देश बनाउँने हामीले हो, विदेशीले होइन भन्ने भावनाले काम गरौँ देश बन्छः सरोजकाजी तुलाधर (भिडियो अन्तर्वार्ता)
सरोजकाजी तुलाधर, अध्यक्ष, नेपाल वित्तीय संस्था संघ
तपाईंको बाल्यकालबाट विषय प्रवेश गरौँ कि जस्तो लाग्यो । तपाईँको बाल्यकाल कसरी वित्यो । विषय प्रवेश यहिँबाट सुरु गरौँ है ?
मेरो जन्म काठमाडौंको मरुहिटीमा भएको हो । मेरो बाल्यकाल अरुको जस्तै सामान्यरुपमा नै बित्यो । मध्ययम वर्गीय परिवारको जस्तै गरी मेरो बाल्यकाल बित्यो र अहिले यो ठाउँसम्म आइपुगेको छु ।
काठमाडौंमा जन्मिएका व्यक्तिहरु युरोप–अमेरिका पलाएन हुन्छन् भन्ने भाष्य निर्माण गर्ने प्रयास गरिन्छ । तपाईंको शिक्षा–दीक्षाचाँहि कसरी अघि बढ्यो र आफूँ जन्मिएकै माटोमा केही गरौं भन्ने प्रेरणा कसरी जाग्यो ?
भाष्य निर्माण गर्ने कुरा आफ्नो ठाउँमा सही होला । तर, समग्रमा त्यस्तो होइन । मेरो समकालिनहरु सबै उतै पलायन भएको भए त अहिले काठमाडौं खाली हुन्थ्यो होला नि ? त्यो भएको छैन । यति हो, विदेश जाने–नजाने, उतै पलायन हुने–नहुने वर्ग जहिले पनि हुन्छ ।
अहिले पनि युवाहरु सबै पलायन भए । अबको केही वर्षपछि बुढाबुढी मात्रै रहन्छन् भनेर पनि चर्चा गरिन्छ । यो धेरै हदसम्म ठिक चर्चा हो जस्तो मलाई लाग्दैन । विदेश गएका धेरै मानिस पनि त फर्किन्छन नि ? प्लस टु गर्ने वित्तिकै विदेश पलाएन हुन्छन् भन्ने कुरा पनि होइन ।
५०–६० प्रतिशत युवा त विदेशमा सीप सिकेर स्वदेशमै फर्किएर काम गर्छु भन्ने पनि त होलान नि ? खुला अर्थतन्त्रमा बसेर आएका युवाहरुलई यहाँ वातावरण बनाई दिने र यतै केही गरौँ भन्ने आशा जगाउने काम त हाम्रो काँधमा पनि त छ । डुईङ बिजनेश अथवा उनीहरुले गरेको लगानीको सुरक्षाका बारेमा त राज्यले सोच्नुपर्छ होला नि ?
