अनुशासन विपरीत आचरण गरेको ठहर गर्दै उपरथी प्रेम शाहीलाई सेवाबाट बर्खास्त

काठमाडौं, १७ फागुन । सैनिक अदालतले आर्थिक अनुशासन विपरीत आचरण गरेको आरोपमा दोषी ठहर गर्दै नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सेवाबाट बर्खास्त गरेको छ । उहाँलाई सेवाबाट बर्खास्त गर्ने सजाय सुनाएको नेपाली सेनाका जानकारी दिएको छ ।

सैनिक ऐन, २०६३ विपरीतको कसूर गरेर सैनिक अनुशासन उल्लंघन गरेकाले शाहीलाई सेवाबाट हटाउने निर्णय गरेको मुख्यालयले जानकारी दिएको हो । कोर्ट अफ इन्क्वाइरीपछि सैनिक मुख्यालयले उपरथी ताराध्वज पाण्डेको अध्यक्षतामा सैनिक अदालत गठन गरेको थियो । पाण्डे नेतृत्वको अदालतमा सैनिक विद्रोह सम्बन्धी कसूरमा तीन जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

यो मुद्दामा जोडिएका अन्य महासेनानी महेन्द्रजङ्ग शाह र प्रमुख सेनानी कुलदिप तिमसिनालाई सामान्य कारबाही हुने फैसला भएको सैनिक मुख्यालयले जानकारी दिएको छ । आदेशमाथि चित्त नबुझे ३५ दिनभित्र विशेष अदालतमा पुरावेदन गर्नसक्ने व्यवस्था छ ।

अवकाशमा जानुभन्दा दुई साताअघि विदामा बस्नुभएका उपरथी शाही आफ्नो सेवा अवधि अझै एक वर्ष बाँकी रहेको भन्दै सर्वोच्च अदालत पुग्नुभएको थियो । सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि उहाँ कार्यालय हाजिर हुन पुगेपनि सैनिक मुख्यालयले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।