ताहाचलमा स्ववियुको बिरासत जोगाउने अभियानमा अनेरास्ववियु (भिडियो रिपोर्ट)

काठमाडौं, १ चैत । त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा यहि चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । यो निर्वाचनमा नेकपा (एमाले) निकटको विद्यार्थी संगठन अनेरास्ववियु, नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ, नेकपा समाजवादी निकटको अनेरास्ववियू, माओवादी निकटको अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठन अहिले मैदानमा छन् ।

विसं २०७३ मा उपत्यकाका नौ र उपत्यका बाहिर १७ क्याम्पसमा निर्वाचन भएको थियो । त्यसपछि कुनै पनि क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । लामो समयपछि हुन लागेको स्ववियु निर्वाचनका कारण अहिले सबै विद्यार्थी संगठन एकै पटक चुनावी माहोलमा होमिएपछि त्यसको सरगर्मी पनि ह्वात्तै बढेको छ । स्ववियु निर्वाचनको इतिहासमा कहिल्यै दोस्रो नभएको अनेरास्ववियु यो पटक पनि इतिहासको विरासत जोगाउने प्रयासमा लागेको छ । अहिले मुलुकको राजनीतिकको धेर–थोर तरंग विद्यार्थी संगठनमा पनि देखिने भएकाले धेरै क्याम्पसहरुमा राष्ट्रिय राजनीतिको गठबन्धन जस्तै गठबन्धन बनाएर स्ववियु निर्वाचनमा होमिएको अवस्था छ ।

धेरै क्याम्पसहरुमा नेविसंघ, अखिल क्रान्तिकारीलगायतको गठबन्धन बनेको छ भने अधिकांश क्याम्पसमा अनेरास्ववियु एक्लै चुनावी मैदानमा छ । अहिलेसम्म पचास हाराहारी क्याम्पसमा सर्वसम्मत नेतृत्व छनोट भएको छ । जसमा सबै भन्दा बढी अर्थात् ३० बढी क्याम्पसको स्ववियु नेतृत्व अनेरास्ववियुले लिएको छ । मुलुकभरी नै निर्वाचनको माहोल तातिरहेका बेला उपत्यकाको चुनावी महोल झन् व्यापक बनेको छ । अझ आंगिक क्याम्पसको माहोल थप सशक्त बनेको छ । धेरै क्याम्पसहरुमा पार्टीका नेताहरु नै सक्रिय भएर लागेका छन् ।

उपत्यकाका आंगिक क्याम्पसहरु मध्ये महेन्द्ररत्न क्याम्पस ताहाचल शिक्षाशास्त्रको पठन–पाठन हुने सबै भन्दा ठूलो र पुरानो क्याम्पस हो । मुलुकभरी नै २०६५ देखि स्ववियु निर्वाचन नियमित हुन सकेको छैन । ताहाचलमा पनि ०६५ देखि निर्वाचन भएको छैन । अहिले यो क्याम्पसको पनि चुनावी माहोल व्यापक बनेको छ । यो क्याम्पसमा अनेरास्ववियु एक्लै चुनावी मैदानमा छ ।

नेविसंघ र नेकपा समाजवादी निकटको अनेरास्ववियु प्यानलसहित चुनावी मैदानमा छ । अखिल क्रान्तिकारी पनि एक्लै चुनावी मैदानमा छ । हजारौँ शिक्षक उत्पादन गरेको यो क्याम्पसको स्ववियु निर्वाचनको इतिहास हेर्ने हो भने २०३६ सालदेखि अनेरास्ववियुले नै जित्दै आएको छ । एक निर्वाचनमा मात्रै यो क्याम्पसमा नेविसंघले जितेको इतिहास छ । त्यसैले यो पटक पनि अनेरास्ववियु आफ्नो गौरवपूर्ण इतिहास जोगाइराख्ने रणनीतिमा छ । यो क्याम्पस शिक्षक उत्पादन गर्ने मात्रै होइन नेता उत्पादन गर्ने क्याम्पस समेत भएकाले यो क्याम्पसको स्ववियुको नेतृत्व गर्ने कुरालाई गौरवको रुपमा हेरिन्छ । त्यसकारण पनि यहाँको चुनावी माहोल अन्य क्याम्पसको भन्दा अर्थपूर्ण देखिन्छ ।

यहि क्याम्पसबाट स्ववियु सभापति बन्नुभएका योगेश भट्टराई पूर्वमन्त्री हुनुहुन्छ भने एमालेको सचिव हुनुहुन्छ । त्यसैगरी यहि क्याम्पसबाट सभापति बन्नुभएका विशाल भट्टराई, यज्ञराज सुनुवार सांसद भैसक्नु भएको छ ।

उँका दुरदराजमा शिक्षाको दियो बाल्ने हजारौँ शिक्षक उत्पादन गरेको यो क्याम्पसमा यो पटक अनेरास्ववियुले ईश्वर कुमार थापालाई अध्यक्षको उम्मेदवार बनाएको छ । सचिवमा कौशल पोखरेल र कोषाध्यक्षमा तिला डुम्रे (कल्पना)लाई उठाएको छ । सदस्यहरुमा महेन्द्र कुमार खत्री,दिवाकर भण्डारी, किसान मगर, प्रकाश भट्ट,रिना श्रेष्ठ, खिलानाथ पण्डित, सुस्मिता परियार उम्मेदवार छन् ।

यहि क्याम्पसका पूर्व स्ववियु सदस्य पंकज भण्डारी अजय किल्लाको रुपमा रहेको अनेरास्ववियुको जित निश्चित भएको बताउनुहुन्छ । पहिला–पहिला १०–१२ हजार विद्यार्थी अध्ययनरत यो क्याम्पसमा अहिले दुई हजार हाराराहारी विद्यार्थी छन् । अनेरास्वयिुको तर्फबाट अध्यक्षका उम्मेदवार थापा पनि निर्वाचन जित्नेमा आफू ढुक्क रहेको बताउनुहुन्छ ।

अन्य विद्यार्थी संगठनको तुलनामा आफ्नो एजेण्डा बलियो भएको भन्दै थापाले निर्वाचन जित्ने र सुधारको अभियान चलाउने बताउनुभयो । संयुक्त प्यानलबाट पूर्णबहादुर जेठारा अध्यक्षको उम्मेदवार हुनुहुन्छ । सचिवमा पुष्पराज बटाला हुनुहुन्छ । सदस्यमा सरस्वती कार्की, अलिन गोपाली, सुनिता खनाल, सन्दिप पाण्डे, नवराज मिश्र, अपेक्षा सुवेदी, विनोद रिजाल हुनुहुन्छ ।