हामीले सबै विदेश पलायन भए, विदेश पलाएन भए भनेर भनिरहँदा विदेश जानुको कारण के–हो ? त्यो पनि त खोज्नुपर्छ होला नि ? त्यो खोजेर कसरी ती युवालाई स्वदेश फर्काउन सक्छौँ त्यस विषयमा पनि राज्य लाग्नुपर्छ । उर्वर शक्ति भएको युवा विदेश पलाएन भएको छ भने त्यसलाई स्वदेश फर्काएर नेपालको माटोमा कसरी सिंचित गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ होला । त्यो भन्दा भन्दै पनि हामीले नेपालमा रोजगारीको, व्यवसायको वातावरण छैन । राज्यले त्यो वातावरण निर्माणमा ध्यान दिनुपर्छ ।
हामीले सबै विदेश पलायन भए, विदेश पलाएन भए भनेर भनिरहँदा विदेश जानुको कारण के–हो ? त्यो पनि त खोज्नुपर्छ होला नि ? त्यो खोजेर कसरी ती युवालाई स्वदेश फर्काउन सक्छौँ त्यस विषयमा पनि राज्य लाग्नुपर्छ
स्नातकोत्तर गर्दा पनि रोजगारी पाइदैँन भन्ने गुनासो पनि हुने गरेका छन् । त्यसैले शिक्षालाई हामीले प्रमाणपत्र ग्रहण गर्ने मात्रै होइन प्रमाणपत्रसँगै आउने गुणस्तर आफूमा कस्तो हुनुपर्ने हो भनेर आफूले आफुलाई पनि सोध्न सक्नुपर्छ । स्नातकोत्तर गरेर आएका विद्यार्थीसँग ‘प्राक्टिकल’ ज्ञान कति छ, त्यो महत्वपूर्ण कुरा हो । ‘थ्यौरीटिकल’ ज्ञानले मात्रै हुँदैन होला । स्नातक गर्दा कति ज्ञान हुनुपर्ने हो, विद्यार्थीहरुमा त्यसको पनि कमी भैरहेको छ कि जस्तो अनुभव हामीले पनि गरेका छौँ । प्रमाणपत्र भएर पनि ज्ञानको कमीले गर्दा विद्यार्थी आफुले आफैँलाई कमजोर बनाउने काम गरिरहेका हुन्छन् । त्यो हुनुमा हाम्रो प्रणाली पनि कमजोर छ र त्यो प्रणालीले यस्तो भैरहेको छ भनेर पनि सोच्नुपर्छ होला ।
नेपालमा अहिले पनि स्नातकोत्तर गरेको मान्छेले खेती गर्नुपर्यो भने मैले खेती गर्न स्नातकोत्तर गरेको हो ? भन्ने मानसिकता बन्ने गरेको छ । स्नातकोत्तर गर्ने वितिक्कै टेबुल–कुर्सीमा बसेर टाईसुट लगाएर जागिर खाने हो भन्ने मानसिकता छ । हामीमा त्यो मानसिकता नहट्ने हो भने हामीले जति धेरै पढ्यो त्यति धेरै आफैलाई हिनताबोध हुने हुन्छ । प्लसटुको शिक्षासँगै कसैले आफैँ केही गर्दै गयो भने त्यसले पैसा, समयको महत्व बुझ्दै जान्छ । त्योसँगै कितावको भन्दा पनि ठूलो ज्ञान उसले त्यहाँबाट प्राप्त गर्नसक्छ ।
तपाईंको विद्यालय र विश्वविद्यालयको शिक्षाचाँहि कसरी वित्यो ?
हाम्रो पालमा कलेजमा तीन वटा (विज्ञान, व्यवस्थापन र मानविकी)को मात्रै पढाइ हुन्थ्यो । म व्यवस्थापनको विद्यार्थी हुँ । स्नातक सकेपछि स्नातकोत्तर अध्ययनका लागि म दिल्ली गएँ । दिल्लीबाट अध्ययन पूरा गरेर नेपाल फर्किएपछि सबै भन्दा पहिला मैले चौधरी ग्रुपमा जागिर खाएँ । केही समयपछि अब अन्त जागिर खाने होइन । बरु आफैले केहीलाई रोजगारी दिने काम गर्नुपर्छ भनेर दिल्लीमा सँगै बसेका साथीहरु मिलेर सानो भए पनि विजनेश सुरु गरौँ भनेर यो गुडबील फाइनान्स लिमिटेड खोलेका हौँ । गर्दै गयो भने अवसरहरु आउँछन् र अवसरहरु अरुले होइन आफैँले बनाउनुपर्छ भन्ने यो एउटा उदाहरण पनि हो ।
जागिर खानुभन्दा आफ्नै सानो भए पनि काम गर्दै गयो भने जागिर खाने भन्दा आफै केही गर्ने मान्छे छिटो अघि बढ्न सक्छ । यद्यपि, लगानी गर्ने, व्यवसाय गर्ने वातावरण भने राज्यले बनाई दिनुपर्छ ।
लामो समयदेखि यो क्षेत्रमा हुनुहुन्छ । सन्तुष्टि कत्तिको छ ?
