राष्ट्रपतिद्वारा जिउँदो सहिद कायस्थको परिवारमा समवेदना व्यक्त

काठमाडाैं, १ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले दोस्रो जनआन्दोलनमा घाइते भइ गत वैशाख २७ गते निधन हुनुभएका मुकेश कायस्थको परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

जनआन्दोलनमा घाइते भएर अचेत अवस्थामा रहनुभएका जिउँदो सहिद कायस्थको वैशाख २७ गते बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

राष्ट्रपति पौडेलले शोक सन्देशमार्फत कायस्थको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको हो । राष्ट्रपति पौडेलका तर्फबाट प्रेस सल्लाहकार किरण पोखरेल, राष्ट्रपति पौडेलको परिवारकोतर्फबाट छोरी अवज्ञा पौडेल र प्रेस संयोजक खिला कार्कीले आज कायस्थको घरमा पुगेर दुःख व्यक्त गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले समवेदना सन्देश पठाउनुहुँदै मुकेश जस्ता योद्धाका कारण नेपालमा लोकतान्त्रिक गणतन्त्र सम्भव भएको र उहाँको योगदानलाई भावी पुस्ताले सम्झिरहने उल्लेख गर्नुभएको छ ।

त्यस्तै बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले राष्ट्रपतिमार्फत सरकारको ध्यानाकर्षण गराउँदै मुकेशलाई सहिद घोषणा माग गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेललाई माग पत्र हस्तान्तरण गर्नुभयो ।

विसं २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । त्यतिबेला उहाँ १४ वर्षको हुनुहुन्थ्यो । सोही दिनदेखि ओछ्यान पर्नुभएका उहाँको ३२ वर्षको उमेरमा निधन भएको हो । उहाँ १७ वर्ष एक महिना अचेत अवस्थामा रहनुभएको थियो ।