चितवनको माटोको उत्पादन हुँ, म यहिंका नागरिकको मुहारमा खुशी देख्न चाहन्छुः रामप्रसाद न्यौपाने (अन्तर्वार्ता)

चितवनको माडीमा जन्मिनु भएका रामप्रसाद न्यौपाने अहिले भरतपुर महानगरपालिका वडा नम्बर–७ को स्थायी बासिन्दा हुनुहुन्छ । स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएका न्यौपाने ओठमाथि जुँघाको रेखी बस्नु भन्दा अघिदेखि नै राजनीतिमा संलग्न रहँदै आउनु भएको थियो । अनेरास्ववियुको राजनीति हुँदै नेकपा (एमाले)को वडा कमिटी, क्षेत्रीय कमिटी र जिल्ला कमिटीमा निरन्तर रहँदै आउनु भएका न्यौपाने अहिले पार्टीको जिल्ला अध्यक्ष हुनुहुुन्छ । विकास र समृद्धिको विषयमा मात्रै होइन राजनीतिक, सामाजिक काममा समेत अगुवाई गर्दै आउनु भएका उहाँ युवापुस्ताको लोकप्रिय नेता पनि हुनुहुन्छ । आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा चितवन–२ बाट नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बन्नुभएका न्यौपानेसँग मैत्रिन्युजका लागि मोहन बास्तोलाले निर्वाचनसँग केन्द्रित भएर गरेको कुराकानीः
हिजो मात्रै तपाईंले आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन–२ बाट नेकपा (एमाले)का तर्फबाट उममेदवारका लागि मनोनयन दर्ता गर्नुभयो । माहोल कस्तो देख्नुभएको छ ?
म एकदमै उत्साहित छु । पार्टीले मेरो उम्मेदवारी घोषणा गरिसकेपछि जुन खालको सकारात्मक प्रतिक्रया मैले प्राप्त गरिरहेको छु । त्यो प्रतिक्रियाबाट म उत्साहित छु । अहिलेसम्मको अवस्था र यहाँको पार्टीको विगतदेखिको बलियो संगठनलाई हर्ने हो भने नेकपा (एमाले) यो क्षेत्रबाट जितउन्मुख अवस्थामा छ ।
भनेपछि तपाईंलाई विश्वास गरेर पार्टीले उम्मेदवार बनाएको छ । अनि तपाईं आफैँ पनि यहाँका मतदाताबाट आशावादी हुनुहुन्छ ?
निश्चय पनि, मैले यहाँका जनतासँग लामो समय विताएको छु । यहाँका जनताका दुःख, सुखको साक्षी भएर मैले लामो समयदेखि यहाँको माटो, यहाँको परिवेश, यहाँको जनजीवनसँग घुलमिल हुने अवसर प्राप्त गरेको छु । मलाईँ यहाँको माटोका बारेमा थाहा छ । मलाई यहाँका जनताको अवस्थाका बारेमा थाहा छ । मलाई यहाँको अभाव र कष्टबारे थाहा छ । मैले यहाँको माटोमा मेरो उर्जा खर्च गरेको छु । मैले यहाँको माटोमा मेरो अहिलेसम्मको श्रम खर्च गरेको छ । म यहिँको माटोको उत्पादन हुँ । म यहि माटोमा केही गर्न चाहन्छु । म यहि माटोका नागरिकको मुहारमा खुशी देख्न चाहन्छु ।
त्यसैले मलाई यहाँको माटोको माया छ, मलाई यहाँका नागरिकको माया छ । मसँग यहिको नागरिकता छ । अनि म यहिंको मतदाता पनि हुँ । त्यसैले यहाँका मेरा दाजु–भाई, दिदी–बहिनी, आमा–बुबा कसैलाई पनि मैले म को हुँ ? भनेर परिचय गराउनु पर्ने आवश्यक छैन । म तपाईँहरुको दाई हुँ, म तपाईँहरुको भाई हुँ, म तपाईँहरुको छोरो, भतिजो र नाती हुँ । म निर्वाचनका बेला मात्रै तपाईँहरुको घर–दैलो र आगनमा आउने छैन । निर्वाचनपछि पनि म तपाईँहरुको आशा, भरोसामा मल्हम लगाउन सक्दो प्रयास गर्ने छु । मेरा पैतालाहरु यहिंको माटोमा हिँडेर थाक्ने छन् । म यहिंको माटोमा हिँडेर तपाईँहरुले मप्रति गरेको भरोसालाई डगमगाउन दिने छैन । यो मेरो प्रतिवद्धता पनि हो ।
