दुवै खुट्टा नभएर पनि सगरमाथा आरोहण गर्ने बुढामगरलाई सभामुखबाट सम्मान

काठमाडौं ११ जेठ । दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएका हरि बुढामगरलाई सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाले आज सभामुखको सरकारी निवास बालुवाटारमा स्वागत र सम्मान गर्नुभयो ।
कार्यक्रममा सभामुखले बुढामगरले नेपाल र नेपालीलाई विश्वभर चिनाएको भन्दै खुसी प्रशंसा गर्नुभयो । ‘तपाईं प्रेरणादायी व्यक्तिको सूचीमा विश्वमै कहलिनुभएको छ । तपाईंको प्रेरणाको कथा हरेक बालबालिकासम्म पु¥याउनुपर्छ,’ उहाँले भन्नुभयो ‘नेपालीले तपाईंप्रति गौरव गरिरहनेछन् ।’ उपसभामुख रानाले बुढामगरलाई सर्वश्रेष्ठ मानवको संज्ञा दिँदै आगामी दिनमा पनि आफ्नो यात्रालाई निरन्तरता दिन प्रेरणा प्रदान गर्नुभयो । कार्यक्रममा सांसदहरु महेश बर्तौला र ईश्वरी जीएमले बुढामगरलाई बधाई दिनुभयो ।
सभामुखको बधाईपत्रमा लेखिएको छ,
श्री हरि बुढामगर
रोल्पा
रोल्पा जिल्लाको थबाङस्थित मिरुल घर भई बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाउनुभएका तपाईंले २०८० साल जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । तपाईंको प्रेरणा जगाउने विश्वकीर्तिमानले फेरि एकपटक नेपाल, नेपाली र सगरमाथाको नाम संसारभर फैलिएकोमा गौरवानुभूति गरेको छु ।
युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरी तपाईंले राख्नुभएको विश्वकीर्तिमान युगौंयुगसम्म नेपाली र आरोहणको क्षेत्रमा रहनुभएकाहरुका लागि प्रेरणा बन्ने विश्वास लिएको छु । तपाईंको लगनशीलता, साहस र आत्मबल नेपाल र नेपालीको लागि प्रेरणा हो ।
शारीरिक तन्दुरुस्ती भएकाहरुले समेत नपाउने तपाईंको उपलब्धि अपाङ्गता भएका व्यक्तिहरुका लागि अभूतपूर्व प्रेरणा बनेको छ । साहसिक खेलमार्फत तपाईंले अपाङ्गता भएका व्यक्तिहरु हेय र दयाका पात्र होइनन् भन्ने सन्देश दिनुभएको छ ।
तपाईंका बाँकी दिनहरु पनि सक्रियतापूर्वक बित्ने अपेक्षा गर्दै सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।
देवराज घिमिरे
सभामुख