जलवायू न्यायका लागि खुम्बुक्षेत्रमा रणनीति योजना

सोलुखुम्बु, २७ फागुन । सोलुखुम्बु जिल्ला खुम्बुपासाङल्हमु गाउँपालिकाले खुम्बु क्षेत्रमा जलवायू न्यायका लागि रणनीति ढंगले काम गर्ने भएको छ । जलवायू न्यायका लागि जनजागरण ल्याउने, अनुकुलनका कार्यक्रमहरुका लागि राष्ट्रिय, अन्तराष्ट्रिय संघ संस्थाहरुको ध्यानाकर्षण गराउने, कानुनी पूर्वाधार तय गर्नेलगायत कामलाई गाउँपालिकाले प्राथमिकतामा राखेको छ ।

गाउँपालिका अध्यक्ष मिङमार छिरि शेर्पाले हिमालमा हिउँ कम पर्न थालेको, खानेपानी संकट देखिएको, बालीनालीमा समस्या भएको भन्दै अनुकुलनका कार्यक्रम जरुरी भएको बताउनुभयो । उहाँले स्थानीयमा देखिएको समस्या हल गर्न गाउँपालिका तहबाट विभिन्न काम हुँदै आएको जानकारी गराउँदै साझेदारी संस्थासँग मिलेर परिणामूलक काम गर्ने समेत जानकारी दिनुभयो ।

यसका लागि गाउँपालिकाले जलवायू न्यायमा काम गर्दै आएको साथसाथैसँग ५ वर्षका लागि साझेदारी समेत गरेको छ । खुम्जुङमा आयोजित एक कार्यक्रममा गाउँपालिकाले साझेदारी संस्थासँग भएको समझदारीपत्रमा हस्ताक्षर गरी आदानप्रदान समेत गरेको छ । सोलुखुम्बुको उच्च हिमाली क्षेत्र खुम्बुमा पदयात्रा गर्दै पुगेको प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर नेतृत्वको टोलीबीच गाउँपालिकाले साझेदारी गरेको हो ।

सम्झौतापत्रमा गाउँपालकाका तर्फबाट उपाध्यक्ष टासिल्हमु शेर्पा र साथसाथै संस्थाका अध्यक्ष प्रजिता कार्कीले हस्ताक्षर गरेका छन् । जलवायू परिवर्तनले स्थानीयमा पुर्याएको असर विषयमा अध्ययन, अनुसन्धान र विकासका काममा सहकार्य हुने सम्झौतापत्रमा उल्लेख छ ।

सोलुको उच्च हिमाली भेग खुम्जुङमा आयोजित उक्त कार्यक्रममा बोल्दै उपसभामुख रानामगरले गाउँपालिकाले स्थानीय जनतालाई जलवायू न्यायका लागि रणनीतिक काम थालेकोमा प्रशंसा गर्दै त्यसको कार्यान्वयनका लागि संसदबाट खेल्नुपर्ने भूमिकाका लागि आफू सदैव तयार रहेको बताउनुभयो ।

जलवायू परिवर्तनले सर्वोच्च शिखर सगरमाथालगायत हिमालमा हिउँको मात्रा क्रमश कम हुँदै गएको, त्यसले पर्यटन र कृषि क्षेत्रमा असर पुर्याएपछि गाउँपालिकाले रणनीतिक विकासको कामलाई अघि बढाएको हो ।

सोलुखुम्बुबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद मानवीर राईले जलवायू परिवर्तनले यस क्षेत्रमा विविध समस्या देखिएको र त्यसले स्थानीयबासीलाई प्रत्यक्ष प्रभाव पारेको भन्दै जलवायू न्यायका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो । यो खुम्बुवासीको मात्र दुख होइन, यसले देशलाई नै असर पार्ने भएकाले विकासका लागि साझेदारी हुनुुपर्छ, सांसद राईले भन्नुभयो ।

गाउँपालिका उपाध्यक्ष शेर्पाले स्थानीय सरकारले वातावरण संरक्षण र पर्यावरणको पक्षमा उल्लेख्य काम गरेको भन्दै सगरमाथा विश्वकै सम्पति रहेकाले यस क्षेत्रको सरंक्षणमा सबैको ध्यान जानु पर्ने बताउनु भयो ।

जलवायू परिवर्तनले स्थानीय जनजीवन खासगरी महिलामा पारेको असरमा अध्ययन गर्दै आएको संस्था साथसाथैकी अध्यक्ष प्रजिता कार्कीले खुम्बुक्षेत्रको समस्यालाई गहन रुपमा अध्ययन गरी संघीय सरकार र अन्तर्राष्टियय मञ्चहरुमा यसबारे ध्यानाकर्षण गरिने दृढता राख्नुभयो । त्यस क्षेत्रमा जलवायू परिवर्तनका असरलाई स्थलगत बुझ्न र प्रभावित वासिन्दाका समस्या केलाउन साथसाथैले नारी दिवसको सन्दर्भ पारेर लुक्लादेखि खुम्जुङसम्म ६ दिनको पदयात्रा गरेको हो ।

पदयात्रामा उपसभामुख रानामगर, निवर्तमान परराष्ट मन्त्री एवं राष्टिय सभा सदस्या डा।विमला राई पौडेल, कृषि मन्त्रालयका सहसचिव डा।सवनम शिवाकोटी, विज्ञहरु डा।माधव कार्की, डा।यमुना घले, सरु श्रेष्ठ जोशी, दिपिका दाससहित १६ जनाले पदयात्रा गरेका हुन् ।

समझदारीपत्रमा खुम्बु क्षेत्रमा जलवायू परिवर्तनले पारेका असर विषयमा अध्ययन, अनुसन्धान र विकासका कामका साथै जलवायू परिवर्तनले पु¥याएको हानी नोक्सानी, जलवायू न्याय, शिक्षा, स्वास्थ्य, स्थानीय पर्यटन, महिला, बालबालिकासहित जनजीवनमा पारेको असरबारे सहकार्य हुने उल्लेख छ । जलवायू न्यायका लागि जनजागरण ल्याउने, प्रचारप्रसार गर्ने अनुकुलनका कार्यक्रमहरुका लागि राष्ट्रिय, अन्तराष्ट्रिय संघ संस्थाहरुको ध्यानाकर्षण गराउने, कानुनी पूर्वाधार तय गर्नेलगायत काममा सहकार्य हुने उल्लेख छ ।

यसअघि नै साथसाथै संस्थाले सिन्धुपाल्चोकको विकट हेलम्बु गाउँपालिकासँग सहकार्य गरी जलवायू न्यायका विभिन्न काम गर्दै आएको छ । केही महिना अघि इजिप्टमा सम्पन्न भएको जलवायू परिवर्तन सम्बन्धी राष्ट संघीय महासम्मेलनमा साथसाथै संस्थाले नेपालमा हेलम्बुसहितका क्षेत्रमा भएका विपत्तिबारे विशेष प्रस्तुती राखेको थियो ।