सकारात्मक सोँच छ भने त्यो मानिस सधैँ खुशी र सन्तुष्ट हुन्छ । तर, तपाईँको मन स्थीर छैन, जे कुरामा पनि असाध्यै धेरै आशावादी हुन थाल्नुभयो भने त्यसैले तपाईँलाई असन्तुष्टिको बाटोतर्फ लैजान सुरु गर्छ होला जस्तो लाग्छ ।
सबैलाई आ–आफ्नो सीमा थाहा हुनुपर्छ जस्तो लाग्छ । मैले फाइनान्स कम्पनीको सीइयो भएर व्यापार पनि गर्छु, म पढाउँछु पनि भन्न थालेँ भने त्यहाँ असन्तुष्टि सुरु हुन्छ । म जे गर्छु त्यहि मात्रै केन्द्रित भएँ भने मात्रै मैले त्यहाँबाट अवसरहरु पनि प्राप्त गरेको हुन्छु । ओहो ! उस्ले त खुव कमायो भनेर मैले घरजग्गाको पनि कारोबार गर्न थाल्ने, अरु व्यवसाय पनि थाल्ने गरेँ भने त्यसैले मलाई असन्तुष्टिहरु बढाउन थाल्छ । आफ्नो करियर बढाउने कुरामा पनि असर गर्छ ।
तपाईँ विगत आठ वर्षदेखि नेपाल वित्तीय संस्था संघको अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । तपाईं अध्यक्ष भएको नाताले यो विषयमा पनि केही बताई दिनुहोस् न ?
सामान्यतया पहिला फाइनान्स कम्पनी एशोसियशन भनेर बुझिन्थ्यो । जब बैड्ढ तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया एक्ट) आयो । त्यसले बैंक र वित्तीय संस्था दुबै जोडेर ऐन बनायो । त्यसपछि हामीले नेपाल वित्तीय संस्था संघ भनेर परिवर्तन गर्यौ ।
अहिले पनि को–अपरेटिभहरुले आफुलाई फाइनान्स, फाइनान्स भन्दै आएका कारण जनमानसमा को–अपरेटिभ र फाइनान्स कम्पनीमा धेरै फरक होइन होला भन्ने भ्रम हुने गरेको छ । कतिपय को–अपरेटिभहरुमा भएका बेथितीलाई समेत जोडेर हाम्रो फाइनान्स कम्पनी पनि त्यस्तै हो कि भन्ने भ्रम पनि पैदा हुने गरेको थियो । हामीले त्यो भ्रम चिर्नका लागि पनि नेपाल वित्तीय संस्था संघ बनाएका हौँ । त्यतिबेला ७९–८० वटा जति फाइनान्स कम्पनी थिए । अहिले हामीले ती सबैलाई गाभेर १७ वटा बनाएका छौँ । अहिले त्यसैको नेतृत्व मैले गरेको छु ।
अघि तपाईँले नै फाइनान्स र को–अपरेटिभ उस्तै हो कि भन्ने भ्रम अझै पनि जनमानसबाट हट्न सकेको छैन भन्नुभयो । जनमानसलाई यी फरक हुन है भन्ने विश्वास दिलाउन अझै के गर्नु पर्ला त ?
