नालामा श्री नाला करुणामयको जात्रा सम्पन्न

काठमाडौं, २८ फागुन । नालामा श्री नाला करुणामयको जात्रा सम्पन्न भएको छ । होली पर्व लगत्तै नालामा करुणामयको जात्रा सम्पन्न गर्ने चलन रहँदै आएको छ ।

काठमाडौं उपत्यकामा चार प्रमुख करुणामयहरू विराजमान हुनुहुन्छ । ती मध्ये एक नाला करुणामय हुनुहुन्छ । नाला करुणामयलाई ‘श्रृष्टिकान्ता लोकेश्वर’ पनि भनिन्छ ।
बाँकी अन्य तीन लोकेश्वरहरूमा ललितपुरको रातो मत्स्येन्द्रनाथ (बुंगद्यः), काठमाडौंको सेतो मत्स्येन्द्रनाथ (जनबहाःद्यः) र कीर्तिपुरको चोभाः करुणामय हुनुहुन्छ ।

नाला करुणामयको जात्रा गर्नु अघि देवतालाई मन्दिरबाट बाहिर ल्याही सोही मन्दिरको सामुन्ने बनाइएको पोखरीमा निर्मित न्हवं दबूमा राखी करुणामयलाई न्हवं (महास्नान) गराइन्छ ।

यो महास्नान पछि उहाँलाई घाममा राखी ‘लंपुं छाये’ कर्म गरिन्छ । देवताको मूर्तिमा पुरानो रंग कोतारेर निकाल्ने र त्यसमाथि नयाँ रंगरोगन गर्ने कार्यलाई ‘लंपुं छायेगु’ भनिन्छ । ‘लंपुं छायेगु’ कार्यपछि करुणामयको मूर्ति नयाँ र सफा देखिन्छ ।

त्यसपछि होली पूर्णिमाको भोलिपल्ट करुणामयको जात्रा चलाइन्छ ।

जात्रामा श्री करुणामयको मूर्तिलाई खटमा राखी बाजागाजा सहित मन्दिर वरिपरिको क्षेत्र परिक्रमा गराइन्छ ।

नाला करुणामय जात्राको विशेषता के छ भने यहाँ जात्रा सञ्चालन गर्न कुनै छुट्टै विशेष गुठीको व्यवस्था गरिएको छैन । हरेक वर्ष श्रद्धालु भक्तजनहरूले नै जात्रा सञ्चालनको पालो लिने गर्दछन् । पालो परेका श्रद्धालुले उक्त वर्षको जात्रा चलाउन आवश्यक सम्पूर्ण खर्च व्यहोर्ने गर्दछ ।