मन्दिर दर्शनको लागि पनि पार्किङ गर्न दिइएन, पार्किङ पीडितहरूको संघर्ष समिति

काठमाडौं, ६ चैत । काठमाडौंमा जाम हटाउने नाममा सबैजसो सार्वजनिक स्थानहरूमा पहिले व्यवस्था गरिएका पार्किङस्थलहरू बिना विकल्प हटाउन थालेपछि स्थानीय व्यापार व्यवसायीहरु आक्रोशित भएका छन् ।
आज काठमाडौंको प्रमुख जात्रा पाहाँ चःह्रेका दिन खट जात्रा निकाल्नु पर्ने भद्रकाली मन्दिरको बाहिर परिसरमा समेत पार्किङ गर्न नदिएपछि भक्तजनहरू आक्रोशित भएका छन् ।
अरु बेला पार्किङ निषेध गरिए पनि जात्राका दिन मन्दिरमा आउने भक्तजनहरूको सुविधाका लागि पार्किङको व्यवस्था गरिदिनुपर्ने माग उनीहरूले गरेका छन् ।
सधैँ पार्किङ गरिने मन्दिर बाहिरको परिसरमा आज जात्राकै दिन पार्किङ बन्द गरिदिनाले सवारी साधन लिएर आएका भक्तजनहरू अलमलिएका थिए भने धेरैजसो मन्दिरै नपसी फर्केका थिए ।
भद्रकाली मन्दिर नजिक अन्य कुनै पार्किङस्थल पनि रहेको पाइँदैन । पूजा सामग्री नै लिएर आइसकेका कतिपय भक्तजनहरूले भने मन्दिर परिसरभित्रै मोटरसाइकल पार्किङ गरेका थिए ।
सम्पदास्थलमा यसरी सवारी साधन पार्किङ गर्न मिल्दैन । तर काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीले आवश्यक ठाउँमा समेत पार्किङ गर्न नदिएपछि भक्तजनहरू बाध्य भएर मन्दिर परिसरभित्रै पार्किङ गर्न पुगेका थिए ।
यसै बीच स्थानीय तह र ट्राफिक प्रहरीले कतै कुनै विकल्पको व्यवस्था नगरी हाल व्यवस्था गरिएका पार्किङस्थलहरू धमाधम बन्द गर्न थालेपछि आक्रोशित भएका स्थानीयवासी र व्यवसायीहरूले एक संघर्ष समिति नै गठन गरेको छ ।
हालै राजधानीको एक पार्टी पालेसमा भएको पीडितहरूको भेलाले अभियन्ता सुमन सायमिको अध्यक्षतामा १५ सदस्यीय संघर्ष समिति गठन गरेको हो ।
विभिन्न व्यापारिक केन्द्रमा राखिएका पार्किङस्थलहरू हटाएपछि आफ्नो व्यापार व्यवसाय प्रभावित भएको भन्दै व्यवसायीहरूले महानगरपालिका र ट्राफिक कार्यालयसँग धेरै पटक कुराकानी गरे पनि कुनै समाधान ननिस्केपछि संघर्ष समिति नै गठन गर्नुपरेको बताइएको छ ।
संघर्ष समितिले सम्बन्धित निकायसँग संवाद गर्ने र आवश्यक परे संघर्षका कार्यक्रमहरू समेत सार्वजनिक गर्ने बताएको छ ।
यदि राज्यले हालका पार्किङस्थलहरू पनि बन्द गर्ने र अर्को विकल्प पनि नदिने हो आफ्नो व्यवसाय बन्द गरी साँचो राज्यलाई बुझाउने चेतावनी पनि व्यवसायीहरूले दिएका छन् ।
संघर्ष समितिको सचिवमा सकिल अहमद र कोषाध्यक्षमा पूर्ण महर्जन रहनुभएको छ । सदस्यहरूमा श्रीमिला सुवाल, भुवन श्रेष्ठ, महेश थापा, राजेन्द्र थपलिया, लभ ढुंगाना, नरेश ओझा, विनय घिमिरे, दिलिप शर्मा, बालकृष्ण माझी तथा प्रेस तथा प्रचार प्रसारमा एस जी अधिकारी रहनुभएको छ ।