एउटै चैत्यबाट दुई सातामा दुई मूर्ति चोरी

काठमाडौं, २९ फागुन । ललितपुरको चापागाँउस्थित चीभाःलाछिको पुरानो चैत्यबाट फेरि बुद्धको मूर्ति चोरी भएको छ । सोही चैत्यमा रहेको एउटा बुद्ध मूर्ति गएको दुई साता अघि मात्रै चोरी भएको थियो ।
अशोक चैत्य पनि भनिने उक्त चैत्य आठौँ शताब्दीमा निर्माण भएको मानिन्छ । उक्त ऐतिहासिक पुरातात्विक चैत्यबाट दुई साताभित्र दुई वटा बुद्ध मूर्ति चोरी भएको हो ।
उक्त चैत्य चापागाउँको पुरानो बसपार्कसँगै मोती पुस्तकालयको आडमै रहेको छ । सो ठाउँमा उक्त चैत्य रहेकै कारण त्यो ठाउँको स्थानीय नाउँ नै ‘चीभाःलाछि’ रहन गएको थियो ।
उक्त चैत्यमा चार दिशा फर्केका चार वटै बुद्ध मूर्तिहरु रहेका थिए । ती चार बुद्ध मूर्ति मध्ये एउटा धेरै अघि नै चोरी भइसकेको छ ।
गत फागुन १७ दोस्रो मूर्ति चोरी भएको थियो भने हिजो तेस्रो मूर्ति चोरी भएको छ । अब चैत्यमा एउटा मात्रै मूर्ति बाँकी रहेको छ ।
चैत्यमा बुद्धको मूर्ति भएको सानो मन्दिर भत्काएर त्यहाँ राखिएको मूर्ति चोरी भएको हो । यो चैत्य इस्वी संवत् ८२७ मा स्थापना गरिएको शिलालेखमा उल्लेख छ ।
दुई साता भित्र एउटै चैत्यबाट दुई वटा मूर्ति चोरी हुँदा पनि प्रहरी प्रशासनले केही गर्न नसकेकोमा प्रहरीको आलोचना भइरहेको छ ।