हिटी सफा गरी सिथि नखः मनाउँदै

काठमाडौं, ११ जेठ । नेवार समुदायको महत्वपूर्ण सिथि नखः आज मनाइयो । आज सिथि नखःका दिन इनार, धारा, ल्वहंहिटी, कुलो, कुवा आदि जस्ता पानीको स्रोतहरू सफा गरिन्छ । पानीका स्रोतहरू सफा गर्ने दिन भएको कारणले सिथि नखःलाई आधुनिक समाजको ‘पानी दिवस’ पनि भनिन्छ । काठमाडौंमा सिथि नखःलाई पानी दिवसका रुपमा पनि मनाउने चलन छ ।

आज सिथि नखःका दिन विभिन्न टोलमा युवाहरू मिलेर टोलमा रहेको पुराना हिटी, धारा आदि सरसफाइ गरेका छन् ।

सिथि नखःका दिन नेवाः समुदायमा मास, मुंगी आदिको वः पकाएर खाने परम्परा रहेको छ ।

सिथि नखः पछि उपत्यकामा धानको रोपाईं शुरु हुन्छ । धान काठमाडौंको प्रमुख बाली हो । धान रोपाईंमा पूर्ण रुपले ध्यान दिनुपर्ने भएकोले आजदेखि काठमाडौं उपत्यकामा कुनै पनि जात्रा, चाड, पर्व, मेला आदि मनाइँदैन । सिथि नखः नै यो वर्षको अन्तिम चाड हो ।

नेवार समाजमा आआफ्ना आगम देवतालाई पूजा गर्नु पनि अत्यन्त महत्वपूर्ण मानिन्छ । हरेक वर्ष देवाली पूजा (देपुजा) का दिन आगम देवतालाई पूजा गर्ने चलन छ । यदि कसैको विशेष आगम देवता छैन भने, वा देवाली गर्ने विशेष दिन छैन भने, वा देवाली गर्न बिर्सिएको रहेछ भने आजकै दिन देवाली मनाउन सकिन्छ ।

सिथि नखःपछि अब अर्को चाड गथांमुगः (गठेमंगल) चतुर्दशीदेखि मात्रै शुरु हुन्छ । त्यसैले काठमाडौंमा सिथि नखः लगत्तै शुरु हुने रोपाईं कार्य गथांमुगः अघि नै सकाउनुपर्छ भन्ने मान्यता रहेको छ ।

रोपाईं शुरु भएपछि खेतमा पानीको आवश्यकता हुन्छ । यो बेला बिरामी पनि पर्नु हुँदैन । त्यसैले स्वास्थ्यको लागि खानेपानीको स्रोत पनि सफा हुनु पर्दछ । त्यही भएर रोपाईं शुरु हुनु अघि नै पानीका स्रोतहरू सफा गर्ने चलन रहेको छ ।

यही बेला वर्षाकै देवताहरूको पनि जात्रा चलिरहेको हुन्छ । जस्तो पाटनमा रातो मत्स्येन्द्रनाथको जात्रा, मध्यपुर थिमिमा पद्मपाणी लोकेश्वरको जात्रा, काठमाडौंमा कुमार (सिथिद्यःको जात्रा) । यी देवताहरू वर्षा अर्थात ‘मनसुन’ का देवता हुन् । नेपालमा मनसुन पनि यही बेलादेखि शुरु हुन्छ ।

भोटो जात्रा र वर्षा

आज संयोगवश पाटनमा श्री रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा र सिथि नखः एकै दिन पर्न आएको छ । हरेक वर्ष भोटो जात्राका दिन क्षणिक मात्र भए पनि वर्षा हुनै पर्छ भन्ने बूढापाकाहरूको भनाइ छ । यो भनाइको पछाडि एउटा किंवदन्ती रहेको पाइन्छ ।

किंवदन्ती अनुसार मत्स्येन्द्रनाथको रथमा बसी आज जुन भोटो देखाइने हो, त्यो मूलतः कर्कोटक नागराजको भोटो हो । जसमा हिरा जडिएको हुन्छ । आफ्नी रानीको आँखाको रोग निको पार्ने एक जना ज्यापूलाई कर्कोटक नागराजले उक्त भोटो उपहार दिएका थिए ।

एक दिन ज्यापूकोबाट त्यो भोटो एउटा भूतले चोरेर लान्छ । एक दिन भूत त्यही भोटो लगाएर जावलाखेलमा मत्स्येन्द्रनाथको जात्रा हेर्न आएका हुन्छन् । ज्यापूले उनलाई चिनिहालेछ । ज्यापूले आफ्नो भोटो फिर्ता ल्याऊ भनी मागेपछि दुई जनाबीच भोटो कसको हो भन्ने विषयमा विवाद चल्न थाल्छ । अन्तमा जात्रा हेर्न आएका राजाले भोटो जसको भए पनि प्रमाण लिएर आउनु, प्रमाण सहित नआउन्जेलसम्म भोटो मत्स्येन्द्रनाथसँगै रहनेछ भनी रथमै चढाइदिएछ ।

त्यही भएर हरेक वर्ष ‘यो भोटो कसको हो ? प्रमाण छ भने लिन आउनू’ भनी देखाउन भोटो प्रदर्शन गर्ने परम्परा चलेको हो ।

यसरी भोटो देखाउँदा आफ्नो भोटो दर्शन गर्न कर्कोटक नागराज पनि जावलाखेल आउने गर्दछन् भन्ने जनविश्वास रहेको छ । कर्कोटक नागराज पनि पानीकै देवता भएको कारण उनी बाहिर निस्कँदा वर्षा हुने विश्वास गरिन्छ । कर्कोटक नागराज टौदहमा बस्ने गर्छन् । त्यही भएर आजको दिन अन्त कतै वर्षा नभए पनि टौदहमा भने अनिवार्य वर्षा हुन्छ भन्ने पनि विश्वास रहेको छ ।