठड्याउने गरिन्छ ।
होली पर्वको संकेत स्वरुप ललितपुरमा कृष्ण मन्दिर सामुन्ने पनि चीर ठड्याउने गरिन्छ । होली पर्वको प्रशंग आउँदा भगवान श्रीकृष्ण आफ्ना गोपीनीहरूसँग होली खेल्नुभएको कथा पनि आउने गर्दछ ।
भक्तपुरमा भने होली पर्वको अवसरमा फरक खालको संस्कार गर्ने परम्परा रहेको छ । भक्तपुरमा भिमसेन मन्दिरमा लिङ्ग र योनीको प्रतीक राखेर होली मनाउने गरिन्छ । आठ दिनसम्म खुल्ला राखिने उक्त लिङ्गको पूजा गरे सन्तान उत्पादनमा सघाउ पुग्ने विश्वास गरिन्छ ।
यस्तै नुवाकोट दरवार र गोरखा दरवारमा पनि आफ्नै प्रकारले चीर ठड्याउने परम्परा रहेको छ ।
यी उठाइएका सबै चीरहरू होली पूर्णिमाका दिन तोकिएको साइतमा ढाल्ने गरिन्छ । यस मध्ये बसन्तपुरमा ठड्याइएको चीर टुँडिखेलमा लगेर जलाउने परम्परा रहँदै आएको छ । अहिले भने त्यसरी जलाइएको चीरको कोइला मारवाडी समुदायले घरमा लाने र पछि त्यसैको टीका लगाउने नयाँ चलन शुरु भएको पाइन्छ ।