‘रोमान्स अफ लिडरसीप’ का कारण समग्र उर्जा क्षेत्र संकटतर्फः मुकेशराज काफ्ले (अन्तर्वार्ता)

काठमाडौं, २० साउन । नेपाल विद्युत् प्राधिकरणको नेतृत्व अहिले कुलमान घिसिङले गरिरहनु भएको छ । उहाँ हाल प्राधिकरणको कार्यकारी निर्देशक (एमडी) हुनुहुन्छ । मुकेशराज काफ्ले प्राधिकरणको नेतृत्वमा रहेका बेला अर्थात् २०७२ साल फागुन ६ गते तत्कालिन मन्त्रिपरिषद्बाट उर्जा क्षेत्रको सुधारका लागि ९९ बुँदे कार्यक्रम सार्वजनिक भएको थियो । त्यो कार्यक्रममा १० वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्ने र एकवर्ष भित्र आधारभूत रुपमा लोडसेडिङ अन्त्य गरिसक्नेसहितका योजना बनेका थिए । तर, यो योजना बनाएको ठीक ६ महिनापछि विं.सं. २०७१ मंसिर १४ गते तीन तीन वर्षका लागि कार्यकारी प्रमुखको रुपमा जिम्मेवारी सम्हालनु भएका काफ्लेलाई माओवादी नेतृत्वको सरकारले काम गर्न अवरोध गरेपछि उहाँले २०७३ भदौ २४ गते राजीनामा दिनुभयो ।

त्यतिबेला उर्जा मन्त्रालयको जिम्मेवारीमा माओवादीकै जनार्दन शर्मा हुनुहुन्थ्यो । माओवादीकै जोडबलमा प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ आउनुभयो । पहिलो पटक एमडी हुँदा नै उहाँले विद्युत् आपूर्ति कटौती (लोडसेडिङ) अन्त्य भएको घोषणा गर्नुभएको थियो । त्यहिकारण उहाँको पहिलो कार्यकाल सेलिब्रेटी छविमै व्यथित भयो । विधुत् प्राधिकरणमा पहिलो कार्यकाल बिताएर घिसिङ २०७७ भदौमा बिदा हुनुभएको थियो ।

त्यतिबेलासम्म घिसिङले नै लोडसेडिङको अन्त्य गरेको हो भनेर उहाँलाई भगवान पुकार्नेहरुको लर्को निकै लामो थियो । उहाँका कमजोरीबारे त्यतिबेला कसैले लेख्ने र बोल्ने आँट समेत गर्न सक्दैनथे । यतिसम्म कि उहाँको विरोध गर्नु भनेको साक्षत भगवानको विरोध गर्नु हो भन्ने ढंगले विरोध गर्नेहरुको आलोचना हुन्थ्यो । उहाँ पुनः दोस्रो कार्यकालका लागि नियुक्ति भएर आएपछि प्राधिकरणमा एकपछि अर्को गर्दै समस्याहरु देखिन थालेका छन् भने लोडसेडिङको हैरानी खेप्न जनताहरु बाध्य हुन थालेका छन् ।
अझ गज्जब त के भने प्रज्ञा भवन कमलादीमा जारी माओवादीको केन्द्रीय कमिटी बैठकमा समेत झ्याप्प–झ्याप्प वत्ती गएपछि माओवादीले नै नियुक्ति गरेका र सेलिब्रेटी बन्नुभएका कुलमानको खोजी कमरेडहरुले गरेको समाचार चर्चामा छ । प्राधिकरणको नेतृत्वबाट विदा हुन भएका काफ्ले अहिले उर्जा क्षेत्रमा समस्या देखिनुमा सबै भन्दा प्रमुख कारण नै नेतृत्वको असक्षमता हो भन्नुहुन्छ । उहाँले मैत्रिन्युजसँग कुराकानी गर्दै पाँच परिदृष्यको व्याख्या गर्नुभयो । प्रसारण लाइन निर्माणमा भन्दा पनि नेतृत्वले भ्रम छर्ने काममा बढी केन्द्रित भएकाले आगामी दिनमा अझ भयावह अवस्था आउने काफ्लेको आँकलन छ । काफ्लेसँग मैत्रिन्युजले गरेको कुराकानीः

उर्जा क्षेत्रमा विस्तारै समस्या आउँदै गरेको भनेर चर्चा सुरु भएको छ । अहिलेको उर्जा क्षेत्रको अवस्थालाई कसरी लिनु भएको छ ?