हो, हामीले जनमानसलाई त्यो बारेमा जति बुझाउनु पर्ने हो त्यतिचाँहि साँच्चै बुझाउन नसकेका हौँ कि भन्ने लागेकै छ । अहिले केही को–अपरेटिभले गरेका गलत कामले सबै को–अपरेटिभ खराब हुन कि भन्ने भ्रम पैदा भएको छ । जनमानसले नबुझ्दा त्यसको असर हामीलाई पनि परेको छ । जनमानसले बुझ्नु पर्ने कुरा के–हो भने फाइनान्स कम्पनी भनेको ‘ग’ वर्गको वित्तीय संस्था हो । हामीले ‘ख’ वर्गको बैंक हौँ भन्ने होइन ।
त्यस्तै को–अपरेटिभले पनि आफूलाई को–अपरेटिभ नै हौँ भनेर गर्व गर्न सक्नुपर्छ । हाम्रो काम भनेको स–स्यानो छरिएर रहेका पैसालाई जम्मा गरेर ती लगानीकर्ताहरुको जीवनस्तर उकास्ने र मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउने हो भनेर को–अपरेटिभहरुले गौरव गर्नसक्नुपर्छ । हामीले पनि हामी फाइनान्स कम्पनी हौँ र हाम्रो जिम्मेवारी फाइनान्स कम्पनीले गर्ने जिम्मेवारी मात्रै हो भनेर गर्व गर्न सक्नुपर्छ । हामीलाई नियमन गर्ने राष्ट्र बैंकले हो भने को–अपरेटिभलाई नियमन सहकारी बोर्डले गर्छ । नियमन गर्ने निकाय नै फरक छ भनेपछि हाम्रो काम पनि अवश्य फरक छ । त्यसैले हामीले यसरी बुझ्नुपर्छ होला जस्तो लाग्छ ।
हाम्रा ग्राहक त अन्योलमा छैनन् । तर, जनमानसमा चाँहि हामीले बुझाउन सकेका छैनौँ कि ? भन्ने मात्रै हो । हामीले प्रशासनलाई समेत को–अपरेटिभ र फाइनान्स कम्पनी फरक हौँ भन्ने बुझाउन सकेका छैनौँ जस्तो लागेको छ । हामीले कोभिडका बेला यस्तो समस्या प्रशासनबाट समेत भोगेका छौँ ।
जनमानसमा चाँहि हामीले बुझाउन सकेका छैनौँ कि ? भन्ने मात्रै हो । हामीले प्रशासनलाई समेत को–अपरेटिभ र फाइनान्स कम्पनी फरक हौँ भन्ने बुझाउन सकेका छैनौँ जस्तो लागेको छ । हामीले कोभिडका बेला यस्तो समस्या प्रशासनबाट समेत भोगेका छौँ ।
पछिल्लो समय यस्तै अन्योलताको अन्त्य गर्न तपाईँहरुले फाइनान्सको पछि बैंक राख्नुपर्छ भन्ने माग गर्दै आउनु भएको छ । यो विषयमा पनि केही बताई दिनु न ?
फाइनान्स कम्पनीको नामको पछि एउटा बैंक झुड्याइदिएपछि धेरै समस्या हल हुन्छ । त्यहि भएर हामीले नामको पछि बैंक राखौँ भनेर भनेका हौँ । बैंक हुने वितिक्कै डिपोजिट पनि बढ्छ, लोन पनि बढ्छ । अनि हाम्रो पनि हैसियत बढ्छ भन्ने होइन । बाफिया एक्ट अनुसार नै हामीले जनमानसको ध्यान केन्द्रित गरौँ भनेर यो माग गरेका हौँ । यसमा राज्यले ठूलो मूल्य चुकाउनु पर्ने अवस्था पनि छैन ।
मुलुकको अर्थतन्त्रमै ठूलो नोक्सानी राज्यले फाइनान्स कम्पनीको पछि बैंक राख्दा व्यहोर्नु पर्ने भयो भने हामीलाई चाहिएन । एक्टले रोक्ने हो भने पनि हामीलाई त्यो चाहिएन । तर, एक्टले त विकास बैंकलाई त्यो हैसियत दिएको छ नि ? हामी पनि त्यहि एक्ट भित्र रहेपछि पछाडि बैंक राख्न हुँदैन होला जस्तो लाग्दैन । हाम्रो तर्क यति मात्रै हो । बैंक हुने वित्तिकै हामीलाई हाम्रा सेवाग्राहीलाई पनि बुझाउन सजिलो हुन्छ भन्ने मात्रै हो । हामी बाफिया एक्ट परिवर्तन गर्ने बेलामा यो विषयलाई सम्बन्धित निकायमा दरिलो गरी राख्ने छौँ । अहिले पनि उहाँहरु हाम्रो मागमा सकारात्मक हुनुहुन्छ । हामीले पहिचान खोजेका हौँ ।
यसमा राष्ट्र बैंक, अर्थमन्त्रालय सकारात्मक छ । हामी पनि आशावादी छौँ । विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई स्टेटमेण्ट दिनका लागि हामीले बैंक नभएका कारण हामीसँग भएको पैसा निकाले बैंकमा राख्नुपर्ने र त्यहाँबाट स्टेटमेण्ट निकाल्नुपर्ने अवस्था छ । हामीले यस्तो समस्याको समाधानका लागि पनि बैंकको पहिचान चाहियो भनेको हो ।
तपाईंको चश्माबाट मुलुकको अर्थतन्त्रलाई चाँहि कसरी हेर्ने भएको छ ?
