योजनावद्ध विकास अहिलेको आवश्यकताः उपमहासचिव गुरुङ

पोखरा, २९ फागुन । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुव्वा गुरुङले योजनाबद्ध विकास अहिलेको आवश्यकता भएको बताउनु भएको छ । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको पोखरामा सम्पन्न तेस्रो बैठकलाई सम्बोधन गर्दै गुरुङले यस्तो बताउनु भएको हो ।

उहाँले देशको चौतर्फी विकासका लागि आवधिक कार्ययोजना आवश्यक हुने पनि बताउनुभयो । ‘कार्यायोजना बिनाको कुनै पनि काम सफल हुँदैन,’ उहाँले भन्नुभयो, ‘हरेक क्षेत्रमा यसको महत्व हुन्छ ।’ उहाँले संगठनलाई चुस्त राख्नुपर्नेमा पनि जोड दिए । एमालेका जनसंगठनहरुमा रहेका कमजोरीहरुको खोजी र निराकण गर्नुपर्ने उनको धारणा थियो ।
कम्युनिष्ट पार्टीहरुमा सिद्धान्त प्रधान हुने भएकाले संसाररभरका कम्युनिष्टहरुले विधिमा बसेर काम गर्ने गरेको उहाँको भनाई थियो । ‘कहिलेकाहिँ पार्टीमा सिद्धान्त र विधिभन्दा व्यक्तिप्रधान भएको देखिन्छ, तर विशिष्ट परिस्थितिमा मात्रै त्यस्तो देखिएको हो’, गुरुङले भन्नुभयो, ‘सिद्धान्त र विधिलाई व्यवहारमा लागू गर्नसक्ने, विशिष्ट परिस्थितिको सामना गर्नसक्ने व्यक्ति नै नेता हो ।’

बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटीका उपसचिव तथा प्रचार विभाग प्रमुख रस्मी आचार्यले पत्रकारिता क्षेत्र प्रविधि मैत्री हुनुपर्नेमा जोड दिए । आचार्यले सूचना र सञ्चारको युग भएकाले दिनदिनै परिवर्तन हुने प्रविधिलाई युवा पत्रकारहरुले आत्मसाथ गर्नसक्नुपर्ने बताउनुभयो ।

बैठकमा नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा प्रेस चौतारी इञ्चार्ज रामकृष्ण ज्ञवाली, केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, महासचिव हिरामान लामा, सचिव शुष्मा पौडेल र कोषाध्यक्ष इन्द्र आचार्यलेलगायतले बोल्नुभएको थियो । बैठकले संगठन सुदृढीकरणसहित प्रदेश अध्यक्ष इन्द्रप्रसाद पौडेलले राखेका २१ प्रस्ताव पारित गरेको छ । बैठकबाट विभिन्न विभाग गठन गरिएको महासचिव आश गुरुङले जानकारी दिनुभयो ।