अहिले मुख्यगरेर ‘पावर सेक्टर’ मा पाँच वटा परिदृष्य छन् । पहिलो परिदृष्यः माग भन्दा उत्पादन बढी भैरहेको छ । अहिले २८ सय मेगावाट भन्दा बढी क्षमता छ अहिले हाम्रो जडित प्रणालीमा । उच्चमाग करीब १८ सय मेगावाटको हाराहारी हो । त्यो भनेको भनेको एक–दुई घण्टाको माग मात्रै हो । २४ घण्टाको औसत मागको कुरा गर्ने हो भने १२ देखि १३ सयसम्म मात्रै हो ।

अहिले आन्तरिक खपत पनि नबढेको अनि भारतमा विजुली निर्यात पनि भैरहेको अवस्था छ । एकातिर आन्तरिक माग भन्दा जडित क्षमता बढी छ अर्थात विजुली खेर गैरहेको छ ।

दोस्रो परिदृष्यः भारतीय एक्सचेन्ज वजारमा ४ सय ५२ मेगावाटको विजुली बेच्ने अनुमति नेपालले पाएको छ । यद्यपि, पूर्ण क्षमतामा नेपालले विजुली बेच्न सकिरहेको छैन । तेस्रो परिदृष्यः अनि विजुली आयत पनि भैरहेको छ ।

चौथो परिदृष्यः यो परिस्थितिका विचमा पनि केही उद्योग र केही क्षेत्रमा अहिले पनि लोडसेडिङ गरिएको छ ।

पाचौँ परिदृष्यः साँझबिहान ‘पीक आवर’मा बिजुली जाने–आउने (ट्रिपिङ) भइरहेको छ । अनि झ्याप–झ्याप विद्युत् जाने समस्याका कारण हैरानी खेप्न जनताहरु बाध्यछन् । यो समस्या देशव्यापि रुपमै देखिएको छ । यसरी हेर्दा यहाँ पाँच वटा फरक–फरक खालका परिदृष्य देखिएका छन् । यी पाँच वटा परिदृष्यमा एउटा साझा कुरा छ । त्यो भनेको पर्याप्त पूर्वाधारको अभाव हुनु हो ।

जसका कारण विद्युतगृहहरुमा भएको उत्पादन, प्रसारण लाइनको अभावले गर्दा प्रणालीमा आउन सकेको अवस्था छैन । त्यहि कारण विजुली खेर गैरहेको छ । भएका वितरण प्रणाली पनि अहिले पुरानो भएको, नयाँ थप नभएको जस्ता कारण धान्न सक्ने अवस्था देखिएको छैन । जस्का कारण आएको विजुली पनि प्रयाप्त वितरण प्रणाली नहुँदा ग्राहकको घरसम्म पुग्न सकिरहेको छैन । पुगे पनि क्षमता भन्दा बढी अर्थात् ओभरलोड भएका कारण झ्याप–झ्याप विद्युत् जान समस्या हुने गरेको छ ।

प्रणालीमा खरावी आएर प्राविधिक कारणले कहिले–काँही हुने समस्या हो । तर, चिन्ता कहाँनेर हो भने अहिलेको समस्या भनेको प्राविधिक कारणले होइन । यो प्रयाप्त पूर्वाधार निर्माण हुन नसकेका कारणले समस्या भैरहेको छ । यो चिन्ताको विषय हो । यो अहिले सुरुवातको मात्रै हो । रातारात अब पूर्वाधार बन्न सक्ने अवस्था त अहिले छैन र देख्दा पनि देखिँदैन । त्यसैले यो समस्या त अहिले के भयो भन्दा पनि भविष्यमा कति जटिल समस्या झेल्नु पर्ने हो भन्ने हो । यहि अवस्था रहिरहने हो भने भविष्यमा निकै ठूलो समस्या आउने देखिन्छ । यो ठूलो चिन्ताको विषय हो ।

अहिले करीब ६ वर्षदेखि विचमा छोटो समय बाहेक एउटै व्यक्तिले नेतृत्व गरेको देखिन्छ । यस्तो अवस्थामा पूर्वाधार निर्माणमा नेतृत्वको ध्यान जान नसक्दा यस्तो समस्या भोग्नु पर्ने बाध्यताका देखा पर्दै आएको हो भन्ने कोणबाट बुझ्न सकिन्छ ?

