कामीरिता शेर्पा २७औँ पटक सर्वोच्च शिखरमा, ताेडे आफ्नै विश्वकीर्तिमान

काठमाडौँ, ३ जेठ (रासस) : कीर्तिमानी आरोही कामीरिता शेर्पाले २७औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आफ्नै विश्वकीर्तिमान तोड्नुभएको छ ।

वसन्त ऋतुको यो यामको जारी आरोहणमा आज बिहान ८ः३० मा सगरमाथाको चुचुरोमा पुगेर शेर्पाले यसअघिकाे २६ पटकको आरोहण रेकर्ड तोड्नुभएको हो ।

सेभेन समिट ट्रेक्स प्रालिबाट आरोहणमा जानुभएका कामीरिताले आफ्नै विश्वकीर्तिमान तोडेर विश्वलाई सुरक्षित आरोहणको सन्देश दिनुभएको छ ।

सगरमाथाको जति धेरै आरोहण भयो त्यति नै राम्रो सन्देश आरोहीलाई जान्छ । कामीरिताले सन् २०२२ मा २६औँ पटक सगरमाथाको आरोहण गरी यसअघिको आफ्नै कीर्तिमान तोड्नुभएको थियाे ।

खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, केटु आरोहण एक गरी ३९ पटक विश्वका अग्ला हिमालको आरोहण गरिसक्नुभएको छ ।

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुग्नुभएका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । यही याममा पासाङ दावा शेर्पाले २६ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउनुभएको छ ।

सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले पाएको थियो ।

वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४४ आरोही समूहका चार सय ७८ आरोहीले आरोहण अनुमति लिएका हुन् । सगरमाथा आरोहणको ७०वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो ।