पानी पर्दा लेदोले पुरियो सवारी साधनहरू (तस्बिरहरु)

काठमाडौं, १ जेठ । वीपी राजमार्गको रोशी गाउँपालिका वडा नंं. ११ स्थित कालढुङ्गामा हिजो राति परेको वर्षातले बगाएर ल्याएको लेदो माटोले बाटोमा रोकिएका धेरै गाडीहरू पुरिएका छन् ।

राति आएको ठूलो वर्षाले बगाएर ल्याएको माटोको लेदोमा त्यहीं रोकिएका चार वटा सवारी साधन पुरिएको हो । ठूलो वर्षाले सडक निर्माणको लागि राखिएको लेदो बगाएको थियो ।

लेदो माटो बगेका कारण सो बाटो पनि अवरुद्ध हुन पुगेको छ । आज बिहानैदेखि डोजर ल्याई माटो पन्छाएर पुरिएका सवारी साधनहरू झिकिएका छन् । तर बाटो भने अझै पूर्ण रुपमा सञ्चालनमा आएको छैन ।

स्थानीयहरूले लेदो माटोले पुरिएका सवारी साधनका तस्बिरहरू सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । सरकारले स्थानीय भूवनोटको अध्ययन नै नगरी बाटो खनेकाले यस्तो समस्या आएको बताएका छन् । हरेक वर्ष वर्षामा पानी पर्दा सो ठाउँमा यसरी नै लेदो बगाउने गरेको पनि स्थानीयले बताएका छन् ।