नेतृत्वको ध्यान जानु पर्ने नै त्यसतर्फ हो । गर्नुपर्ने नै त्यहि थियो । यो कुरा हामीले विगतमा गरेका थियौँ । अहिले परिकल्पना गरौँ । ढल्केबर–मजफ्फपुर प्रसारण लाइन नबनेको भए अहिले नेपालको विजुली क्षेत्रमा आउने समस्याको परिकल्पना पनि गर्न सकिँदैनथ्यो । यो ६ वर्षका बिचमा नेतृत्वले गर्नुपर्ने मुख्य काम भनेको त्यहि थियो । तर, त्यो काम गर्नेले पनि गरेनन् र गर्नुपर्छ भनेर कसैले आवाज पनि उठाएनन् ।

त्यो कुरा उठाउने पर्ने सञ्चारमाध्ययमले थियो । सञ्चारमाध्ययमले पनि उठाएन । हामी सबै लोडसेडिङ अन्त्य भयो भन्ने भ्रममा रमायौँ । तपाईं रमाउनु भयो, म रमाएँ, सबै जनता रमाए । सबै रमाउन थालेपछि त्यतातिर कसैको ध्यान गएन । यद्यपि, विद्युतको क्षेत्र बुझेका हामीले बारम्बार यसरी रमाएर बस्दा भविष्यमा समस्या हुन्छ है, सबै भन्दा महत्वपूर्ण कुरा भनेको पूर्वाधार निर्माण हो भनेर भनिरहेका थियौँ । तर, त्यो तर्फ कतै पनि ध्यान गएन । हामीले बनाइ दिएको पूर्वाधारले पाँच–सात वर्ष धान्यो । यो ६–७ वर्षको अवधिमा अरुतिर पनि रमाउँदै पूर्वाधार निर्माण गरिदिएको भए त्यसले अर्को १० वर्ष धान्ने थियो । तर, त्यसतर्फ ध्यान गएन । त्यसैको परिणाम हामी विस्तारै भोग्दै छौँ । यो समस्या आगामी दिनमा झन् जटिल बनेर जाने निश्चित छ ।

प्राधिकरणको नेतृत्व सेलिब्रेटीपनमा रमाउँदा पूर्वाधार निर्माण, व्यवस्थापन जस्ता कुराहरु ओझेलमा परेर विस्तारै त्यसको गलत परिणाम देखिन थाल्यो भनेर बुझ्न सकिन्छ ?
धेरै हदसम्म यहि हो । यो आनन्दले भन्न सकिन्छ । ‘रोमान्स अफ लिडरसीप’का कारण विश्वविख्यात अमेरिकी कम्पनीहरु एनरोन, लेहम्यान ब्रदर्श मडेथ कसरी टाटा पल्टिए ? ती कम्पनीका नेतृत्मा रहेकाहरुको अहिलेको अवस्था के– छ ? हामीले त्यो पनि हेर्नुपर्छ । ‘रोमान्स अफ लिडरसीप’को थ्यौरीमा हाम्रो राज्य सञ्चालकहरु पर्दाखेरीको परिणाम हामी भोगिरहेका छौँ ।

कुनै समय अध्याँरोको नायक मुकेशराज काफ्लेहरु हुन् अनि उज्यालाका नायक कुलमान घिसिङहरु हुन भन्ने भाष्य जवरजस्त र्सिजना गर्ने कामहरु विगतमा हुँदै आएका थिए । त्यो भाष्य सहि थियो कि गलत त ?

अध्याँरोको नायक र उज्यालोको नायक भनेर व्याख्या मैले होइन सञ्चारमाध्ययम र आम जनताले गर्ने कुरा भयो । यतिचाँहि म ढुक्कका साथ भन्नसक्छु । यो विचमा जे–जति कुरामा जवरजस्त भाष्य निर्माण गर्ने काम भयो । त्यो भ्रम थियो । बुझ्नेले पनि त्यो कुरा नबुझेर होइन बुझेर पनि बुझाउन चाहेनन् । अनि बुझ्नेले सेलिब्रेटी बनिरहेका बेला त्यो कुरा आवश्यकता ठानेनन् ।

तर, बुझ्नु पर्ने कुरा के थियो भने विजुली खेर जाने कुरा, लोडसेडिङ हुने वा नहुने कुरा मैले वा अरु कसैले गर्ने कुरा हुँदैहोइन । त्यो प्रणालीले गर्ने कुरा हो । त्यहाँ वितरण प्रणाली छ । त्यो उत्पादन प्रणाली र त्यहाँ प्रसारण प्रणाली छ । हिजोका दिनमा विद्युत उत्पादनमै कमी थियो । त्यो तपाईंले मैले भन्नै पर्दैन । त्यो तथ्याङ्कले देखाउने कुरा हो । त्यसैले देखाउँछ । हामीले त्यतिबेला योजनाबद्ध खाका बनाएका थियौँ ।

