बालेनलाई महेश बस्नेतको खुलापत्रः महिला हिंसा गर्ने एसपीलाई किन संरक्षण गर्नुभएको ?

काठमाडौं, ३ जेठ । नेकपा (एमाले)का पोलिट्व्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई दुई सुझाव दिनुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले साहलाई काठमाडौं प्लाजामा मासिक चर्को भाडा तिरेर कार्यालय सार्ने कदमप्रति कढा आलोचन गर्नुभएको छ । बस्नेतले सुरुमै चर्चित मेयर मेरो मित्र बालेनजीलाई भ्रष्टाचार विरुद्ध उहाँको आव्हानलाई सपोर्ट हुने गरी काठमाण्डौ महानगरभित्र उठेका केही सवाल सुझाबको रुपमा उठाएको छु भन्दै उल्लेख गर्नुभएको छ ।

‘५७–५८ सलतिर तत्कालिन मेयर केशब स्थापितले अर्थ मन्त्रालय बसेको बागदरबारको भवन सबै मन्त्रालय सिहंदरवार भित्र सार्ने निर्णय अनुसर सो भवन अख्तियार दुरुपयोग आयोगलाई दिने निर्णय भएको निर्णयलाई सच्चाएर अख्तियारको भवन टङालमा बनाउन रु १० करोड सहयोग गरि महानगरको सबै अफिस सञ्चालन गरेका थिए,’ बस्नेतले लेख्नुभएको छ,’ ‘७२ सालको शक्तिशाली भूकम्पले आंशिक क्षति भएर उक्त भवन कार्यालय संचालन गर्न अनुपयुक्त भयो । त्यसपछि महानगरले रेक्टोफिटिङ गर्न खोज्दा मुद्धा हालियो र अदालतले ‘स्टेअर्डर’ गरेर काम रोकियो ।’

बस्नेतले उक्त मुद्धाको अन्तिम फैसला १ वर्ष अघि नै रेक्टोफिटिङ गर्न निकास खोल्ने आदेश भएको स्मरण गराउनु भएको छ । ‘अहिले उक्त भवन रेक्टोफिटिङ गर्न छाडेर या ट्राफिक प्रहरी कार्यालय रामशाहपथसंगै महानगरको नाममा रहेको ७ रोपनी जग्गा या अन्यत्र भवन बनाउन छाडेर काठमाडौं प्लाजा जो पुरानो डिजाइनको र अपाङमैत्री नभएको पार्किङ पनि प्रयाप्त नभएको ठाउँमा महिनाको ६२ लाख भाडा तिर्ने गरि १० वर्षको सम्झौता सहित किन सर्ने तयारी गर्नुभयो ?’ बस्नेतले साहलाई सोध्नुभएको छ, ‘कुल हिसाब ७४ करोड ४० लाख खर्च हुने रहेछ । सायद त्यो पैसाले त अवश्य नयाँ भवन नै बन्छ होला ।’

बस्नेतले उक्त कार्यालय सार्ने दौरान आवश्यक पर्ने सामान बिना टेण्डर खरिद ऐन र नियमावली उल्लंघन गरी लाखौ गडबडी गरिएको समाचार आएकोप्रति पनि ध्यानाकर्षण गराउनु भएको छ । ‘तपाँई जस्तो लोकप्रिय मेयरले अनियमितता हुन नदिने भएको भए कारवाही गर्ने र हिम्मत जुटाएर नयाँ भवन निर्माण गर्न लाग्नु राम्रो होइनर ?’

सबै भन्दा पुरानो महानगर काठमाडौं महानगरका छिमेकी नगरहरू प्रायःले आफ्नै अत्याधुनिक भवनबाट सेवा सुचारू गरिसकेको अवस्थाप्रति संकेत गर्दै बस्नेतले थप उल्लेख गर्नुभएको छ,’ ‘देशकै संघीय राजधानी रहेको काठमार्डौ महानगरले अव पनि स्थायी भवन निर्माण गर्न छाड़ेर यसरि १०–१० वर्षसम्म भाड़ामा भवन लिएर स्थायी भवन बनाउने तर्फ़ उदासीन हुनु अपरिपक्व पो भयो कि ?’

त्योसँगै बस्नेतले एकजना महिला प्रहरी कर्मचारीले आफु गर्भवती भइ अपरेसन गरी बच्चा जन्माएको र स्वास्थ्य प्रतिकूल भएको बेला अनुकुल सरुवा माग्दा मेरो बच्चा जन्माएको होर भनि ‘महिला हिंसा जस्तो कसूर’ गरी अपमान गर्ने महानगर प्रमुख राजु पाण्डेलाई कारवाही नगरेको प्रति पनि आक्रोश व्यक्त गर्नुभएको छ ।

‘जसको ज्यादतिको आवाज़ उठाउँदा प्रहरी कर्मचारी एक जना सहीले जागिर छोडन बाध्य भएको भनिन्छ । सोही कसूरमा मानव अधिकार आयोगमा निज राजूनाथ पाण्डे र प्रमुख प्रशासकीय अधिकृतले लिखित वयान पेश गर्दा महानगरले बनाएको छानबिन समितिको रिपोर्ट अनुसार कार्यवाही गर्ने समेत भनी पेश गरेको तथ्य छ भन्ने बुझिन्छ । तर, उक्त छानविन समितिको प्रतिवेदन बमोजिम महानगर कर्मचारी सेवासर्त नियमावलीको दफा ९८ अनुसार कारबाही गर्ने भनीएकोमा महिनौंसम्म प्रतिवेदन गुमनाम राखेर निज प्रहरी अधिकारी पाण्डेलाई छाडा साँढे जसरी छोड्दा यस्ता कर्मचारीले तपाईंको लोकप्रियता बढ़ाईदेलान ?’

उल्टै त्यस्ता कर्मचारीले गत महानगर दिवसमा मेयर साहकै हातबाट महानगर उत्कृष्ट कर्मचारी भन्दै पुरस्कार लिएको भन्दै ध्यानाकर्षण गराउनु भएको छ ।