आफ्ना नीजि भवन अलपत्र छाडेर ६० लाख भाडा तिर्ने आलिसान महलमा सर्ने महानगरको हतारो

काठमाडौं, ९ चैत । ७० करोडको भवन निर्माण गर्दै गरेको काठमाडौं महानगरपालिका मासिक ६० लाख भाडा तिर्ने गरी काठमाडौं प्लाजामा सर्ने भएको छ ।
महानगरपालिकाले भाडामा लिन नेपाल ट्रष्टसँग सम्झौता गरेको छ । त्यति धेरै रकम खर्च गरेर महानगरपालिकाले दुई वर्ष भित्रमा त्यस्तो भव्य भवन निर्माण सम्पन्न गर्दैछ । तर, यति फेरि त्यति महंगो भाडा तिरेर १० वर्षका लागि भाडामा लिने महानगरको तयारीलाई धेरैले जनताको करमा महानगरको रजाईँको संज्ञा दिन थालेका छन् ।
मेयर निर्वाचित भएर आएपछि जनताको काममा भन्दा पनि मोजमस्तीमा बढी रमाउने मेयर बालेन साह एकपछि अर्को गर्दै विवादमा फस्दै आउनु भएको छ । उहाँको आलिसान महलमा बस्ने रहले पनि फेरि एक पटक उहाँलाई विवादमा तान्ने देखिएको छ ।
महानगरपालिकाले बुधबार नेपाल ट्रष्टका कार्यकारी सचिव सरजुकुमार वैद्यको रोहबारमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सहमति पत्रमा हस्ताक्षर गरिसकेको अवस्था छ । यो भनेको अब महानगपालिका त्यता सर्ने निश्चित छ । भुकम्पमा क्षति भएको महानगरको आफ्नै पुरानो भवन बागदरबार अलपत्र छ । त्यो पुर्ननिर्माण गर्नेतर्फ पनि महानगरको ध्यान गएको छैन । बरु लाखौँ खर्च गरेर महानगर काठमाडौं प्लाजामा सर्ने हतारोमा छ ।
सम्झौता बमोजिम प्लाजामा झ्याल, ढोका र लिफ्टसहित विग्रिएका, भत्किएका संरचनाको महानगरले मर्मत गर्नेछ । झ्याल, ढोका र लिफ्ट बनाउँदा लागेको खर्च महानगरले वहाल रकमबाट कटाउनेछ । यसबाहेकका अन्य मर्मत महानगर आफैँले गर्नेछ । बाहिरी संरचनामा कुनै हेरफेर गरिने छैन ।
भवन महानगरले कार्यालय प्रयोजनमा ल्याउनेछ । भवन छोड्नु वा छोड्न लगाउनु परेमा १८० दिन अगावै जानकारी गराउनु पर्नेछ । विजुली पानीलगायत सुविधाको बिल महानगरपालिकाले भुक्तानी गर्नेछ । काबुवाहिरको परिस्थितिबाहेक अन्य टुटफुट महानगरले व्यहोर्नेछ ।
महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार भवनभित्र यस अघि सञ्चालनमा रहेका निरमाया दोहारी र राज घराना भने शिलबन्दी गरिएको छ । ट्रष्टसँगको वहाल लेनदेन नमिलेपछि शिलबन्दी गरिएका यी ठाउँ प्रयोगमा नआएसम्म महानगरले भाडा कटाउनेछ । यो सम्झौता १० बर्षका लागि हो । ५ बर्षपछि १० प्रतिशतले वहाल वृद्धि हुनेछ ।
कि. नं. २२३५ को करिब ५ रोपनी २ पैसा क्षेत्रफलमा निर्माण भएको भवन ७ तलाको छ । भवनको सबैभन्दा तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र २ सय वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न मिल्छ ।
जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा स्वास्थ्य, सम्पदा तथा पर्यटन, विपद व्यवस्थापन, सामाजिक विकास विभाग, सार्वजनिक निजी साझेदारी एकाई लगायत कार्यालय छन् ।
हनुमान ढोका दरबार संरक्षण कार्यालय बसन्तपुरमा छ । राष्ट्रिय सभा गृह परिसरमा सूचना प्रविधि विभाग र जिन्सी शाखा लगायत संरचना छन् । यसरी छरिएर रहेका सबै संरचना र सेवालाई एउटै ठाउँमा ल्याएर सेवा प्रवाहलाई व्यवस्थित गर्न प्लाजा भाडामा लिएको हो ।