मैले धेरै पटक भन्ने गरेको छु र अहिले पनि भन्छु– २०७२ साल फागुन ६ गते तत्कालिन मन्त्रिपरिषद्बाट ९९ बुँदे कार्यक्रम हामीले सार्वजनिक गरेका थियौँ । त्यहाँ १० वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्ने र एकवर्ष भित्र आधारभूत रुपमा लोडसेडिङ अन्त्य गरिसक्ने भनेर तत्कालिन प्रधानमन्त्रीले त्यो घोषणा गर्नुभएको हो ।

त्यसै अनुसारका पूर्वाधार निर्माण गर्ने काम हामी गर्दै गएका थियौँ । त्यसका केही उदाहरण ढल्केबर–मजफ्फुर प्रसारण लाइन, खिम्ती–ढल्केबर प्रसारण लाइन जस्ता अधुरा आयोजनाहरु सम्पन्न गर्न सफल भयौँ । त्यसपछि कोशी कोरिडोर, सोलु कोरिडोर, कालीगण्डकी कोरिडोर, मस्र्याङ्दी कोरिडोरलगायतका प्रसारण लाइनको आयोजनाहरु निर्माणमा लग्यौँ । भविष्यमा प्रसारण लाइन सबै भन्दा ठूलो समस्या हुन्छ भन्ने पूर्वतयारीका साथ हामीले ती परियोजनाका कामलाई अघि बढाएका थियौँ । तर, हामीले सुरु गरेको आयोजना समेत अहिलेसम्म पूरा हुन सकेका छैनन् । समस्या त्यहिँ भयो । अनि नयाँ त झन केही भएकै छैन ।

अरुले ठिक्क पारिदिएको कुरालाई मैले भन्दै चर्चा गरेर साथीहरुले रमाउने काम मात्रै गर्नुभयो यो दुँनियाँले देखेको कुरा हो । तर, यथार्थ तस्बिर अहिले विस्तारै देखिदैँ आएको छ । त्यसैले व्यक्तिका बारेमा मैले धेरै टिप्पणी गर्नुपर्ला भन्ने ठानेको छैन । तर, विचमा जे भयो त्यसले चाँहि समग्र उर्जाको क्षेत्रलाई पछाडि पार्ने काम भयो । यतिचाँहि भन्न सकिन्छ ।

अहिले प्राधिकरणको नेतृत्व गरिरहनु भएका कुलमान घिसिङले नेतृत्व सम्हालेको केही महिना पनि वित्न नपाउँदै स्युचाटारको भार प्रेषण केन्द्रमा लक्ष्मीपूजाको साँझ एउटा कुर्सीमा टुक्रुक्क बसेर लोडसेडिङ अन्त्यको घोषणा गर्नुभयो । त्यसपछि उहाँको त्यो क्षमतलाई जादूमयी क्षमता भन्दै अहिले पनि उहाँलाई धेरै उज्यालोको नायकको पगरी गुथाएका छन् । तपाईंको बुझाइमा पनि उहाँ त्यस्तै हो ?

म फेरि पनि भन्छु, व्यक्तिगत तहमा गएर टिप्पणी नगरौँ । तर, यथार्थमा भएको के–हो भने मैले भदौको २४ गते राजीनामा गरेको हो । भदौको २४ गतेबाट कात्तिकसम्म आइपुग्दाखेरी हाम्रो प्रणालीमा मस्र्याङ्दी ए–५० मेगावाट र मादी २५ मेगावाट गरी ७५ मेगावाट विजुली थपियो । सबै भन्दा पहिलो त्यो ७५ मेगावाट विजुली करीब दुई महिनाको अवधिमा आयोजना सुरु भएर त्यहि दुई महिनामा सम्पन्न भई थपिएको हो भन्ने ढंगले बुझनु हुँदैन ।

त्यो लामो प्रयासपछि थपिएको हो । त्योसँगै भारतबाट विद्युत आयतमा बृद्धि हुने क्रम पनि जारी थियो । त्यसपछि पनि विजुली थपिदैँ गयो । भारतको विजुली ल्याएर पनि व्यवस्थापन गर्दै गइयो । भएको यति मात्रै हो । बिजुली हावाबाट होइन प्रसारण लाइनबाट आउने हो । त्यो प्रसारण लाइन त मेरो कार्यकालमा बनेको हो नि ? मेरो कार्यकालमा बनेको प्रसारण लाइनबाट विजुली आएको हो । भएको त्यहि हो ।

