कोशी नदीसँग किराँत–लिम्बुको सभ्यता, मण्डल–यादव–माझीहरुको जीवन जोडिएको छः रेवतीरमण भण्डारी (अन्तर्वार्ता)

रेवतीरमण भण्डारी, नेकपा (एमाले) कोशी प्रदेशका प्रमुख सचेतक हुनुहुन्छ । दुई दिन अघि मात्रै प्रदेश नम्बर एकले ‘कोशी’ प्रदेशको नाम प्राप्त गरेको छ । कोशी प्रदेशमा सहमति जुटाउन मुख्यमन्त्री हिक्मत कार्कीसँगै निकै ठूलो भूमिका खेल्नुभएका भण्डारीसँग कोशी प्रदेश नामाकरणमा सहमति जुटाउन गरेका प्रयास र पहलबारे केन्द्रित भएर मैत्रिन्युज डटकमका लागि मोहन बास्तोलाले गरेको कुराकानीः
मुलुक संघीयतामा गएको करीब ६ वर्षपछि प्रदेश एकको नाम ‘कोशी’ राख्न सफल हुनुभयो । नाम जुराउन निकै वर्ष लाग्यो नि है ?
जतिबेला हामी संविधान बनाउँदै थियौँ । त्यतिबेलै प्रदेशको नामाकरण गर्ने भन्नेमा थियौँ । त्यो संभव भएन । त्यो संभव नभएपछि प्रदेशको नाम प्रदेश सभाको दुई–तिहाई बहुमतले राख्ने भन्ने संवैधानिक व्यवस्था गरेका हौँ । प्रदेश सभाको पहिलो अधिवेशनबाटै यो प्रदेशको नामाकरण हुनुपर्ने हो । यद्यपि, विभिन्न कारणले त्यो भएन । नाममा दुई–तिहाई बहुमत चाहिने हुनाले नाममा दुई–तिहाइ जुट्न सकेन ।
यो पटकचाँहि कसरी संभव भयो त ?
यो पटक प्रदेश सभामा सहभागी सबै दलहरु यसै अधिवेशनबाट नामको टुंगो लगाउनुपर्छ भन्ने निष्कर्षमा पुगेका थियौँ । तर, नामको सन्दर्भमा हामीबिच एकमत हुन सकेको थिएन । कोही माननीयहरु पहिचानका आधारमा राख्नुपर्छ भन्नेमा हुनुहुन्थ्यो । कोही माननीयहरु जाति, भाषा, संस्कृति, सभ्यताको पहिचानका आधारमा राखौँ भन्नेमा हुनुहुन्थ्यो । यी सन्र्दभमा हामीले घनिभूत छलफल गरेका हौँ । तर, कुनै पनि नाममा दुई–तिहाई बहुमत जुट्ने आधार भेटिएन । त्यसो हुँदा विभिन्न जाति, भाषा, संस्कृति, सभ्यतासँग इतिहासदेखि नै कुनै न कुनै हिसावले जोडिएको मुलुकको सबै भन्दा ठूलो र पूर्वी नेपालका सुनकोसी, दुधकोसी, तामाकोसी, इन्द्रावती, अरुण, तमोर र लिखु मिलेर बनेको सप्तकोसी जुन हाम्रो पूर्वी नेपालको अमूल्य निधि पनि हो । त्यहि कोसीलाई आधार मानेर हामीले प्रदेश एकको नाम ‘कोशी प्रदेश’ मा साझा सहमति जुटाउने प्रयास गरेका हौँ । हामी अन्तिममा सफल भयौँ । यसमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि सहमतिमा ल्याएर दुई–तिहाइ भन्दा बढी मतका साथ साझा सहमति जुटाउन सफल भएका छौँ । यसमा हामीलाई खुशी लागेको छ ।
भनेपछि नाम बिहीन प्रदेशको आलोचनाबाट मुक्त हुनुभयो ?
हो, हामीले नाम बिहीनको आलोचनना खेप्नु भन्दा सहमति जुटेको नाममा नै नामाकरण गर्नुपर्छ भन्ने टुंगोमा पुगेर हामी नाम राख्न सफल भएका हौँ । त्यसमा हाम्रो माननीय मुख्यमन्त्री हिक्मत कार्कीले संयमतापूर्वक यसको संयोजन गर्नुभयो । प्रदेशमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग पनि उहाँले कुशलतापूर्वक संयोजन गर्नुभयो । त्योसँगै यहाँ तल प्रदेशमा पनि संयोजन गरेपछि यो सफलता प्राप्त भएको हो । अब हामी नाम बिनाको प्रदेशका नागरिक होइन अब ‘कोशी’ प्रदेशको नागरिक भएका छौँ ।
यस अघि तीन जना मुख्यमन्त्री बने । त्यसमा पनि एमालेकै दुई मुख्यमन्त्री बन्दा पनि नामाकरण हुन नसकेको प्रदेश एक अहिले एमालेका स्थायी कमिटी सदस्य समेत रहनु भएका हिक्मत कार्की मख्यमन्त्री भएका बेला नामाकरण गर्न तपाईँहरु सफल हुनुभयो । यो नाममा यस्तो विशाल सहमति जुटाउन त मेहनत पनि विशाल नै गर्नुभयो होला नि ?