हामी केही वर्ष अघिसम्म देश गरिब छ तर यहाँको जनता धनी छ भन्थ्यौँ । हिजोआज राष्ट्र बैंकलगायतको तथ्याङ्कलाई हेर्ने हो भने सबै सकारात्मक नै देखिएको छ । यी तथ्यहरुलाई आधार मान्ने हो भने देश धनी भयो । तर, जनता गरिब भयो । किन कि मूल्यवृद्धिलगायतले जनतामा हाहाकार छ । व्यज तिर्न पैसा छैन भन्छ । बजार चलायमान छैन । यो भनेको हामीले कहिल्यै पनि स्थीरता देख्न पाएनौँ ।
मेरो करियरमै यो पटक जस्तो व्यवसायीहरुलाई अप्ठ्यारो भएको कहिल्यै देखेको थिइन । कोभिडपछि झन यो अवस्था बढ्दै गएको छ ।
तपाईं बैंकर्स पनि भएको नाताले बैंक तथा वित्तीय संस्थाको अहिलेको अवस्थालाई चाँहि कसरी हेर्नुभएको छ ?
लोनीको हिसावले कुरा गर्दा अहिले ब्याजदर बढी भएकै कारण हामीले व्यापार गर्न सकेनौँ भन्ने कुरा धेरैतिरबाट आउने गरेको छ । मैले नबुझेको कुरा के–हो भने । यति निर्यातमुखी सामान हाम्रो उद्योगले उत्पादन गर्छ भने ब्याजदर घटवडले अर्थ राख्छ । तर, बाहिर उत्पादन भएका सामान बेच्ने सन्दर्भमा ब्याजदरले अर्थ राख्छ जस्तो लाग्दैन । आयतको सामानमा त भन्सारदेखि व्याजदरसम्म जोडेर ग्राहलाई दिने हो नि ? त्यो अवस्थामा त्यसको असर व्यपारी होइन ग्राहमा परेको हुन्छ । त्यो कुरामा भने ख्याल गर्नुपर्छ । हो, बेथितिका कारण समस्या हो भने त्यसको नियमन त राष्ट्र बैंकले गर्ने होला नि ?
त्यसैले व्यवसायीको हिसावबाट हेर्ने हो भने व्याजदर भन्दा पनि चाहिएको समयमा पैसा पाउने कुरा महत्वपूर्ण हो भन्ने लाग्छ । व्यवसायीहरुको चासो पनि बढी त्यो विषयमा हुनुपर्छ होला जस्तो मलाई लाग्छ । उदाहरणका लागि कसैले एउटा परियोजना अघि बढाउँछ भने उस्ले समयमा परियोजना सम्पन्न गर्न सकेन भने त्यसै पनि त्यसको कष्ट बढ्ने भयो । हामी अरुले केही गरिदिए हुन्थ्यो भन्ने आशा गर्ने हाम्रो कारणले पनि केही समस्याहरु भएका छन् भन्ने लाग्छ ।
अस्थिर सरकारसँगै सरकार र व्यवसायीबिचको तालमेल अभावले पनि धेरै समस्या हुने गरेको भन्ने तथ्यलाई कसरी लिनुहुन्छ ?
