आदिवासी जनजातीले पहिचानको मुद्दा छाड्नु हुँदैन : उपराष्ट्रपति

काठमाडौँ, २० फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले आदिवासी जनजातीले आफ्नो पहिचानको मुद्दा छाड्न नहुने बताउनुभएको छ । नेपाल मगर सङ्घले आज यहाँ आयोजना गरेको ‘भवन निर्माण तथा शालिक अनावरण’ कार्यक्रममा उहाँले आदिवासी जनजातिले आफ्नो पहिचानको मुद्दालाई छाडन नहुने पनि बताउनुभएको हो ।
उहाँले संविधानमा कतिपय विषय समावेश गरिए पनि कतिपय विषय आउन बाँकी रहेकाले त्यसलाई स्थापित गराउनका लागि आदिवासी जनजातिले एकतावद्ध भएर सरकारलाई खबरदारी गरिरहनुपर्ने बताउनुभयो । उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरुको पहिचान स्थापित गराउनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
क्षेत्रीहरु आदिवासी हुन् वा होइनन् भन्ने बारेमा गहिरो अध्ययनको खाँचो रहेको उहाँको भनाइ थियो । उहाँले आदिवासी जनजातिको एकता टुट्यो भने उनीहरुले उठाउँदै आएका पहिचानको मुद्दा पनि ओझेलमा पर्ने बताउनुभयो । नेपाल मगर सङ्घले आदिवासी जनजाति योद्धाको योगदानको स्मरण गर्दै अघि बढनुपर्ने उहाँको भनाइ थियो ।