झापामा वन डढेलो नियन्त्रण सप्ताह सुरु

झापा, १ चैत्र । ‘वनमा डढेलो नियन्त्रण, जैविक विविधताको संरक्षण’ भन्ने मूल नारासहित आजबाट वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको छ ।
डिभिजन वन कार्यालय झापाको आयोजना र मेची सव डिभिजन वन कार्यालय धाइजनको संयोजनमा वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको हो ।
अभियानको उद्घाटन डिभिजन वन कार्यालय झापाका निमित्त कार्यालय प्रमुख जीवनप्रसाद पाठकले गर्नुभयो । डढेलो व्यवस्थापनलाई प्रोत्साहन गरौंँ, वन्यजन्तुको प्राकृतिक वासस्थानको संरक्षण गरौँ, वन क्षेत्रमा आगो लगाउनु दण्डनीय अपराध हो जस्ता प्ले कार्डसहित मेचीनगरस्थित प्रगति सामुदायिक बनबाट सुरु गरिएको सचेतना र्याली चारआली बजार परिक्रमा गर्दै सभामा परिणत भएको थियो ।
सभामा डिभिजन वन कार्यालयका प्रमुख पाठक, मेची सव डिभिजन वन कार्यालय धाइजनका प्रमुख डिल्ली खरेल, चारआली जेसीजका अध्यक्ष सङ्गीत शिवाकोटी, लायन्सका अध्यक्ष मोहन अधिकारी लगायतले बन क्षेत्रमा हुने डढेलोले पुर्याउने क्षतिका विषयमा बोल्नु भएको थियो ।
साताव्यापी सञ्चालन हुने अभियानको दोस्रो दिन कनकाई सव डिभिजन वन कार्यालय सुरुङ्गामा नियन्त्रित डढेलो लगाउने अभियान सञ्चालन गरिने त्यस्तै ३ गते जलथलस्थित चौकी विरान सामुदायिक वनमा ‘वन क्षेत्रमा हुने ज्वलनशील पदार्थबाट कम्पोष्ट मल बनाउने अभ्यास’ सञ्चालन गरिने छ ।
त्यस्तै सुरक्षा निकायबीच वन डढेलो नियन्त्रणम तथा व्यवस्थापनसम्बन्धी अन्तरक्रिया गरिने, डढेलो नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी तालिम र चैत ७ मा अभियानको समापन गरिने डिभिजन वन कार्यालय झापाकी अधिकृत अञ्जना पुरीले जानकारी दिनुभयो ।