चाँगुमा विश्वकै सबैभन्दा सानो रथको जात्रा

भक्तपुर, २४ फागुन । होली पर्वका अवसरमा विभिन्न ठाउँमा रङ्ग दलेर पर्व मनाउने गरिन्छ भने चाँगुनारायणमा श्रीकृष्णको सानो रथ तानेर नौलो खाले जात्रा चलाइन्छ ।
होली पूर्णिमाका दिन शुरु गरिएको यो जात्रा हिजो सम्पन्न भएको छ ।

यो जात्रा ‘घःमाः जात्रा’ को नामले परिचित छ । स्थानीय नेपालभाषामा ‘घःमाः’ को शाब्दिक अर्थ पांग्रा हुन्छ ।

यो जात्रामा सानो रथमा पांग्रा राखी डोरीले तानेर नगर परिक्रमा गराइन्छ । यसमा तानिने रथको स्वरुप अन्य रथको जस्तै हुन्छ भने त्यसको आकार चाहिँ अत्यन्त सानो हुन्छ । यो रथको उचाइ केवल ७ फिटको मात्र हुन्छ भने चौडाइ पनि करिब ७ फिटकै हुन्छ ।

यसलाई विश्वकै सम्भवतः सबैभन्दा सानो रथ मानिन्छ ।

रथमा लामो काठ (त्वनासिँ) राखिएको हुन्छ भने त्यसमा सुन्दर भैरवको आकृतिका साथै दुई मयुरको बुट्टा पनि कुँदिएको हुन्छ । उक्त काठको माथि चार वटा काठका हात्ती पनि राखिएको हुन्छ ।

होली पूर्णिमाका दिन चाँगु नारायण मन्दिर परिसरमै राखेर रथमा श्रीकृष्णको मूर्तिलाई विराजमान गराइन्छ । त्यसपछि रथलाई समेत मन्दिरको खुड्किलोबाट झार्दै तल ल्याइन्छ ।

तल ल्याई मन्दिर क्षेत्रको वरिपरि रथलाई तानेर परिक्रमा गराइन्छ । सानो रथ भएकोले रथ तान्न साना बालबालिकाहरू नै बढी सहभागी भएका हुन्छन् । पूर्णिमाका दिन रथ तानेर जात्रा गरिन्छ भने भोलिपल्ट जात्रा सकाएर रथलाई पुनः माथि लगी समापन गरिन्छ ।

यस रथमा भगवान बंशगोपालका साथै उहाँका दुई शक्तिहरु बिराजमान गराइन्छ । यो जात्रालाई बंशगोपाल जात्रा पनि भन्ने गरिन्छ । सम्भवतः यो जात्रा गोपालवंशको पालादेखि नै शुरु भएको हुनुपर्छ भन्ने अनुमान गरिएको छ ।

चाँगु क्षेत्रका स्थानीय भडेलहरुलाई पनि गोपालबंशी नै भन्ने गरिन्छ । यसरी गोपालबंशका देवता हुनाले यस देवतालाई बंशगोपाल भनिएको हो भन्ने पनि भनाइ रहेको छ ।
यो रथमा राखिने देवता मूलतः श्रीकृष्ण हुन् । यो मूर्ति अरु बेला चाँगु नारायणको मन्दिर भित्रै राखिएको हुन्छ । होली पूर्णिमाका बेला दुई मात्रै बाहिर राखिने यो मूर्तिको आफ्नै मन्दिर भने छैन ।

तस्बिरहरुः सन्देश मुनिकार