टुँडिखेलमा चीर दहन (तस्बिर सहित)

काठमाडौं, २३ फागुन । काठमाडौंको बसन्तपुरमा ठड्याइएको चीर आज बिहान ढाली विधिवत् रुपमा होली पर्व समापन गरियो ।
गत फागुन कृष्ण अष्टमिका दिन ठड्याइएको चीर आज बिहान सबेरै ढालिएको थियो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले फागुन २२ गते राति २९ः४५ बजे चीर ढाल्ने साइत निकालेको थियो । उक्त साइत भनेको आज बिहान ५ः४५ बजे पर्न आएको हो ।
बसन्तपुरमा ढालिएको उक्त चीर बोकेर टुँडिखेल लगिएको थियो भने त्यहीं आगो लगाई दहन गरिएको थियो । चीर दहनको साइत आज बिहान ६ः११ बजे निकालिएको थियो ।
चीन दहन पश्चात यो पर्वको फागु पर्व विधिवत् रुपमा समापन भएको मानिन्छ ।
चीर दहन गरिएको गोल (कोइला) भने स्थानीय मारवाडी समुदायले लिएर गएको थियो । मारवाडी समुदायले चीर दहन गर्ने स्थानमा गुइँठाका साना साना चक्काहरू मिलाएर राखेका थिए । चीर सँगै उक्त गुइँठा पनि जलेका थिए भने मारवाडी समुदायले सो गुइँठा नै स्टिलका विभिन्न भाँडोहरूमा राखेर लिएर गएका थिए ।
काठमाडौं उपत्यकाको फागु हिजो विधिवत् रुपमा सम्पन्न भए पनि तराई क्षेत्रमा भने आज फागु मनाइरहेको छ ।