बारामा स्वर्गीय सोहन चौधरी र सहिद मुखलाल महतोहरुले उठाएको कम्युनिष्ट झण्डा झुक्न दिन्नः पुरुषोतम पौडेल
विद्यार्थी राजनीतिदेखि नै बारा जिल्लामा सक्रिय पुरुषोतम पौडेल २०३५–०३६ देखि नै विद्यार्थी आन्दोलनमा सक्रिय रहँदै आउनु भएको व्यक्ति हो । ०४३ सालमा जनपक्षीय अभियानमा निजगढबाट प्रधानपञ्च जित्नुभएका पौडेल त्यतिबेला २० वर्षको मात्रै हुनुहुन्थ्यो । ०४८ सालमा बारा जिल्ला एमाले सचिवको जिम्मेवारीमा रहनु भएका उहाँ ०४८ मै प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्नुभएको थियो । ०५१ र ०७० को निर्वाचनमा सांसद बन्नुभएका उहाँ ०५९ देखि एमालेको केन्द्रीय कमिटीमा आवद्ध हुनुभएको थियो । पूर्वमन्त्री समेत रहनु भएका उहाँ अहिले एमालेको पोलिट्व्युरो सदस्य हुनुहुन्छ । वैशाख १० मा हुने उपनिर्वाचनमा बारा–२ बाट एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका पौडेलसँग निर्वाचनसँग केन्द्रित भएर गरेको कुराकानीः
वैशाख १० गते बारा, तनहुँ र चितवनमा निर्वाचन हुँदैछ । तपाईँ नेकपा (एमाले)को तर्फबाट बारा–२ बाट उम्मेदवार बन्नुभएको छ । महोल कस्तो पाउनु भएको छ ?
बारा क्षेत्र नम्बर–२ भनेको नेकपा (एमाले)को लालकिल्लाको परिचय बनाएको क्षेत्र हो । बारा क्षेत्र नम्बर–२ नेपाली कम्युनिष्ट आन्दोलनका अगुवा, स्थापित र इमान्दार नेता स्वर्गीय सोहन चौधरीले दुई पटक जितेको क्षेत्र हो । त्यसैले यो क्षेत्र कम्युनिष्ट आन्दोलनको उर्वर भूमि पनि हो । कम्युष्टि पार्टीको झण्डामुनी बसेर न्याय र सत्यको पक्षमा गोलबन्द हुँदै किसान संघर्षको मैदानबाट सामन्तवादको विरुद्धमा लड्दै परिवर्तनका लागि मुखलाल महतो कोइरीले सहादत प्राप्त गरेको क्षेत्र पनि हो ।
यो किसान, मजदुर र शोषण, उत्पिडनमा परेका जनता बसोबास गरेको क्षेत्र पनि हो । समग्रमा भन्ने हो भने कम्युनिष्ट आन्दोलनको सबै भन्दा बढी प्रभाव परेको क्षेत्र हो । अनि सुखल यादव, महन्त पटवारी, सोहन चौधरी जस्ता इमान्दार र त्यागी नेताहरुको कर्मथलो हो ।
त्यसैले यो क्षेत्रमा एमालेले जित्ने संभावना मात्रै होइन शतप्रतिशत जित्छ । अहिले यो क्षेत्रका जनतामा एमाले आएपछि केही हुन्छ कि भन्ने आशा, विश्वास र उत्साह छाएको छ । कार्यकर्ता पनि उत्साहित छन् ।
एमालेले नै हो देशको भविश्य बनाउने, एमालेले नै हो जनताको दुःख हेर्ने भन्ने आशा जनतामा पलाएको छ । सरकारमा रहँदा पनि वृद्धभत्तादेखि पोषणभत्तासम्म दिने पार्टी एमाले हो भन्ने भएको छ । गाउँमा पुग्ने, गाउँमा सडक, विद्यूतको कुरा गर्ने र काम गर्ने पार्टी एमाले मात्रै हो भन्ने भएको छ । सुनकोशी, मरिन डाइभर्रसनलाई बारा, पर्सा, रौतहटमा ल्याउने योजना सुरु गर्ने पार्टी एमाले हो । यो योजनाले सुख्खाले ग्रस्त बनेको बारा, पर्सा, रौतहटलाई चमत्कारिक आशा पलाउने ठाउँ दिएको छ । यो पनि जितको आधार हो ।
यो क्षेत्रमा त हाइप्रोफाय उम्मेदवारहरु छन् । त्यसैले एमालेलाई सजिलो छैन भनेर पनि भनिन्छ नि ?
