स्वयम्भू महाचैत्यको गजुरको टुप्पो झर्यो

काठमाडौं, २ चैत । गत मंगलवार तीव्र गतिमा आएको हावाहुरीले स्वयम्भू महाचैत्यको सबैभन्दा माथि रहेको गजुरको टुप्पो झरेको छ ।

बुधवार बिहानै भक्तजनहरूले गजुर हल्का ढल्केको देखेका थिए । पछि हेर्दै जाँदा गजुरको सबैभन्दा माथि रहने टुप्पोको अंश पनि गायब भएको थाहा भयो ।

त्यसपछि हराएको गजुरको टुप्पो कहाँ खसेछ भनी खोजी कार्य गरिएको थियो । तर खोज्दा पनि टुप्पो नभेटिएपछि भक्तजनहरू चिन्तित भएका थिए ।

यसै क्रममा ड्रोन क्यामेराबाट माथिबाट गजुरको खोजी गर्दा उक्त टुप्पोको अंश गजुरकै तल्लो भागमा अडिएर रहेको पत्ता लागेको थियो ।

अहिले सो टुप्पो त्यही ठाउँमा रहेको छ, निकालिएको छैन ।

कामपा १५ वडाका वडा अध्यक्ष ईश्वरमान डंगोलले विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा भएकोले अब वडा कार्यालय, स्थानीय प्रशासन, पुरातत्व विभाग, स्वयम्भू व्यवस्थापन महासमिति समेत सबैको रोहवरमा मात्रै उक्त टुप्पो पुनः जडान गरिने बताउनुभयो ।