बाहिर हेर्दा जति सहज ढंगले प्रदेश एकको नाम ‘कोशी’ राख्न सफल भएका छौँ । भित्रिरुपमा हेर्ने हो भने निकै ठूलो मेहनत गर्नुपरेको नजिकको साक्षी म पनि हुँ । कानुनी प्रक्रियासँग पनि सम्बन्धित भएको नाताले म यो सबै घटनासँग नजिकबाट संलग्न भएको छु । हामीेले सुरुदेखि नै यो विषयलाई निकै गोप्य ढंगले अघि बढाएका थियौँ । मुख्यमन्त्रीले हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीसँग के–के कुराकानी गर्नुभयो ? यहाँ प्रदेश सभामा रहेका दलहरुसँग कति चरणमा के–के कुराकानी भयो ? यी सबै कुरालाई हामीले गोप्य राखेका थियौँ ।
गोप्य राख्नुको कारणचाँहि के थियो ?
हामीले यी सबै कुरालाई सार्वजनिक गर्दै गएका थियौँ भने अनेकखाले दबाब समूह र विचार समूह खडा हुने थिए । ती समूहले माननीयहरुलाई पनि अनावश्यक रुपमा आफू अनुकुलको नाम राख्न दबाब दिने र माहोल नै विगार्ने अवस्था आउने संभावना बढी हुन्थ्यो । त्यसले सहमति जुटाउने भन्दा पनि सहमति विगार्ने संभावना बढी हुने थियो । हामीले यी सबै कुरालाई ध्यामा राखेर एमालेका एक–दुई जना, नेपाली कांग्रेसका एक–दुई जना, माओवादीका एक–दुई जना र राप्रपाका केन्द्रीय अध्यक्ष र तल दलको नेतासँग बाहेक छलफललाई बाहिर लगेनौँ ।
यतिसम्म कि मिडियाका साथीहरुले समेत यिनीहरुले बैठक, छलफल गरिरहेका छन् भन्ने जानकारी दिएनौँ । केही साथीहरुले केही आशंका गर्नुभएको थियो । उहाँहरुलाई पनि यो कुरा बाहिर नलगिदिनुहोला भनेर आग्रह गर्यौ । हामीले एकैचोटि १६ गते राती सभामुखको कार्यकक्षमा सिमित मात्रैको उपस्थितिमा नामको टुंगो लगाएका थियौँ ।
हामीले त्यसैदिन दलको बैठक बोलाएर माननीयहरुलाई ‘भोलि तपाईँहरु कतै पनि नजानु होला, महत्वपूर्ण बैठक छ । अहिले धेरै कुरा हामी भन्दैनौँ । भोलि सबै कुरा भन्छौँ, भन्यौँ । अन्य दलले पनि त्यसै गर्नुभयो । हामीले निकै सावधानी र सतर्कताका साथ परिणाम निस्कने ढंगले कामलाई पूर्णता दियौँ । हामीले १७ गते विहान मात्रै फाट्टफुट्टरुपमा विषयबस्तुलाई सार्वजनिक गर्यौ । यी सबै कारणले हामी सबै दलबिच सहमति जुटाएर नाम राख्न सफल भयौँ ।
तपाईँहरुको पार्टी अध्यक्ष, कांग्रेस सभापति, प्रधानमन्त्रीलगायतबाट तपाईँहरुले संकेत कस्तो पाउनु भएको थियो ?