कपियले यो क्षेत्रबाट फलानोले जितेको क्षेत्र, यस्तो प्रोफायल भएको नेता भनेर गलत र प्रायोजित प्रचार गरिरहेका छन् । नेकपा (एमाले) त्यस्तो सुतेको बाघ हो । त्यसलाई चलायो भने त्यो उठ्छ त्यतिबेला बरीपरीका धेरै भाग्नुपर्ने अवस्था आउँछ । अहिले यो क्षेत्रमा एमाले सुतेको बाघ होइन व्युँझिएको बाघ बनेर चुनावी मैदानमा छ । हामीले हिजो मात्रै पनि नेकपा (एमाले)का अध्यक्ष कमरेड केपी शर्मा ओलीको प्रमुख आथित्यतामा गढीमाई मन्दिर नजिकै कार्यक्रम गरेका थियौँ । त्यो कार्यक्रममा उपस्थित हजारौँ कार्यकर्ताको मुहारमा देखिएको उत्साहले पनि एमाले जित नजिक पुगेको प्रष्ट देखिन्थ्यो । त्यहि कार्यक्रममा बारा–२ का हजारौँ कार्यकर्ताले यो पटक एमालेलाई जसरी पनि यो क्षेत्रबाट विजयी बनाएर पठाउने भन्दै संकल्प गरेका छन् । यो कारण पनि हाम्रो जित निश्तिच जस्तै छ । यहाँका अधिकांश मतदाता यो क्षेत्र पहिला एमालेको थियो र अब पनि एमालेकै हुनेछ भन्नेमा ढुक्क छन् । गढीमाइ अघिको त्यो संकल्पलाई कसैले तोड्न सक्दैनन् ।
तपाईँहरु एकातिर एक्लै अर्कोतिर गठबन्धन छ । तपाईँले भने जस्तो सजिलो होला र ?
यो क्षेत्र भनेको राजनीतिक चेत भएका मतदाताहरुको क्षेत्र पनि हो । त्यसैले भर्खरै आएका, कसैले परिचालन गरेकाहरुलाई विजयी बनाएर पठाउने संभावना देखिँदैन ।
गठबन्धनको नाममा यहाँ उचालिएकाहरुलाई एमालेले जनताको बलमा, जनताको गठबन्धन गरेर पराजित गरेर देखाइ दिन्छ । यो प्रतिक्षको समय भनेको बैशाख १० गतेसम्म हो ।
अन्य पार्टीको तुलनामा एमालेमा सबैभन्दा बढी कार्यकर्ता गोलबन्द छन । यस्तो अवस्थामा अन्य दलले निर्वाचन जित्न जतिसुकै ठूलो गठबन्धन बनाएर आएपनि जनताले एमालेलाई नै जिताउनेछन ।
भनेपछि गठबन्धनको कुनै प्रभाव यो क्षेत्रमा छैन ?
हामीले मंसिर–४ कै निर्वाचन हेरिसकेका छौँ त । त्यो निर्वाचनमा एमालेलेलाई सिध्याउन गठबन्धन बनाएको होइन ? देउवाले ‘एमालेलाई सिध्याई दिने हो’ भन्नुभयो । प्रचण्डजीले ‘एमालेलाई भित्तामा पुर्याइदिने हो’ भन्नुभयो । अर्का नेताले ‘एमालेलाई बत्ती बालेर खोज्नुपर्छ’ भन्नुभयो । आखिर अहिले उहाँहरुलाई नै बत्ती बालेर खोज्नुपर्ने अवस्था छ । बरु एमाले लोकप्रिय मतमा पहिलो पार्टी बन्यो । हो, जनताको सबै भन्दा बढी मत पाएको एमालेलेले बारा जिल्लामा पनि सबै भन्दा बढी मत पायो । सबै भन्दा बढी मत पाएको एमालेले बारमा जित्ने आधार भनेकै जनताको मत हो ।
पूर्वमन्त्री, पूर्व प्रहरीहरु तपाईँसँगको प्रतिस्पर्धामा छन् । उनीहरुलाई कत्तिको सजिलो ठान्नु भएको छ ?
