एमाले लुम्बिनी प्रदेश प्रथम अधिवेशनः गुटगत प्रतिस्पर्धा वर्जित, सर्वसम्मत नभए मात्रै चुनाव

अमृत गिरी
बुटवल, भदौ ११ । नेकपा (एमाले)ले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा नेताका नाम जोडेर गरिएका प्रचारबाजी र गुटगत प्रतिस्पर्धालाई वर्जित गरेको बताएको छ । अधिवेशनका लागि प्रतिनिधि छनौटका काम पूरा भएलगत्तै बुटवलस्थित पुष्पलाल स्मृति भवनमा यहाँका सम्पादकहरुसँग अन्तरसंवाद गर्दै एमाले नेतृत्वले नेतृत्व छान्न कुनै गुटगत प्रतिस्पर्धा नहुने र धेरै भए चुनाबबाट चयन गरिने स्पष्ट पारेको छ ।

एमाले लुम्बिनी प्रदेशका इन्चार्ज तथा पार्टी केन्द्रीय सचिव पद्मा अर्याल, पार्टी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल, उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, प्रचार विभाग प्रमुख डीआर घिमिरे, पार्टीका प्रदेश कमिटी सदस्य तथा प्रेस चौतारी विभाग इन्चार्ज मोहन चापागाइँसहित विभिन्न तहका नेताहरुले यहाँका विभिन्न मिडियाका सम्पादकहरुसँग अन्तरक्रिया गरेका थिए ।

सोही क्रममा पार्टी नेतृत्वले नेताको नाम जोडेर प्रचारबाजी नगर्न, मिडियामा मिथ्या सूचना प्रवाह नगर्न र अतिरञ्जित बनाउने काम नगर्न प्रतिनिधिहरुलाई सचेत गराएको जानकारी दिएको छ ।

कतिपय नेताहरुले आफु अनुकुलका सूचना दिएर भ्रम फैलाउने कोसिस गरेकोबारे पनि जानकारी आएको एमाले प्रदेश इन्चार्ज अर्यालले जानकारी दिनुभयो । अधिवेशनमा प्रदेशका १२ जिल्लाबाट एक हजार चार जना प्रतिनिधि सहभागी हुँदैछन् । यसपटक आयोजक कमिटीका पदाधिकारी तथा सदस्यहरु समेत अधिवेशनमा प्रतिनिधि बन्न आफ्नो भूगोलबाट छनौट भएर आउनुपर्ने छ । एमालले भदौ १६ र १७ गते बुटवलमा लुम्बिनी प्रदेशको प्रथम अधिवेशन गर्दै छ ।

अधिवेशनको उद्घाट्न अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ । ‘गुटगत प्रतिस्पर्धा हुँदैन, उम्मेदवार धेरै भए चुनाव हुन्छ,’ अधिवेशनका सन्दर्भमा यसक्षेत्रका विभिन्न मिडियाका सम्पादकरुसंग छलफल गर्दै एमाले लुम्बिनीका इन्चार्ज तथा पार्टीका सचिव पद्मा अर्यालले भन्नुभयो,‘पार्टीभित्र कुनै नेताको नाममा गुट छैन । गुटगत कुरा जोडेर कतिपय मिडियामा भइरहेका प्रचारबाजीहरु गलत र भ्रामक हुन् ।’

अर्यालले राजनीतिक र सांगठनिक प्रतिवेदन लेखनको काम जारी रहेको जानकारी दिनुभयो । ‘म पार्टीले खटाएको प्रदेशको इन्चार्ज हुँ, मलाई केही जानकारी छैन,
उपाध्यक्ष र महासचिवले गुट बनाएको काल्पनिक चर्चा गराइँदैछ, अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल कसैले पार्टी हित विपरीत गुट बनाउने कुरा असम्भव हो, अहिले दुई जना उम्मेदवारहुँदा २ जनाको गुट लेख्दा भोलि अधिवेशनमा त्योभन्दा धेरै उम्मेदवार भए भने कुन कुन नेताको नाम जोडेर र कुन गुट भनेर लेख्ने नि ?’ अर्यालले प्रश्न गर्नुभयो, ‘सर्वसम्मत नेतृत्व चयन नभए स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व छान्ने लोकतान्त्रिक विधि हुँदाहुँदै अनेक फुर्का जोडेर प्रचारबाजी गर्नु जरुरी छैन ।’  उहाँले तल्लो तहमा कोही कसैका इच्छा, आकांक्षा हुनसक्ने भन्दै त्यसमा केन्द्रीय नेतृत्वलाई जोड्ने गलत भएको बताउनुभयो ।

समावेशी प्रतिनिधित्व, आयोजक पनि चुनिएर मात्रै प्रतिनिधि

लुम्बिनी प्रदेशका १ सय ९ वटै स्थानीय तहबाट १ हजार ४ जना प्रतिनिधि छनोट भएका छन् । तीमध्ये महिलाको मात्रै संख्या तीन सय छ । यस्तै दलितबाट १ सय ५३ जना प्रतिनिधिका रुपमा चुनिएर आएका छन् । ४० वर्ष मुनिका युवामात्रै अहिले एक सय ३७ जना प्रतिनिधिमा चुनिएका छन् । पार्टीले गरेको निर्देशन अनुसार महिला ३० प्रतिशत, उत्पीडित जनजातिबाट १५ प्रतिशत र युवाबाट २० प्रतिशत प्रतिनिधि छनोट भएका छन् । आयोजक कमिटी यसअघि स्वतः प्रतिनिधिका रुपमा लिइन्थ्यो ।

तर, यसपाली आयोजक कमिटी पनि प्रतिनिधिका रुपमा चुनिएर मात्रै अधिवेशनमा सहभागी हुन पाउने प्रावधान बनाइएको छ । सोही आधारमा अहिलेका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल पाल्पाको रामपुर नगरपालिकाबाट, केन्द्रीय सदस्यसमेत रहनु भएका प्युठानका हरि रिजाल नौ बहिनी गाउँपालिकाबाट र प्रदेश सचिव लक्ष्मण आचार्य दाङको घोराही उपमहानगरबाट प्रतिनिधि छनोट हुनुभएको छ ।

जम्बो कमिटी घटाएर चुस्त बनाइँदै

एमालेले हालको करिब छ सय जना रहेको प्रदेश कमिटीलाई संक्रमणकालिन भन्दै यो संख्यालाई घटाएर चुस्त बनाउने भएको छ । अब आउने अधिवेशनले २ सय ५ जनाको प्रदेश कमिटी चयन गर्ने छ । यसअघिको कमिटीमा केन्द्रबाटै बनेको कमिटीमा ६ सय १ जना छन् । एमालेले प्रदेशका १२ जिल्लाबाट प्रतिजिल्ला ५ जनाका दरले ६० जना, संघीय निर्वाचन क्षेत्रबाट प्रति क्षेत्र ५ जनाका दरले १ सय ३० जना र खुल्लाबाट ५ पदाधिकारी सहित १५ जना रहने गरी २ सय ५ जनाको नेतृत्व चयन गर्ने छ ।