सरकार परिवर्तन हुन डेमोक्रेसीमा सामान्य प्रक्रिया हो । हामीले जुन प्रणाली ल्याएको छौँ, त्यो प्रणालीले गर्ने नै त्यहि हो । जसले बहुमत पुर्याउँछ उसैले सरकार चलाउने कुरा हामीले ल्याएको प्रणाली अनुसार नै हो । यसो भन्दै गर्दा मलाई व्यक्तिगतरुपमा लाग्ने कुरा के–हो भने एउटा मन्त्रालयमा मन्त्री परिवर्तन हुने वितिक्कै सबै विभागका कर्मचारी नै किन परिवर्तन गरिन्छ ? ठूलो प्रश्नचाँहि यो हो । एउटै लोकसेवा दिएर आएको कर्मचारी मन्त्री परिवर्तन हुने वित्तिकै किन अयोग्य हुन्छ ? यसले गर्दा देशका लागि केही गर्छु भन्ने कर्मचारी हतोत्साही बनिदिन्छ ।
अर्को समस्या भनेको नेपालमा काम गर्ने मान्छे र काम नगर्ने मान्छेमा काम गर्ने मान्छेले धेरै दुःख पाउँछ । जसले देशका लागि केही गर्नुपर्छ भनेर काम गर्छ । उस्लाई अख्तियार लाग्नसक्छ । त्यसले धेरै दुःख पाउनसक्छ । जसले काम गर्दैन र नेताको चाकडी मात्रै बजाउँछ उस्लाई केही फरक परेको हुँदैन । त्यसैले देशको विकास गर्ने हो भने सबैभन्दा पहिला प्रशासन संयन्त्रलाई बलियो बनाउनुपर्छ । राजनीतिज्ञ र कर्मचारीले हेर्ने आँखा फरक हुन्छ । यो कारणले पनि जबसम्म कर्मचारी संयन्त्र बलियो हुँदैन राजनीति पनि बलियो हुँदैन जस्तो लाग्छ । यो राज्यका लागि काम गर्ने हो, यो आफ्ना लागि गर्ने हो भन्ने फरक छुट्याउने अवस्था नहुन्जेलसम्म समस्या ज्युँका त्युँ रहन्छन् जस्तो लाग्छ ।
जबसम्म कर्मचारी संयन्त्र बलियो हुँदैन राजनीति पनि बलियो हुँदैन जस्तो लाग्छ । यो राज्यका लागि काम गर्ने हो, यो आफ्ना लागि गर्ने हो भन्ने फरक छुट्याउने अवस्था नहुन्जेलसम्म समस्या ज्युँका त्युँ रहन्छन् जस्तो लाग्छ ।
अहिले सबैतिर समस्या नै समस्या छन् भनिन्छ । यस्तै अवस्था हो ?