मैले राजनीतिक, सामाजिक आन्दोलनको अगुवाई यहि क्षेत्रमा रहेर गरेको छु । यहाँका घटना र परिवेशसँग म नजिकबाट जानकार छु । यी सबै मैले अहिलेसम्म प्राप्त गरेका अमूल्य नीधि पनि हुन् । त्यसैले मलाई मतदान गरी विजयी बनाउनु हुन्छ भन्नेमा म यहाँका जनताप्रति पूर्ण आशावादी छु ।
तनहुँ–१ बाट विजयी उम्मेदवार राष्ट्रपति र बारा–२ बाट विजयी उम्मेदवार उपराष्ट्रपति भएपछि ती दुई निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । तर, यहाँको सन्दर्भ निकै फरक छ । पहिला जितेकै व्यक्तिसँग फेरि तपाईँ उपनिर्वाचनमा प्रतिष्पर्धामा हुनुहुन्छ । यसलाई कसरी लिनुभएको छ ?
तपाईंले निकै मार्मिक प्रश्न उठाउनुभयो । हो, तनहुँ–१ बाट विजयी उम्मेदवार राष्ट्रपति र बारा–२ बाट विजयी उम्मेदवार उपराष्ट्रपति भएपछि ती दुई निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । तर, यहाँको सन्दर्भ निकै फरक छ । यहाँका मतदातले यो विषयलाई पनि गम्भीर ढंगले लिनुहुन्छ भन्ने मैले ठानेको छ । देश बदल्ने, जनताको मुहारमा खुशी छाउने भन्ने सुन्दर नारासहित निर्वाचनमा उम्मेदवार बनेर भारीमतसहित निर्वाचन जित्नुभएका व्यक्तिको आफ्नै कमजोरीका कारण उपनिर्वाचन हुँदैछ । देशको व्ययभार घटाउने सुन्दर नारा लगाउने व्यक्तिकै कारण अहिले उपनिर्वाचनका सन्दर्भमा राज्यको व्ययभार बढिरहेको छ । यो सामान्य कुरा होइन । हामीले यसलाई सामान्य रुपमा मात्रै लिनुहुँदैन ।
अहिले पनि यहाँका मतदाताले पहिलाकै जस्तो सुन्दर भाषण र सामाजिक सञ्जालको भेलमा वगेर गलत ठाउँमा मताधिकार प्रयोग गर्नुभयो र परिणाम फरक खालको आयो भने पनि फेरि यहि कथा दोहोरिने निश्चित छ । त्यसैले यहाँका मतदाता सचेत हुनुपर्छ भन्ने मेरो आग्रह छ । अरुको चर्को आलोचना गर्ने र भ्रम फैलाउने कुरामा हामी बहकिनु हुँदैन भन्ने लाग्छ । नागरिकमा भ्रम पैदा गर्ने एउटा पाटो हो, व्यवहारमा लागु गर्ने कुरा त्यो भन्दा नितान्त फरक कुरा हो ।
केही महिना अघि मात्रै ‘नो नट अगेन’ को चर्को नारासहित यहाँका मतदाताको अपार स्नेह प्राप्त गरेर विजयी भएपछि उहाँले सत्ताप्राप्तिका लागि गरेका प्रत्येक गतिविधिबारे मैले यहाँ भनिरहनु पर्दैन भन्ने लाग्छ । यहाँका सचेत मतदाता यसबारे प्रत्यक्ष जानकार छन् । निर्वाचनका बेला ‘नो नट अगेन’ भन्दै उहाँले सबै भन्दा बढी आलोचना गरेका नेताहरुसँग उहाँले सत्ता लेनदेन र आफ्नो कमजोरी लुकाउन गरेका लेनदेनबारे उहाँ लज्जिल नभए पनि उहाँलाई मतदिने मतदाताप्रति उहाँले घात गर्नुभएको छ ।
तपाईँ यहिंको मतदाता भएको हिसावले पनि जितका लागि धेरै आशावादी हुनुहुन्छ ?
