आफ्नै निवास फर्कने तयारीमा राष्ट्रपति भण्डारीः अब भविष्यको भूमिका के होला ?

काठमाडौं, २६ फागुन । नयाँ राष्ट्रपतिको निर्वाचन लगत्तै वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवास छोड्ने तयारी गर्नुभएको छ ।
फागुन २९ गते नव निर्वाचित राष्ट्रपतिको शपथ ग्रहण सँगै निवर्तमान बन्नुहुने राष्ट्रपति भण्डारीले शितल निवास छोड्नुपर्ने हुन्छ । उहाँलाई उक्त दिन कारगेट सहित सम्मानपूर्वक उहाँको निवाससम्म पुर्याइने छ ।
तर राष्ट्रपति भण्डारी अब सर्नुहुने आफ्नो निवास भने अहिलेसम्म पूर्ण रुपमा तयार भइसकेको छैन । शितल निवास छोडेर उहाँले बुढानिलकण्ठस्थित आफ्नै निवासमा सर्ने योजना बनाउनुभएको छ । त्यसको लागि बुढानिलकण्ठस्थित घरको मर्मत कार्य शुरु गरिएको छ । तर मर्मत कार्य अझै जारी रहेको कारणले उहाँ शितल निवासबाट फिर्ता हुँदा पनि त्यो सकिने सम्भावना नरहेको बुझिएको छ ।
राष्ट्रपति भण्डारी अब सर्न लाग्नुभएको घर उहाँले किन्नुभएको सात वर्ष भइसक्दा पनि उहाँ सो घरमा भने एक पटक पनि बस्न जानुभएको छैन ।
२०७२ सालको भूकम्प अघि उहाँले सो घर किन्नुभएको थियो । तर भूकम्पले गर्दा बस्न जान मिलेन । भूकम्प पछि घरको मर्मत हुँदै थियो, उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभयो । त्यसपछि झन् घरमा जानै परेन ।
अहिले राष्ट्रपतिको कार्यकाल सकिए पछि सरकारबाट आवास सुविधा नलिइकन उहाँ आफ्नै निवासमा सर्न लाग्नुभएको हो । पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई सरकारले नै आवासको व्यवस्था गरिदिएको हो । यसका कारण डा. यादव मात्र होइन, गणतान्त्रिक व्यवस्थामाथि नै मानिसहरूले प्रश्न उठाउन थालेका थिए ।
भविष्यको योजना
राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासबाट फर्कनु भएपछि भविष्यमा कस्तो भूमिका निर्वाह गर्नुहुन्छ होला भन्ने विषयमा पनि आम चासो देखिएको छ । राष्ट्रपतिको कार्यकाल सकिएपछि आफू भूमिकामा सक्रिय हुने भन्ने विषयमा उहाँले स्पष्ट योजना बनाउनुभएको छैन ।
केहीले उहाँ पुनः एमालेमै फर्की सक्रिय राजनीतिमा आउने अपेक्षा गरेका छन् । पूर्व राष्ट्रपति डा. रामवरण यादव भने शितल निवासबाट फर्केपछि सामाजिक क्रियाकलापमा सीमित हुनुभएको थियो ।
तर राष्ट्रपति भण्डारीले भने डा. यादव जस्तो सामाजिक भूमिकामा मात्र आफूलाई सीमित नरहने संकेत दिनुभएको बुझिएको छ ।