कपिलवस्तु म्युजियममा पुरातात्विक गजुर

काठमाडौं, १४ चैत । तिलौराकोटस्थित कपिलवस्तु संग्रहालयमा एउटा नयाँ पुरातात्विक वस्तु थपिएको छ । त्यो हो, हालै मात्रै कपिलवस्तु दरवार बाहिर भेटिएको कुनै चैत्यको अवशेष गजुर ।
कपिलवस्तु दरवारको बाहिरी भागमा पुरानो पोखरी खोज्न गरिरहेको पुरातात्विक उत्खनन्का क्रममा उक्त गजुर भेटिएको थियो । कपिलवस्तुको पुरातावित्वक उत्खनन्मा सक्रिय पुरातत्वविद्हरूले उक्त गजुर भेटिनुलाई गौतम बुद्धको जन्मस्थलबारे अझ नयाँ तथ्यका रुपमा ठूलो उपलब्धी मानेको छ ।
उक्त गजुर बौद्ध गाथाहरूमा उल्लेखित कन्थक घोडाका नाममा कपिलवस्तु दरवार बाहिर निर्माण गरिएको चैत्यको अवशेष हुनुपर्ने अनुमान गरिएको छ ।
माटोले बनाइएको उक्त गजुरलाई अहिले कपिलवस्तु संग्रहालयमा सुरक्षितपूर्वक राखिएको छ ।
यसै बीच भगवान गौतम बुद्धले बाल्यकाल बिताउनुभएको कपिलवस्तु दरवार रहेको तिलौराकोट क्षेत्रलाई पनि विश्व सम्पदाको सूचीमा सूचीकृत गराउन आवश्यक प्रस्ताव तयार गर्ने कार्य अघि बढेको छ ।
हालै मात्र लुम्बनीमा संस्कृति मन्त्रालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोषको आयोजनामा भएको नेपाल, अष्ट्रेलिया र बेलायतका पुरातत्वविज्ञहरूको कार्यशाला गोष्ठीले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा छिट्टै सूचीकृत गर्न मिल्ने गरी प्रस्तावना तयार गरी अघि बढाउने निर्णय गरेको हो ।
राष्ट्र संघीय निकाय युनेस्कोले २० वर्ष अघि नै तिलौराकोटलाई सम्भावित विश्व सम्पदाको सूचीका राखिसकेका कारण अब केही वर्ष भित्रै यसलाई विश्व सम्पदा सूचीमै सूचीकृत गर्न सकिने बताइएको छ ।
तिलौराकोटमा अहिले भेटिएका यी गजुर जस्ता पुरातात्विक सामग्रीहरूले यो क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अझ सहयोग मिल्ने बताइएको छ ।