पहिलो कुरा त म यहाँको मतदाता हुँ । दोस्रो भनेको यहाँको विकास र समृद्धिको सपना मेरो पार्टी नेकपा (एमाले)सँग छ । त्यो सपना पूरा गर्ने अदम्य आँट म र हामीसँग छ । यहाँका नागरिकका समस्याबारे अन्य उम्मेदवारको तुलनामा म बढी जानकार छु । अहिलेसम्मको राजनीतिक जीवनमा यहि माटोमा मैले गरेको योगदानले पनि मलाई यहाँको समस्या बुझ्न थप बल पुगेको छ भन्ने ठानेको छु ।
यो उपनिर्वाचन सत्ता फेरवदलका लागि तलमाथि पार्ने गणितसँग सम्वन्धित छैन । यस्तो अवस्थामा अन्य निर्वाचनका बेला जस्तो मतदातालाई सुन्दर नारामा बहकिने र नयाँलाई हेरौँ एक पटक भन्ने भन्दा पनि आफ्नो पार्टीको उम्मेदवारलाई भोट हाल्ने सुवर्ण अवसर समेत हो । यस्तो अवस्थालाई आँकलन गर्ने हो भने चितवन–२ एमालेको बलियो संगठन भएको क्षेत्र हो । यहाँको भूगोलसँग भिजेको, स्थानीयको समस्या मिहीन ढंगले बुझेको तपाईँका लागि जितको आधार तयार गर्न सहज होला नि ?
निश्चय पनि, मंसिर ४ को निर्वाचनपछि विजयी बनाएर पठाएका सांसदबाट यहाँका जनताले निकै ठूलो आशा गरेका थिए । यहि क्षेत्रका मतदाताको मतबाट विजयी भएर जानुभएको व्यक्तिले छोटो समयका लागि भए पनि गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्नुभयो । केही महिना सांसद पनि रहनुभयो । तर, यहाँका अप्ठ्याराहरुमा उहाँको सहभागिता देखिएन । यहाँका जनताले खोज्दा उहाँलाई टेलिभजनका पर्दा, सामाजिक सञ्जालमा अनुहार र आवाज अनि पत्रपत्रिकामा तस्बिर र शब्दहरु मात्रै देख्नुपर्ने दुर्भाग्य आइलाग्यो । सरल भाषामा भन्ने हो भने यहाँका जनताले आफ्ना जनप्रतिनिधिलाई भेट्ने सहज पहुँच पनि बनाउन सक्नुभएन । त्यसकारण त्यतिबेला उहाँलाई मतदान गर्ने जनता पनि अहिले निरास भएको पाएका छौँ ।
अर्को कुरा यो निर्वाचन कुन कारणले भएको छ भनेर सरल भाषामा भन्दा यहि क्षेत्रबाट निर्वाचित सांसदको लापरबाहीका कारण भएको छ । उहाँको नारा जान्नेलाई छान्ने भन्ने छ । तर, नागरिकता र राहादानीको विषय समेत आफूले नजानेर राज्यकोषको ढुकुटी उडाउँदै उपनिर्वाचन गर्नुपर्ने अवस्था भएको छ । यस कारण पनि यहाँका जनताले यो पटक बहकिएर होइन, ठिक ठाउँमा मताधिकार प्रयोग गर्नुहुन्छ भन्ने लागेको छ । उहाँका यस्तो कारणले पनि नागरिक सचेत बनेका छन् । सुन्दर नारा र भ्रमपूर्ण अभिव्यक्तिले मात्रै विकास र समृद्धिको इन्द्रेणी सपना पूरा हुन सक्दैन रहेछ भन्ने कुरा पनि यहाँका मतदाताले थाहा पाउनु भएको छ ।
त्यसैले यो निर्वाचनमा विकास र समृद्धिको ठिक एजेण्डा बोकेको, ठिक कार्यदिशासहितको पार्टी नेकपा (एमाले)लाई मतदान गरी चितवन युवाका समेत एजेण्डा बोक्नसक्ने उम्मेदवारलाई यहाँका जनताले विजयी गराउनुहुन्छ भन्ने मैले आशा लिएको छु ।
सशस्त्र युद्ध गरिरहेको तत्कालीन नेकपा माओवादीका कार्यकर्ताहरूले थापेको एम्बुसमा २०६२ सालको जेठ २३ गते चितवन माडीको बाँदरमुढेमा भएको बम विस्फोटमा परेर ३८ जनाको ज्यान गएको थियो । उक्त बसमा सवार ७५ जना घाइते थिए । त्यो कहालीलाग्दो घटनाका बेला ज्यानको बाजी राखेर सबैभन्दा पहिला उद्धारमा खटिने अदम्य आँट भएको व्यक्तिको परिचय पनि तपाईँको रहेछ । अहिले तपाईँ त्यहि जिल्लाबाट उम्मेदवार बन्दैहुनुहुन्छ । कस्तो महशुस भैरहेको छ ?
