शसस्त्र द्वन्द्वको सुरुवात गरेको रोल्पाको विकासबारे सांसद ईश्वरीको प्रश्नमा प्रधानमन्त्रीको गोलमटोल जवाफ

काठमाडौं, १२ भदौ । सांसद ईश्वरी घर्ती मगरले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनयुद्धको आधार इलाका रोल्पाका जनताको जनजीवनमा परिवर्तन ल्याउने क–के गौरवका आयोजना दिनसक्नुभयो भनि प्रश्न गर्नुभएको छ ।

रोल्पालाई मुख्य आधार इलाका बनाएर दश वर्षे शसस्त्र द्वन्द्वको सुरुवात गर्नुभएको सम्माननीय प्रधानमन्त्रीज्यू तीन पटक प्रधानमन्त्री हुँदा पनि रोल्पालीको जनजीवनमा परिवर्तन आउने गौरबका योजना दिन सक्नुभएन। रोल्पालीको त्यो ऐतिहासिक सहयोग प्रधामन्त्री भएपछि बिर्सनु भयो भन्ने रोल्पालीको गुनासो छ। त्यो गुनासोलाई कसरी सम्बोधन गर्नुहुन्छ,’ उहाँले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्दै भन्नुभयो, ‘जुम्ला लगायतका जिल्लाहरुमा स्याउ पाक्ने समय आयो। स्याउले बजार भाउ नै नपाउने अवस्था आउन सक्छ र आइरहेको पनि छ। यसको वजार व्यवस्थापनमा सरकारको योजना के छ ?’

सांसद घर्तीमगरले दश वर्षे शसस्त्र द्वन्द्वको क्रममा सहिद भएकाहरूको सम्झना र सम्मानका लागि दाङको घोराहीदेखि रोल्पाको होलेरी, घर्तीगाउँ हुँदै रुकुम पूर्वको हुकाम मैकोट सम्म पुग्ने २२० किलोमिटर सडक खण्डबारे पनि उहाँले प्रश्न गर्नुभयो ।

‘वर्तमान सम्माननीय प्रधानमन्त्रीज्यूको चाहना र पहलमा सहिद मार्ग नामाकरण गरेर योजना अगाडी बढाइएको थियो। बजेट अभावमा योजना निकै कछुवा गतिमा भई अझ सम्पन्न हुन सकेको छैन। सहिद मार्गको मुख्य प्रवेश द्वारको रुपमा रहेको घोराहीदेखि रोल्पा होलेरी सम्मको ३१ किलोमिटरको सडक खण्ड अलपत्र र जोखिमपूर्ण भएको लामो समय बितिसक्यो। यसबारे सदनमा मैले ३–४ पटक कुरा पनि राखिसकेँ। तर सरकारले यो योजनालाई प्राथमिकतामा पारेन किन ?’ उहाँले प्रश्न गर्नुभयो, ‘रोल्पाको रुन्टीगढी गाउँपालिका भित्र अहिले चारवटा चुनढंगा खानी सञ्‍चालनमा छन् । थप चारवटा खानी दर्ता भएर सञ्‍चालनको प्रक्रियामा छन्। हाल २०० बढी टिप्पर सञ्‍चालनमा छन् भने पुरानो र नयाँ गरी ८ वटा चुनढुंगा खानी सञ्‍चालनमा आउँदा दिनमा कम्तिमा पाँचसय देखि ७ सय सम्म टिप्परहरू घोराही होलेरीको यही सहिद मार्ग भएर सञ्‍चालनमा आउने छन्। जसले गर्दा उक्त सडकमा अन्य गाडीहरु सञ्‍चालनमा आउन निकै बाधा पर्ने र हाल परिरहेको पनि जानकारी गराउँछु।’

सांसद घर्तीले सो क्षेत्रमा बैकल्पिक औद्योगिक मार्ग बनाउने र घोराही होलेरीको ३१ किलोमिटर सडकलाई तत्काल कालोपत्रे गर्दै सहिद मार्ग योजना समयमै सम्पन्न गर्न सरकारको के योजना छ ? भनि प्रश्न गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले सांसद घर्तीमगरको प्रश्नको जवाफ दिदैँ नेपालको राजनीतिक आन्दोलनमा रोल्पा जिल्लाको विशिष्ट र ऐतिहासिक योगदान रही आएकोमा कसैको विमति नरहेको भन्दै इतिहासका हरेक कालखण्डमा रोल्पाली जनताको वीरता र साहसको उच्च प्रशंसा हुने गरेको स्मरण गराउनुभयो ।

उहाँले रोल्पाको समग्र विकास र जनताको जीवनस्तरमा रूपान्तरणका लागि विगतदेखि नै उच्च प्राथमिकता दिँदै आएको भन्दै गोलमटोल जवाफ दिनुभयो । प्रधानमन्त्री प्रचण्डले मानव विकासमा पछाडि रहेका कर्णाली प्रदेश¸ सुदूर पश्चिम प्रदेश¸ मधेश प्रदेश¸ रोल्पा¸ रुकुमलगायतका जिल्ला तथा क्षेत्रलाई विकासको मूल प्रवाहमा ल्याउन र ती क्षेत्रमा पूर्वाधारका संरचनाको विकासका लागि सरकारले प्राथमिकताका साथ कार्यक्रमहरू सञ्‍चालन गरिरहेको भन्दै सोलोडोलो जवाफ दिएर पन्छिनुभयो ।
सांसद घर्तीको प्रश्नमा प्रधानमन्त्रीको अरु जवाफ यस्तो छः

जुम्ला जिल्लाको विकासलाई सरकारले प्राथमिकतामा राख्दै सरकारले स्याउको सुपर जोन तथा पकेट क्षेत्रहरू घोषणा गरी आवश्यक सहयोग तथा सहुलियत प्रदान गरिएको छ। यस वर्षको बजेट तथा कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना लगायतका कार्यक्रम तथा प्रदेश तथा स्थानीय तहको विकास कार्यक्रमबाट उत्पादन, प्रशोधन तथा प्याकेजिङ्गमा आवश्यक सहयोग तथा सहुलियत प्रदान गरिएको छ। स्याउको भण्डारणको लागि उच्च क्षमताको कोल्डस्टोर निर्माण भइरहेको छ।

सरकारले दाङको घोराहीदेखि रोल्पाको होलेरी हुँदै रुकुमको मैकोटसम्मको शहीदमार्गलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्दै आइरहेको छ। सडक र पुलको भाग देशभरि नै अत्यधिक हुने गरेको, थुप्रै सडक योजनाहरू सञ्चालन गर्नु परिरहेको तर पर्याप्त बजेट विनियोजन गर्न नसकिएको अवस्था हो। घोराही होलेरी खण्डको ३१ कि मि सडक अत्याधिक भार बोक्ने सिमेन्ट उद्योगका ट्रकहरूको कारणले क्षति भएको छ। भार नियन्त्रण गर्दै सडकको आवश्यक मर्मत सम्भार गरी सडक सुधार गर्न ध्यान दिइनेछ। घोराही–होलेरीको वैकल्पिक सडक बनाउने सुझावका विषयमा आगामी दिनमा छलफल गरी कार्य अघि बढाइनेछ।