एमाले लुम्बिनी अधिवेशनः नेतृत्वबाट गुटगत भेला नगर्न निर्देशन, प्रदेश नेता लुकिछिपि भेलामा

काठमाडौं, १३ भदौ । नेकपा (एमाले)को नेतृत्वले गुटगत भेला र प्रचारबाजी नगर्न निर्देशन दिएको केही दिनमै लुम्बिनी प्रदेश अधिवेशनलाई लिएर केही नेताहरुले गुटगत भेला गरेर नेतृत्वको निर्देशनलाई अवज्ञा गर्ने प्रयास गरेको छ । एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन यहीँ भदौ १६ र १७ गते बुटवलमा हुँदैछ । उक्त अधिवेशनको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
अधिवेशनको तयारीसँगै नेतृत्वमा आउन केही नेताहरुले पार्टी कार्यालयमै भेटघाट र छलफल गरिरहेका बेला केही केन्द्रीय सदस्यहरुले जिल्ला तहका नेताहरुको उपस्थितिमा गुटगत भेला गरेको पाइएको छ ।
अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आउनु भएका पार्टीका केन्द्रीय सदस्य एवं प्युठानका पूर्वप्रदेश सांसद, पूर्वमन्त्री हरि रिजालसहितका नेताहरुले बुटवलको ढवाहामा रहेको आरम्भ रिसोर्टमा भेला गरेको तस्बिर सार्वजनिक भएको छ ।
यस्तै पार्टीका वर्तामान प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल समूहका केही नेताहरुले पनि तिलोत्तमाको मणिग्रामस्थित ड्रिम ल्याण्ड रिसोर्टमा भेला गरेको बताइएको छ । ड्रिम ल्याण्डमा बसेको अर्को पक्षको भेलाको भने तस्बिर सार्वजनिक भएको छैन । गुटगत भेला, छलफल र प्रतिस्पर्धालाई वर्जित गरिए पनि नेताहरुले त्यसलाई अवज्ञा गरेका छन् ।
नेकपा (एमाले) को लुम्बिनी प्रदेश अधिवेशनको मिति नजिकिँदै गर्दा नेतृत्वका लागि लबिङ तीब्र पारेका छन् । पार्टी नेतृत्वले हालै बुटवल पार्टी कार्यालयमा विशेष पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि गुटगत प्रतिस्पर्धा नगर्न निर्देशन गरेको भोलिपल्टै नेताहरुका अलग अलग भेला र छलफल तीब्र भएका छन् ।
पार्टीका प्रदेश इन्चार्ज तथा पार्टी केन्द्रीय सचिव पद्मा अर्याललगायका नेताहरुले हालै बुटवलमा पत्रकारहरुसँग छलफल गर्दै गुटगत भेला, प्रतिस्पर्धा र प्रचारबाजी वर्जित गरिएको बताउनु भएको थियो ।
ढवाहाको रिसोर्टमा मंगलबार पार्टीका केन्द्रीय सदस्य, संघीय र प्रदेश सांसद समेतको सहभागी रहेको बताइएको छ । रिजाललाई केन्द्रीय सदस्य बलराम अधिकारी, चेतनारायण आचार्य, नारायणप्रसाद आचार्य, थानप्रसाद गैरेलगायतका नेताहरु सहभागी रहेको बताइएको छ । उक्त भेलामा प्रदेशका ५ जिल्लाका अध्यक्ष र सचिवसहितका नेताहरु सहभागी रहेको बताइएको छ ।
भेलामा चुनाव भएमा रिजालको टिमबाट पदाधिकारीमा कुन–कुन नेतालाई समावेश गर्ने भन्ने छलफल भएको थियो । प्यूठान जिल्ला अध्यक्ष विजयविराज विष्टका अनुसार सो भेलामा रोल्पा र रुकुमका नेता भने सहभागी थिएनन् । विष्टले गुटको भेला नभई नेताहरुका बीचमा सामान्य छलफल भएको दाबी गर्नुभयो । जिल्लाबाट छनोट भएका प्रतिनिधिको गुटगत पक्षधरता र चुनावी रणनीतिबारे रिपोर्टिङ र छलफल भएको विष्टले जानकारी दिनुभयो ।
‘नेतृत्व चयन सहमतिबाट गर्न अधिकतम पहल गर्ने र त्यो संभव नभए मात्रै चुनावमा जाने भन्ने विषयमा छलफल भयो’, विष्टले भन्नुभयो ‘शीर्ष नेताहरुलाई सहमतिका लागि दबाव दिन भेला गरिएको हो, त्यस्तो खास अरु केही भएको हैन ।’
एमालेको लुम्बिनी प्रदेश अधिवेशन भदौ १६ र १७ गते हुँदैछ । अध्यक्ष पदका लागि पाल्पाका राधाकृष्ण कंडेल, प्युठानका हरिप्रसाद रिजाल र दाङका लक्ष्मण आचार्य आकांक्षी छन् । तीनै जना नेताहरुले जिल्ला–जिल्लामा विभिन्न तहका नेताहरुसंग छलफल तीब्र पारेका छन् । तीनै जना नेताहरुले आफु निकटकासँग फरक–फरक भेला तथा बैठक समेत गरेको बताइएको छ ।