नवलपरासीको विनयी त्रिवेणीमा माओवादी द्वन्द्वकालका बेवारिसे बम फेला

चितवन, १३ चैत । नवलपुरको विनयी त्रिवेणीमा माओवादी द्वन्द्वकालका बेवारिसे बम फेला परेको छ ।

विनयी त्रिवेणी गाउँपालिका वडा नं. ५ मा रहेको तालदेवी सामुदायिक वन क्षेत्रभित्र रहेको बारीमा बम भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी सन्तोष पाठकले जानकारी दिए ।

सर्दीका स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार जंगलमा चौपाया चराउन गएका मानिसहरूले एकै ठाउँमा ९ वटा बम भेटेपछि प्रहरीलाइ खबर गरेका थिए ।

भारतीय सेनाका पूर्वसैनिक समेत रहेका सरामुका अनुसार ती ८१ एमएम मोर्टारका बम (गोला) हुन् । उनका अनुसार ती बम ५ हजार २ सय मिटर रेन्जका हुन् । उनले भने– ‘ठूला–ठूला विस्फोटक पदार्थ ९ थान भेटिएको छ । माओवादी जनयुद्धका बेला सेना वा माओवादी लडाकुले छाडेका बम हुनु पर्दछ ।’

बम फेला परेको स्थानमा इलाका प्रहरी कार्यालय दुम्कीबास र सर्दीबाट प्रहरी पठाइएको छ । प्रहरीले नेपाली सेनासँग पनि समन्वय गरिएको छ । ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन नभएकाे प्रहरीले जनाएकाे छ ।