देउवा–प्रचण्ड दूधकुण्डमै नुहाएका अनि ओलीको स्वाभाव चाँहि म्याँउम्याउँ गर्ने !

काठमाडौं, ७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थीको काण्डलाई निष्पक्ष र तटस्थ ढंगले अघि बढाउन आग्रह गर्नुभएको छ । ‘कोही पनि अपराधी नउम्किने गरी र कोही पनि निर्दोष नफस्ने गरी अघि बढोस्, उहाँले संसदमा सम्वोधन गर्दै भन्नुभयो, ‘म तथ्य, प्रमाणसहित भन्दै छु । दोषीलाई उम्काउने प्रयास भैरहेको छ । निर्दोषलाई फसाउने काम भैरहेको छ । यो काम बन्द गरियोस् ।’

ओलीले तीन प्रमुख पार्टीका नेताहरु पटक–पटक भेट गर्दा सन्देह पैदा भयो भन्दै हो–हल्ला गरेको भन्दै त्यसको पनि प्रतिवाद गर्नुभयो । ‘तीन प्रमुख पार्टीका नेताहरु पटक–पटक भेट गर्दा सन्देह पैदा भयो, संसद बैठक पटक–पटक बस्दा सन्देह पैदा भयो । मन्त्रिपरिषद्को बैठक पटक–पटक बस्दा सन्देह पैदा भयो । के भनेको त्यो ?,’ ओलीले भन्नुभयो, ‘सदन चलाउनु छ, देशको अवस्था यस्तो छ । सदन कसरी चलाउने ? सहमतीय बाटोमा कसरी जाने आदि कुरामा नेताहरु छलफल गर्दैनन् । कानुनहरु निर्माण गर्नुछ । संशोधन गर्नुछ । त्यस सम्वन्धनमा कसरी गर्ने ? छलफल गर्दैनन् ?’

उहाँले संसदीय अभ्यासका सिलसिलामा जटिल प्रकारका बनावटहरु हुन्छन् भन्दै जटिल बनावटका सन्र्दभमा कसरी अघि बढ्ने भनेर त्यस विषयमा छलफल गरेको बताउनुभयो । ‘मानिलिऔँ तीन जना नेता भेट्दा पनि दुई जना नेता दूधले नुहाएका मात्रै होइन दूधकुण्डमै नुहाएका अनि मचाँहि त्यहाँ गएर ‘लौ न मेरो मान्छे बचाई देउ भनेर म्याँउम्याउँ गर्न गएको,’ ओलीले भन्नुभयो, ‘केपी ओलीले अरु गर्ला बाघ भोकै मर्छ घाँस खाँदैन, केपी ओलीले म्याउँम्याउँ गर्दैन ।