नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु

काठमाडाैं, २५ फागुन । नयाँ राष्ट्रपति चयनका लागि संघीय संसद भवनको ल्होत्से हलमा मतदान सुरु भएको छ ।
मतदान विहान १० बजेबाट मतदान सुरु भएको हाे । मतदान प्रकृयामा सरिक नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मत खसालेका छन् ।
निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिएका छन् ।
संघीय सांसदहरुका लागि रातो र प्रदेश सभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र बनाइएको छ । मतपत्रमा उम्मेदवारहरुको नामसहित फोटो पनि राखिएको छ ।
राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छ । सङ्घीय सांसदको मत भार ७९ र प्रदेशसभा सदस्यको मत भार ४८ छ ।
भण्डारीको लगातार दुई कार्यकाल यही फागुन २८ गते सकिने भएकाले नयाँ राष्ट्रपति चुन्न आज मतदान सुरु भएको हो ।
राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।