उहिलेको कुरा – डबलमाया महर्जन, ७३ वर्ष, कीर्तिपुर

तानमा एउटा साडी बुनेको ज्याला पाँच सुका पाइन्थ्यो

मेरी आमाको नाम मोहनमाया महर्जन, बाको नाम शेरमान महर्जन हो । म वि.सं. २००८ साल चैत महिनामा कीर्तिपुरको भाजंगाः टोलमा जन्मेकी हुँ ।

पहिले हाम्रो टोलमा अहिले जस्तो धेरै घर थिएन । त्यस्तै २० घर जति थियो । सबै घरमा पराले छाना । बत्ती पनि थिएन । बेलुकी टुकी बालिन्थ्यो ।

अहिले कृषि बागवानी भएको ठाउँमा हाम्रो खेत थियो । बुबा चाँडै बित्नुभयो । खेतमा आमा, दुई दाइहरू र म काम गथ्र्यौँ । खेतबाट आउने धान भात खानलाई पुग्दैनथ्यो । चामक सकिएपछि फापर र मकैको ढिंडो खाने गथ्र्यौँ । गुन्द्रुकको दाल हुन्थ्यो । बुइँगलमा पराल, मकैको घोगा बालेर आमा भात पकाउनु हुन्थ्यो । म सहयोग गर्थेँ । तेल महँगो भन्दै आमा बिना तेलको साग पकाउनुहुन्थ्यो । घरमा मनग्य खान पुग्दैनथ्यो । धेरै खाने भनेको चाडपर्वमा मात्रै हो ।

टोलमा कलधारा र इनार पनि भएकोले पानीको दुःख थिएन । घरमा बुना कपडाको भान्तांलं (लुगा) र सुरुवाल लगाउँथ्यौँ । जुत्ता लगाउने चलन आएकै थिएन । तै पनि काँडा घोच्ने डर थिएन । तर जाडो याममा भने गाह्रो हुन्थ्यो । खेतमा काम गर्न जानु पर्छ । त्यतिबेला चिसोले खुट्टा टेक्नै नहुने हुन्थ्यो ।

त्यतिबेला टोल टोलमा स्कुल पनि थिएन । काठमाडौंको झोछेँतिर बस्ने एक जना मास्टरले टोलको पाटीमा पढाउने गथ्र्यो । म पनि दश वर्ष पुगेपछि पढ्न गएँ । पढाइको पैसा तिर्नु पर्दैन थियो । मैले ठूलो वर्णमाला र ए बी सी डी पढ्न सिकेँ । अलिकति हिसाब पनि सिकेँ । सही पनि गर्न जानेँ । यति जानेपछि पढाइ सकिन्थ्यो । त्योभन्दा माथि पुग्ने ठाउँ पनि थिएन । तर मलाई त्यति सिक्न पनि गाह्रो भयो । घरको काम पनि गर्नु पथ्र्यो ।

हाम्रो टोलमा दुइटा मसानघाट थियो । कीर्तिपुर डाँडा र चोभार डाँडा बीचमा रहेको अलि होचो ठाउँको खाल्डो । यसलाई भाजंगः, भाजंगाः अथवा भाजंगल पनि भनिन्छ । ‘भाजं’ र ‘गः’ दुई शब्द मिलेर ‘भाजंगः’ भएको भनिन्छ । हाम्रो टोल मात्र नभई सँगैको नगाउँ, पांगा निवासीहरूको मसान पनि त्यही हो । मान्छे मर्दा शवलाई जलाउन माटोको भाँडोमा गुइँठा बालेर मसानमा लाने गरिन्छ । उक्त माटोको भाँडोलाई ‘भाजं’ भनिन्छ । अन्तिम संस्कारपछि उक्त भाजंलाई त्यहीं एकातिर फालेर जान्छन् । यसरी भाजं फालिने ठाउँ भएकोले सो ठाउँको नाम नै ‘भाजंगः’ हुन गएको भनेर हजुरबाहरूले भन्नुभएको सुनेकी छु ।

