बचतकर्ताको डेढ करोड ठगी गरेकाे आराेपमा एभरेष्ट बैंकका प्रबन्धकसहित ९ जना पक्राउ

सुनसरी, ६ जेठ । एभरेष्ट बैंककाे इटहरी शाखाबाट बचतकर्ताको डेढ करोडभन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा एभरेष्ट बैंकका प्रबन्धकसहित ९ जना पक्राउ परेका छन् ।

बचतकर्ताले आफ्नो खातामा जम्मा गरेको रकम ठगी भएपछि बैंकका कर्मचारी पक्राउ परेका हुन् ।

प्रहरीले एभरेष्ट बैंककाे इटहरी शाखाबाट बैंकका प्रबन्धकसहित ७ कर्मचारी र अन्य २ जनासहित ९ जना पक्राउ गरेका छन् ।

शाखाबाट ३३ जना ग्राहकको बैंक खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ रकम बैंकका कर्मचारीले चाेरेकाे पाइएकाे छ ।

ग्राहकको रकम ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा एभरेष्ट बैंक इटहरीका शाखा प्रमुख सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय बिश्वराज शाक्य, बैंकको गाइघाट शाखाका अप्रेसन इन्चार्ज विराटनगरका ३४ वर्षीय निरज प्रधान, काठमाडौं घर भएका सुपरभाइजर ३७ बर्षीय धावा लामा, कनिष्ट सहायकहरू भोजपुर सडानन्द नगरपालिका ९ का २७ बर्षीय मनोज घिमिरेलाई पक्राउ गरिएकोजिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरिक्षक डीएसपी राजकुमार राईले जानकारी दिए ।

त्यस्तै रकम ठगी गर्ने गिरोहमा संलग्न इटहरी ७ का २७ वर्षीय देवराज घिमिरे, सुनसरी अमाहीबेल्हाका २७ बर्षीय रन्जित पण्डित र टेलर इटहरी २ की ३० बर्षीय पवित्रा कटवाल, धनुषाका शंकर भुजेल र भक्तपुर सूर्यबिनायकका अजय खिउजुलाई पनि पक्राउ गरिएको डीएसपी राइले बताए ।

प्रहरीका अनुसार बैंकका कर्मचारीले बैंकको कम्प्युटर आइडी पासवर्ड दुरुपयोग गरी कन्ट्र्याक आइपीएस मार्फत् १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म ५९ पटक बैंकका विभिन्न ग्राहकको १ करोड १४ लाख ७५ हजार २ सय ८४ रुपैयाँ रकम नक्कली चेक मार्फत् झिकेर हिनामिना गरेका थिए ।

पक्राउ परेका कर्मचारी सहित सबै जनालाई बैंकिङ कसुर र संगठित अपराध निवारण ऐन २०७० अनुसारको कसुर मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको राईले बताए ।