प्रचण्ड सरकारले रासायनिक मलमा गरेकाे मूल्य वृद्धि विरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

काठमाडौं, १ चैत्र । प्रचण्ड सरकारले रासायनिक मलमा गरेकाे मूल्य वृद्धि विरुद्ध काठमाडाैंकाे माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।
राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले बुधबार राजधानीको माइतीघर मण्डलामा मूल्य बृद्धि विरुद्ध प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीहरूले जनता मारा काम गरेको भन्दै नेपाली जनताको जीवन यापनको मुख्य आधार कृषि नै भएकोले तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयंले सम्हालेको कृषि तथा पशुपन्छी मन्त्रालयले गत २७ फागुनमा मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियाे ।
किसानले मलमा अनुदान कटौती भएपछि किलोमै ११ रुपैयाँसम्म महंगो तिर्नुपर्नेछ । किसानले मल किन्दा युरिया मलकाे बाेरामा रू ५५०, पोटास मलकाे बाेरामा रू ४५० र डिएपी मलकाे बाेरामा ३५० रुपैयाँ महँगो तिर्नुपर्नेछ ।