नवनिर्वाचित राष्ट्रपति पाैडेल आज शितलनिवास सर्ने

काठमाडाैं, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पाैडेल आज साेमबार शितलनिवास सर्दैछन्।
राष्ट्रपतिको कार्यालयले राष्ट्रपति पाैडेलकाे शपथका लागि दिउँसो १ बजे शीतलनिवासमा विशेष समारोहको आयोजना गर्दैछ।
शपथ ग्रहण र बिदाइ समारोहमा एक हजार पाँच सयभन्दा बढी पाहुनाहरुलाई निमन्त्रणा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने जनाइएको छ।
शपथपछि निवर्तमान राष्ट्रपति भण्डारीले पौडेललाई राष्ट्रपति पदको आसन सुम्पिने र बधाई दिनेछिन् । नवनिर्वाचित राष्ट्रपति पाैडेललाई विशिष्ट व्यक्तित्व र पाहुनाहरुले पनि बधाई दिनेछन् ।
शपथपश्चात् उनी शितलनिवासमा सर्ने राष्ट्रपति कार्यालयले जनाएको छ।
पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन्।