स्वतन्त्रको हावा अहिले यतातिर आएको छैन । जहाँसम्म जसपाको कुरा छ । यो क्षेत्रबाट दुई–दुई पटक गठबन्धनको नाममा जितेर पनि यहाँको विकास र समृद्धिका लागि सामान्य परिवर्तनको गुन्जायस पनि यहाँका जनताले पाउन सकेका छैनन् ।
प्रदेश सरकार पाँच वर्ष चलाउँदा पनि यो क्षेत्रमा झिँगो मार्ने काम भएको छैन । भ्रष्टाचार गर्ने बाहेक देश विकास र समृद्धिका लागि यो क्षेत्रमा जसपाले काम गरेको देखिन्न ।
जनताले खोज्ने भनेको कि काम हो, कि जनताप्रतिको प्रेम । यो क्षेत्रमा जसपा दुबै कुरामा चुकेको छ । त्यसैले यस्तो हावादारी र जातिय राजनीतिलाई यहाँका जनताले बहिष्कार गर्ने छन् र एमालेलाई विजयी बनाउने निश्चित छ । यहाँका जनता बदलाब चाहन्छन्, परिवर्तन चाहन्छन् । त्यो परिवर्तन दिनसक्ने ल्याकत एमालेसँग मात्रै छ ।
यहाँका जनताले एमालेको राष्ट्रभक्तिप्रतिको आन्दोलनलाई नजिकबाट बुझेका छन् ।
एमालेले लोकतन्त्र संरक्षणका लागि गरेको योगदानलाई पनि यहाँका जनताले बुझेका छन् । जनजिविकाका सन्दर्भमा होस या युवा रोजगराका लागि चालेका कदम आदिका बारेमा पनि एमालेसँग जनता सकारात्मक छन् । यो हाम्रो जितको आधार हो । अर्को कुरा अन्य पार्टीले अन्यत्र जिल्लाबाट हारेका मान्छेलाई उम्मेदवार बनाएकाले पनि यहाँका जनता एमालेको पक्षमा उभिने संभावना छ । जनताले काम नलाग्ने भनेर अस्वीकार गरेका मान्छे उम्मेदवार बनेका छन । अन्यत्रबाट हारेका र भगौडाहरुलाई जनताले मत दिने छैनन ।
अघिल्ला २ निर्वाचनमा बारा क्षेत्र नम्बर–२ मा एमालेले उम्मेदवार नदिएकोले यो क्षेत्रमाम एमाले कमजोर भएको हो कि भन्ने भ्रम परेको छ, त्यसो होइन । अहिले देशमा अस्थिरता चाहने तत्वहरु हावी बनेको र यसको अन्त्यको लागि पनि एमाले बाहेक अर्को विकल्प छैन । देशमा स्थायित्व र सम्मुन्नति र विकासको लागि एमाले अझ बलियो बन्नुपर्ने छ । नेपाली जनताले देशमा विकास निर्माण, शिक्षा, स्वास्थ्य र उत्पादनको क्षेत्रमा सुधार र परिवर्तन खोजेका छन् । यो कार्य एमालेबाट मात्र संभव छ भन्ने यहाँका जनताले महशुस गरेका छन् ।
यहाँको विकास र समृद्धिको योजनाचाँहि तपाईँसँग के–के छ ?
बारा क्षेत्र नम्बर–२ मा संभावना नै संभावना छन् । यद्यपि, विकासको दृष्टिले पछाडि परेको छ । यो क्षेत्रको विकासको लागि एमाले नै चाहिन्छ भन्ने यहाँका जनताको आशा र भरोसा छ । विश्वप्रसिद्ध महागढीमाईको मन्दिर यही क्षेत्रमा छ । यो मन्दिर क्षेत्रको विकास गरेर यो समग्र क्षेत्रकै विकास गर्न सकिन्छ । महागगढीमाई मन्दिरमा जाने सडक र अन्य क्षेत्रको पूर्वाधार निर्माणको विकास मेरो प्राथमिकता हो ।
अहिले हेर्ने हो भने यहाँ शिक्षा, स्वास्थ्य, बाटो, खानेपानी सबैको समस्या देखिएको छ । अहिले पनि आर्सेनिक भएको ट्युवेलको पानी खान बाध्य छन् यो क्षेत्रका जनता । उत्पादन वृद्धिलगायतका विषयमा पनि कुनै योजना बनेको देखिदैँन । किसानलाई सहुलिय र मजदुरलाई अवसरको खाँचो छ । यहाँ अहिलेसम्म भएको भनेको क्षेत्रीय र जातीय विभाजनको कुराले मात्रै बढी प्राथमिकता पाएको छ । यो सकारात्मक कुरा होइन । अब यहाँको जनताको मुहारमा खुशी ल्याउन, यहाँका मजदुरलाई अवसर दिन, किसानलाई सहुलियत दिन गफ होइन काम गर्नुपर्ने छ । त्यो एमालेले मात्रै गर्नसक्छ । यो विश्वास यहाँका जनताले पनि गरेका छन् ।
एमाले तराई विरोध भन्ने भ्रमलाई कत्तिको चिर्नुभएको छ ?
मंसिर ४ को निर्वाचनसम्म आउँदा तराईका जनताले भरोसायोग्य पार्टी एमाले मात्रै हो भन्ने थाहा पाएका छन् । गएको स्थानीय तहको निर्वाचनमा बारा जिल्लामा सबै भन्दा ठूलो पार्टी नेकपा (एमाले) नै हो । प्रदेशसभामा सबै भन्दा बढी सिट एमालेले नै जितेको छ । संसदमा पनि सबै भन्दा बढी सिट जित्ने पार्टी एमाले हो । संसदमा दुई, प्रदेशमा चार र स्थायी तहमा ६ वटा पालिका हामीले जितेका छौँ । हामीसँग प्रतिस्पर्धा गर्ने पार्टी बारामा र समग्र तराईमा छैन । समग्रमा भन्ने हो भने जनता हाम्रो समर्थनमा छन् ।