नक्कली भूटानी शरणार्थी प्रकरण

पूर्वगृहमन्त्री खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न अदालतद्वारा चार दिनको म्याद थप

काठमाडाैं, ३१ वैशाख । जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप गरेकाे छ ।

नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने ठगीमा सङ्गठितरूपमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १२ जनामाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले म्याद थप गरेकाे हाे ।

यसअघि थपिएको म्यादभित्र अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा पेस गरेकामा अदालतबाट चार दिनको म्याद प्राप्त भएको प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

सङ्गठित अपराधमा अनुसन्धान भइरहेकाले प्रहरीले उनीहरुलाई ६० दिन हिरासतमा राखेर आवश्यक काम कारबाही अघि बढाउन पाउँछ । उक्त प्रकरणको अनुसन्धानमा प्रहरीले ५० दिन कटाइसकेको छ ।

“अब आठ–नौ दिनमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइने छ”, काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले भन्नुभयो, “यो बीचमा अन्य आरोपीहरुको खोजी, प्रमाणहरु सङ्कलन जारी नै रहनेछ ।” सरकारी वकिलको कार्यालयमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा कार्यालयले अदालतमा अभियोजन दर्ता गर्नेछ ।

घटनामा मुछिएपछि प्रहरीले थप दुईजनालाई पक्राउ पुर्जी जारी गरिसकेको छ । शुक्रबार पक्राउ पुर्जी जारी भएकामा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र कांग्रेसका नेता पूर्वसभासद् आङ्टावा शेर्पा छन् ।

प्रहरीले शरणार्थी प्रकरणमा अहिलेसम्म १२ जनालाई पक्राउ गरिसकेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उहाँका स्वकीय सचिव नरेन्द्र केसीलाई वैशाख २७ गते पक्राउ गरेको थियो ।

वैशाख २० गते बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे पक्राउ परेका थिए ।

उक्त घटनामा हालसम्म एक सय छजनाले २० वटा जाहेरी दिएका छन् । उनीहरुले कूल रु २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन् ।