हो, त्यतिबेला एउटा दुर्भाग्यपूण घटना घट्यो । त्यो घटनाका बेला म उद्धारकार्यमा खटिएको थिएँ । त्यस्तो त्रासादीपूर्ण घटनाको साक्षी भएर मैले त्यतिबेला गरेको उद्धार अहिले पनि मेरो मानसपटलमा ताजै छ । तर, मैले त्यो घटनालाई मात्रै यहाँ जोड्नुपर्छ भन्ने ठानेको छैन । कविलासको बाढी–पहिरोका बेला होस या चेपाङ समूदायसँग मिलेर हामीले गरेको सामाजिक कार्य हुन अथवा अन्य सामाजिक कार्यमा होस् मैले मेरो योग्यता र क्षमताले भ्यायसम्म गरेको छु भन्ने लागेको छ । मेरो सामाजिक कार्यसँग जोडिएका विभिन्न पाटाहरु मध्ये एउटा त्यो पनि हो भन्ने मलाई लाग्छ ।
हामीले समाजसेवालाई प्रचारको विषय कहिल्यै बनाउनु हुँदैन । थोरै काम गरेर धेरै प्रचार गर्नेहरुको जमात पनि छ । तर, हामीले त्यस्तो कहिल्यै गरेनौँ । जनताको दुःख–सुखमा एकाकार हुदैँ समाजसेवा गर्नु हाम्रो नियमित काम हो । हामी समाज बदल्न हिँडेका मान्छे हौँ । समाजसेवालाई हामीले अवसरको औजार कहिल्यै बनाउनु हुँदैन । समाजसेवा हाम्रो रुचिको विषय हो । अहिले पनि यहाँका धेरै नागरिकले दुःखमा खोज्ने भनेको एमालेलाई नै हो, हामीलाई नै हो । नागरिकका आवाज बोल्ने भनेको एमालेले नै हो, हामीले नै हो । त्यसैले हामीले प्रचार होइन यहाँका किसान, यहाँका चेपाङ, गरिव र आवाज विहीनहरुको आवाज बन्ने हो । उनीहरुको मर्मलाई बुझ्ने हो । हाम्रो कर्म पनि त्यहि हो । किसानले मल नपाउँदा, अनुदान कटौति गर्दा यहाँ बोल्ने भनेको एमालेले नै हो, हामीले नै हो । यी सबै कारणले पनि म यहाँका जनताको, यहाँका मतदाताको साझा उम्मेदवार हुँ भन्ने लागेको छ ।
सामाजिक सञ्जाल हेरेर धारणा बनाउनेहरुको ठूलो जमात अहिले छ । कामलाई भन्दा पनि प्रचारलाई मसला बनाएर एजेण्डा नै छायाँ पार्दै बाजी मार्ने यो युगमा तपाईँले चितवन–२ का जनतकाको आशा–भरोसलाई लागि डगमगाउन दिनु नहुने चुनौति पनि छ । हो, उनीहरुमा आशा जगाउने एजेण्डा के–के छन् ?