यो मसानमा शव जलाउन जम्माजम्मी नौ थान दाउरा भए पुग्छ । दाउराको चिता बनाएर त्यसमाथि शव राखेपछि आगो बाली मलामीहरू जम्मै घर फर्के हुन्छ । भोलिपल्ट हेर्न जाँदा लाश पूरै खरानी भइसकेको हुन्छ रे ।

हजुरबाहरूले उक्त मसानका बारे अरु पनि धेरै कुराहरू सुनाउनुभएको छ । यो मसानमा शव जलाउन जम्माजम्मी नौ थान दाउरा भए पुग्छ । दाउराको चिता बनाएर त्यसमाथि शव राखेपछि आगो बाली मलामीहरू जम्मै घर फर्के हुन्छ । भोलिपल्ट हेर्न जाँदा लाश पूरै खरानी भइसकेको हुन्छ रे । तर उक्त बाटो भई आउ जाउ गर्ने मानिसले त्यहाँ लाश जलाएको हेर्नु हँुदैन, हेरेमा दशा लाग्छ भनिन्छ । भोलिपल्ट केही मानिस मात्र गई त्यहाँको खरानी लिई अलि तलतिरको सुन्दरीघाटमा बगाउने चलन छ । यो ठाउँको छेउछाउ खुब भूतप्रेत आउँछन् भनिन्थ्यो ।

म १८ वर्षको हुँदा कीर्तिपुरका गणेशबहादुर महर्जनसँग मेरो विवाह भयो । स्वयम्बर गर्ने त्यतिबेला चलन थिएन । बाजा बजाई लिन आए । कीर्तिपुरको गःछेँ टोलमा मेरो विवाह भएको थियो । माइतीमा जस्तो खेत थिएन । श्रीमान् सिकर्मी हुनुहुन्थ्यो । काठमाडौं र पाटनसम्म हिँडेरै सिकर्मी काम गर्न जानुहुन्थ्यो । म चाहिँ घरमा कपडा बुन्ने काम गर्थेँ । भान्छाको काम सकाएपछि तानमा कपडा बुन्थेँ ।

काठमाडौंको वटु निवासी सत्यनारायण साहुकोमा धागो लिन जाँदा उहाँले जे बुन्नलाई भन्नुहुन्थ्यो त्यही बुनेर लिएर जान्थेँ । एक गज कपडा बुनेको ज्या एक सुका पाउँथेँ । एक थान साडी बुनेको पाँच सुका पाइन्थ्यो । कीर्तिपुरदेखि काठमाडौंसम्म पैदलै जान्थेँ । बस थिएन ।

कीर्तिपुरमा धारो थियो, त्यसैले पानीको दुःख थिएन । लुगा धुन र नुहाउन न्याम्हासिमा सँगैको कुवा जानु पथ्र्यो । लुगा धुन साबुन त्यतिबेला आएको थिएन ।

हाम्रो घर सँगै सिंह फल्चा छ । फल्चा सँगै गणेश र नारायणको मन्दिर थियो । मन्दिर बाहिर दुई सिंहको मूर्ति पनि थियो । मन्दिर अगाडि बायाँतिर एउटा डबली थियो, जसलाई ‘सिंह दबू’ भनिन्थ्यो । त्यो होचो खालको डबली थियो । पहिला पहिलो मध्य रातमा देवताहरू मन्दिरबाट बाहिर निस्की त्यहाँ सिंह चढ्थे रे भनिन्थ्यो । माघ महिनाभरि सिंह फल्चामा टोलका बाजेहरूले दाफा भजन गर्ने चलन थियो । ‘सिंह दबू’ कीर्तिपुरभरि नै प्रख्यात थियो । किनभने कीर्तिपुरमा हुने जुनसुकै देवीदेवताको नाच सबैभन्दा पहिला यही डबलीमा देखाउनु पर्दछ । त्यसपछि मात्रै अन्य ठाउँमा लान्छन् ।

कीर्तिपुरमा पहिले पहिले धेरै नै ढुंगेधारा, इनार, कुवा थिए । ठाउँ ठाउँमा जलद्रोणीहरू पनि थिए । अहिले जलद्रोणी हराइसकेको छ । ढोकाहरू पनि सातवटै थिए भन्ने सुनेकी थिएँ । अहिले केही मात्रै बाँकी छन् ।

प्रस्तुतीः शशिकला मानन्धर