हाम्रो पार्टी अध्यक्षले त पहिलादेखि नै जतिसक्दो छिटो कामलाई टुंगोमा पुर्याउनु भनेर भन्दै आउनु भएको थियो । हाम्रो मुख्यमन्त्रीले पार्टी अध्यक्षसँगै कांग्रेस सभापति र प्रधानमन्त्रीसँग पनि भेटघाट गर्नुभयो । कांग्रेस सभापतिले त बुहत सकारात्मक ढंगले ‘तपाईँहरु अघि बढ्नुहोस् । सबैले स्वीकार गर्ने र साझा नाम भनेको नै कोशी हो । त्यसैलाई आधार बनाएर अघि बढ्नुहोस्’ भन्नुभयो र उहाँले दलको नेतालाई टेलिफोन गरेर ‘तपाईँको मुख्यमन्त्री यहाँ आउनु भएको छ । प्रदेशको नाम कोशी राख्ने तयारी थाल्नु भएको छ । उहाँले कोशी नाममा सबैको सहमति जुट्ने संभावना छ भन्नुभएको छ । त्यसैमा सहमति गरेर अघि बढ्नुहोस्’ भन्नुभयो ।
कांग्रेस सभापतिबाट सकारात्मक जवाफ पाएपछि हाम्रो मुख्यमन्त्री फेरि प्रधानमन्त्री भेट्न बालुवाटार जानुभयो । उहाँले धेरै प्रष्ट कुरा त गर्नु भएन । तर, ‘मोटामोटीरुपमा अन्य प्रदेशको प्रक्रिया जस्तो छ त्यहि अनुसार अघि बढ्नुहोस’ भनेर संकेत गर्नुभयो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि प्रष्ट भाषामा ‘साझा नाम कोशी हो, हाम्रो त्यसमा सहमति हुन्छ’ भन्नुभयो । हामीले प्रदेशमा जुन खालको गृहकार्य गरिरहेका थियौँ । केन्द्रबाट पनि सकारात्मक सन्देश प्राप्त भएपछि थप सहज भयो ।
तपाईँहरुले यस्तो विशाल गृहकार्य गरेर सहमति जुटाएको नाम ‘कोशी’का बारेमा सभ्यता, संकृति र पहिचानलाई वेवास्था गरेर नाम आयो भनी आलोचना पनि भएको छ नि ?
आफ्नो दृष्टिकोणलाई आधार मानेर गरिने विरोध वा समर्थनलाई अन्यथा लिनुहुन्न । यो सामान्य प्रक्रिया हो । हामीले उहाँहरुलाई पनि भनेका थियौँ – ‘हामीले प्रदेशको नाम लिम्बुवान, खम्बुवान, किराँत, विराट, कोच मध्ये जे रायौँ भने पनि त्यो बाहेक अरु जातिलाई त चोट पुग्ने भयो । हामीले किराँत सभ्यता भनेर नाम राख्यौँ भने हजारौँ वर्षदेखि तराईमा बसोबास गरेर तराईमा सभ्यताको विकास गर्ने विराट सभ्यताको भावनामा चोट पुग्नेभयो ।
हामीले किराँत वा विराट राख्दा लिम्बुवान वा अर्कोलाई चोट पुग्नेभयो । तर, कोशी राख्दा न विराट, न किराँत, न लिम्बु, न कोच, न खम्बु सबैको प्रतिनिधित्व हुने भयो । कोशी भनेपछि हामी सबै सम्प्रदायका मानिसका लागि साझा हो । नदी र पानीसँग त हाम्रो संस्कृति, सभ्यता, संस्कृति, जनजीवन, धर्मकर्म सबै जोडिएका छन् । किराँत सभ्यताकै कुरा गर्ने हो भने सप्तकोशीमा जेटबोट चलाउनका दूधकोशी, अरुण र तमोरको त्रिवेणी तथा उदयपुर, धनकुटा र भोजपुरको सिमाना बराह क्षेत्रमा रहेको खुवालुङ (ढुंगो) फुटाउने कुरामा किराँत समुदायले ठूलो विरोध भयो । त्यसपछि त्यो ढुंगो नफुटाएको इतिहास पनि छ । यो भनेको किराँत समूदायको पनि कोशीसँग सांस्कृतिक सभ्यता जोडिएको रहेछ नि ? तराईका यादव, मण्डर, माझीहरुको त कोशीसँग जीवन जोडिएको छ ।
यस हिसावले हेर्दा हाम्रा जति पनि संस्कृति र सभ्यताको विकास भएको छ । त्यो कतै न कति पानी, नदी र कोशीसँग जोडिएको छ । त्यसैले कोशी नाममा कसैले पनि चित्त दुखाउनुपर्ने आवश्यक छैन । हामीले दुई–तिहाईको साझा र आधार विन्दु कोशी नै भएकाले हामीले कोशीमा सहमति गरेका हौँ । ८० प्रतिशत हिन्दु भएको देशमा धर्मनिरपेक्ष देश घोषणा गरेको पनि त हामीसँग इतिहास छ ।
तपाईँहरुले कोसी नाममा सहमति जुटाउनु भयो । अब पातलो ‘कोसी’ चलाउनु हुन्छ कि मोटो ‘कोशी’ चलाउनु हुन्छ ?
हामी मोटो ‘कोशी’ चलाउँछौँ । हामीले मोटो ‘कोशी’ प्रस्ताव गरेका छौँ । त्यसैले हामी मोटो ‘कोशी’ नै चलाउँछौँ । हामीले भाषाविज्ञहरुसँग सल्लाह गर्दा पनि मोटो ‘कोशी’ नै चलाउँदा उत्तम भन्नुभएकाले हामीले यहि निर्णय गरेका हौँ ।