मैले धेरै कुरा अघि पनि उल्लेख गरेको छु । धेरै काम मेरो पार्टी र म स्वयंले पनि यो क्षेत्रमा गर्दै आएको छ । अझ पार्टीको नेताको हैसियत र जनप्रतिनिधिको हैसियतमा गर्ने काममा भिन्न अवश्य हुन्छ नै । यहाँका धेरै समस्या हल गर्नका लागि पनि मैले जनप्रतिनिधिको हैसियत प्राप्त अवश्य गर्नुपर्ने हुन्छ । यहाँका सेवाप्रावाह, चेपाङवस्तीका समस्या, गरिबीका समस्या, पानीका समस्या, ढलका समस्या, पूर्वाधारका समस्या, शिक्षाका समस्या, स्वास्थ्यको समस्या यी समस्याहरुका बारेमा हामी राम्रोसँग जानकार छौँ । ती तमाम समस्याको तल्लो तहसम्म नै पुगेर समाधान गर्नका लागि पनि यो ठाउँबाट एमालेले जित्नुपर्छ । त्यो भनेको म एमालेको तर्फबाट उम्मेदवार छु ।
मैले जित्नुपर्छ । बाहिरबाट अहिलेसम्म यहाँका समस्यालाई धेरै हदसम्म देख्ने, भोग्ने गरेको छु । जनप्रनिधि भएपछि समस्या समाधानका लागि दत्तचित्त भएर लाग्ने छु । सुकुम्बासी व्यवस्थापन, नागरिकलाई दिइने सेवाप्रवाह अनि युवा, बृद्धबृद्धा सबैका लागि नागरिकमैत्री नीति, व्यवसायीहरुका लागि व्यवसायीमैत्री नीतिलगायतका लागि मेरो पहल रहने छ । सुशासनयुक्त समाज निर्माणका लागि मेरो भूमिका रहने छ । युवा रोजगारका विषयमा उचित पहल कदमी गर्नेछु । यस्ता धेरै कामहरु छन् । अहिले यी विषयमा मात्रै चर्चा गर्दा धेरै समय लाग्छ । म विजयी भएपछि सबै विषयलाई योजनाबद्ध ढंगले यहाँका मतदाताको मुहारमा खुशी छाउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
चितवनमा एमालेको संगठन बलियो भए पनि मतदानका बेला मत बाँडिने परम्परा पनि छ । मंसिर–४ को निर्वाचन एउटा उदाहरण हो । आफ्ना मतदाता सुरक्षित राख्ने योजना केही बनाउनु भएको छ ?
अहिले नेकपा (एमाले) मिशन ग्रासरुट अभियानमा छ । एमालेका केन्द्र तहका नेताहरु लामो समयदेखि जनताको घरदैलोमा हुनुहुन्छ । यहि बेलामा निर्वाचन हुँदैछ । हाम्रा मतदाता र शुभेच्छुकहरुका असन्तुष्टि, अनि उनीहरुका भावना बुझ््दै हामी घरदैलोमा छौँ । यसले पनि हामीलाई केही हदसम्म हाम्रा मतदाता र शुभेच्छुकहरुलाई बुझाउन सहज होला भन्ने लागेको छ ।
जहाँसम्म यहि निर्वाचन क्षेत्रबाट जितेर जानु भएका उम्मेदवारको विषयको कुरा छ । त्यतिबेला मिडिमा देखिरहेको, चर्का आवाजसहित राजनीतिक दलका नेताहरुको आलोचना गरिरहेको, राजनीति विग्रियो अब सुधार गर्ने जिम्मा हाम्रो भन्दै चर्का भाषण गरेको देखेपछि मतदाता पनि बहकिनुभयो ।
तर, यथार्थ त त्यस्तो होइन रहेछ । अरुलाई अनुशासनको पाठ सिकाउने, चर्को आलोचना गर्ने अनि आफूले अनुशासनमा नपर्ने ? हो, यो यथार्थ त यहाँका मतदाताले बुझे नि त यी करीब चार महिनामा । उहाँ बोल्ने मात्रै रहेछ, काम गर्ने ल्याकत रहेनछ भन्ने त यहाँका मतदाताले बझुे नि त ? त्यसैले उहाँमाथिको भ्रम उहाँकै व्यवहारले तोडिएको छ । त्यसैले यहाँका मतदाताले अब जहिले पनि भेटिने, जहिले पनि उहाँहरुका कुरा सुन्ने, जहिले पनि गुनासो पोख्ने व्यक्ति नेकपा (एमाले)लाई मतदान गर्नुहुन्छ । राम न्यौपानेलाई मतदान गर्नुहुन्छ ।