हामी विदेशीले मन पराउने जात हो । सधैँभरी मुहारमा मुस्कान देखिने, सबै सकारात्मक सोँच राख्ने यस्तो छवि हामीमा थियो । तर, अहिले यो भनाई परिवर्तन भएको छ । हामी सबै अहिले नकारात्मक बढी भयौँ । बिहान उठ्दादेखि बेलुका नसुत्दासम्म नकरात्मक कुरा मात्रै हेरेर बस्छौँ । त्यसले हामीलाई यति धेरै नकरात्मक बनाएको छ कि जे कुरा पनि नकारात्मकबाट सुरु गर्न थाल्यौँ । राम्रो काम गर्नेलाई राम्रो गर्यो भन्दा पैसा खर्च हुने जस्तो अवस्था भयो ।
यसका लागि धेरै केही चाहिन्छ । जस्तै प्रशासन संयन्त्रमा रहेकाहरुले सेवाग्राहीलाई सेवा दिदाँ आफूलाई सेवाग्राहीको कुर्सीमा राखेर सेवा दिए भने काफी हुन्छ । त्यसैगरी हामी बैंकर्सले हाम्रा डिपोजिटर र लोनीको कुर्सीमा बसेको छु भनेर हामीले व्यवहार गर्यौ अनि नियमक निकायले नियमन संस्थाको कुर्सीमा बसेर नियमन गरेको अवस्थामा मात्रै हामी सबैले महशुस गर्न सक्छौँ र हाम्रो नकरात्मक सोँचलाई पनि विस्तारै सकारात्मकतर्फ अघि बढाउन सक्छौँ ।
हामीले त्यो गर्न नसकेका कारण निरासा बढेको जस्तो देखिन्छ । यो बढ्नु भनेको यसको असर देशले खेप्नुपर्छ । त्यो दुर्भाग्यपूर्ण कुरा हो । एक पटक हाम्रो पासपोर्ट बोकेर विदेश जाऔँ न त्यहाँ हामीले भोगेको हिनताबोधले हामी कहाँ छौँ भन्ने हाम्रो धरातल देखाउँछ । अहिले विदेश जानका लागि दूतावासहरुमा बसेको लाइनले पनि हामी कहाँ छौँ भन्ने देखाउँछ ।
हामीले त्यो गर्न नसकेका कारण निरासा बढेको जस्तो देखिन्छ । यो बढ्नु भनेको यसको असर देशले खेप्नुपर्छ । त्यो दुर्भाग्यपूर्ण कुरा हो । एक पटक हाम्रो पासपोर्ट बोकेर विदेश जाऔँ न त्यहाँ हामीले भोगेको हिनताबोधले हामी कहाँ छौँ भन्ने हाम्रो धरातल देखाउँछ
अहिले निरासा नै निरासाले भरिएका युवालाई केही गर्न सक्छौँ भन्ने सन्देश तपाईँले के दिनुहुन्छ ?
नेपालबाट जति पनि बाहिर जाने युवा छन् । उनीहरुले त्यो देशका नागरिकले गर्ने काम धेरै कम गर्छन जस्तो लाग्छ । यहाँबाट गएका धेरै युवाले गर्ने भनेको तल्लो तहकै काम हो जस्तो लाग्छ । त्यति मेहनतका साथ नेपालमै काम गर्ने हो भने यहाँ धेरै अवसर छ जस्तो लाग्छ । स्नातकोत्तर गरेको व्यक्तिले ठेलामा तरकारी बेच्न किन नहुने ? उसलाई किन सुटटाई लगाएकै जागिर चाहिने ?
योसँगै राज्यको पनि दायित्व छ । राज्यले पनि सरोकारवालाहरुको कुरा सुन्ने मात्रै होइन उनीहरुका लागि समस्या समाधान गर्नेतर्फ पनि योजना बनाएर लाग्नुपर्छ जस्तो लाग्छ । कतिपय समाधान नहुने रहेछन् भने यो–यो कारणले समस्या समाधान गर्न सकिदैँन भन्यो भने त्यसले सरोकारवालाहरुलाई यो हो रहेछ भनेर ऊ सकारात्मक बन्छ र निरासा हुनुबाट बचाउँछ । त्यसैले सबै भन्दा ठूलो कुरा भनेको योजना हो, राज्यले योजना बनाउनुपर्छ ।
अन्त्यमा, केही ?
विदेशीहरुले आएर हाम्रो देश बनाइ दिन्छ । उनीहरुको सहायता र सहयोगबाट देश बन्छ भन्ने मानसिकता हटाएर देश बनाउँने जिम्मा हाम्रै काँधमा छ, आफैँले बनाउनुपर्छ । विदेशीले हाम्रो देश बनाउँन सक्दैन भन्ने मानसिकता राख्यो भने मात्रै देश बनाउ सकिन्छ । नेपालको जनशक्ति नेपालमा नै बसोस् । नेपालीले विदेशमा गएर नेपालको गुनगान मात्रै गाउने अवस्था बनोस् भन्ने चाहन्छु ।