त्योसँगै औधोगिक क्षेत्र र उपत्यका बाहिरको विद्युत कटाएर ग्राहस्थ क्षेत्रको लोड व्यवस्थापन केही भएको हो । यहाँ हामीले बुझ्नु पर्ने अर्को महत्वपूर्ण कुरा के–छ भने प्रणालीमा विजुली नआई कसरी व्यवस्थापन हुन्छ ? कसरी सम्भव हुन्छ ? के त्यहि विजुलीमा त्यो सम्भव भएको हो–र ? बिल्कुल होइन । यो कुनै पनि तथ्याङ्कले भन्दैन । त्यो सबै कुरा लुकाइयो । सबै तथ्याङ्क लुकाएर एकोहोरो प्रचार गरेपछि हुने त्यहि हो । म फेरि पनि भन्छु– बुझ्ने बुझाउन चाहेनन् । नबुझ्नेले अरुले जे भने त्यसैको पछिपछि लागेर कुदे । भएको यत्ति हो । त्यतिबेलाको माहोल नै विचित्रको थियो । हामीले भनेको कुरा कसैले सुन्ने अवस्था नै थिएन ।

अहिलेको अवस्थाचाँहि के–हो ?

अहिले त विजुली खेर गैरहेको अवस्थामा पनि लोडसेडिङ भैरहेको छ नि ? होइन र ! व्यवस्थापन गर्नेले त विजुली खेर नफाल्नु पर्ने होइन र ? विजुली बढी भएको व्यवस्थापन गर्न नसक्नेले विजुली कम भएको बेलामा पनि त व्यवस्थापन गर्न सक्यो भनेर हामीले पत्याउने हो त ? व्यक्ति होइन प्रणालीले व्यवस्थापन गर्ने हो । प्रणालीमा विजुली आएपछि र माग र आपुर्तिका बिचमा सन्तुलन भएपछि हुँदैन लोडसेडिङ पनि हुँदैन । यो विज्ञानको नियम हो । यसमा कुनै चमत्कार–समत्कार हुँदैन । त्यो भ्रम मात्रै हो । अझै पनि भ्रमबाट जो मुक्त छैन । त्यसले यो क्षेत्र नै बुझेको छैन । त्यहाँ कतिपय राजनीतिक विषयले पनि काम गरेको छ ।

अहिले हामी विद्युत निर्यात गर्ने ठाउँमा पुग्यौं । हामीले विद्युतको क्षेत्रमा चमत्कार गर्यौँ भन्ने लाइनबाट पनि चर्चा छ नि । फेरि अर्कोतिर यहिँका जनता फेरि लोडसेडिङको मार खेप्न बाध्य छन् । यहाँ तालमेल मिले जस्तो लाग्छ ?

त्यो अर्को भ्रमको खेती भैरहेको छ । अहिले ४ सय मेगावाट पनि विजुली बेच्न सकिरहेको अवस्था छैन । अनि यहाँ विजुली खेर फालिरहनु परेको अवस्था छ । यो पूर्वाधारको अभावले भैरहेको छ । ढल्केबर त विजुल पुर्याउनु पर्यो नि ? कम्तीमा पनि । भारतमा बेच्ने कालिगण्डकीको विजुली ढल्केबर पुर्याउनु पर्दैन ? त्यहाँसम्म लैजाने बाटो नै छैन । तर, यहाँ दश वर्षमा १० हजार मेगावाट विजुली भारतलाई बेच्ने कुरा गरेर भ्रमको खेती गरिरहेका छौँ । नेपाल त कस्तो देश भैदियो भने यथार्थ बुझ्नु छैन । दुई जना मिलेर भ्रम छर्ने अनि सबै त्यसैको पछि कुद्यो भयो । यो अर्को भ्रमको खेती हो ।

तपाईं प्राधिकरणको नेतृत्व सम्हाली सकेको व्यक्ति हो । अहिले तपाईं सेवाग्राही पनि हो । यो अवस्थामा अहिलेको नेतृत्वलाई तपाईंले दिने सुझाव के–के छ ?

मैले धेरै पहिलादेखि भन्ने गरेको छु । हल्ला कम गर्नुहोस् । देशका लागि काम गर्नुहोस् । कमसेकम देशका लागि काम गर्नुहोस् । आत्मालाई ढाँट्ने काम कहिल्यै नगर्नुहोस् । हल्ला धेरै भयो । काम भएन । अब जति समय नेतृत्वमा रहनुहुन्छ । देशका लागि काम गर्नुहोस् ।

(काफ्ले विद्युत प्राधिकरणको पूर्व एमडी हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *