प्रचण्ड विरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी

काठमाडौं, २६ फागुन । न्यायाधीस ईश्वर खतिवडाको एकल इजलासले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको मुद्दामा अन्तरिम आदेश दिएन । सो मुद्धामा सर्वोच्चले प्रचण्डमाथि कारण देखाउ आदेश जारी गरेको छ । प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा भएको हिंसाका घटनामध्ये ५ हजार व्यक्तिको हत्याको जिम्मेवारी आफूले लिने सार्वजनिकरुपमा नै बताएकाले उहाँलाई तत्काल पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने माग गर्दै रिट निवेदन दर्ता भएको थियो ।

माग बमोजिमको आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र प्रधानमन्त्री स्वयम्ले वा कानून बमोजिमको प्रतिनिधिमार्फत र अन्य प्रतिवादीहरुले महान्यायाधीवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न आदेशमा भनिएको छ । संक्रमणकालीन न्याय प्रक्रिया लामो समयसम्म टुंगो नलागेको विषयमा प्रस्तुत रिट निवेदनबारे के कसो भएको हो, निवेदकको माग बमोजिम आदेश किन जारी गर्नु नपर्ने हो भन्ने लिखित जवाफ माग गरिएको छ ।

‘यस प्रकारका कानुनी प्रश्नहरुको निरुपण पूर्ण सुनुवाइको अवस्थामा नै गर्नु मनासिब देखिन्छ । अहिले माग बमोजिम अन्तरिम आदेश जारी हुनेसम्मको पर्याप्त कारण नदेखिएको हुँदा निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्न परेन,’ आदेशमा भनिएको छ ।

द्वन्द्वकालीन घटनाका सम्बन्धमा दाहालको अभिव्यक्तिलाई लिएर उहाँविरुद्ध मंगलबार अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले दायर गरेका छुट्टाछुट्टै रिट दायर गरेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रिपरिषद्‌को कार्यालय, गृह, रक्षा र कानुन मन्त्रालय लगायतलाई विपक्षी बनाइएको रिटमा पुष्पकमल दाहाललाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउने अन्तरिम आदेशको माग गरिएको थियो ।