ललितपुरमा आज मतयाः मनाइँदै

काठमाडौं १५ भदौ । ललितपुरमा आज मतयाः पर्व मनाइँदैछ । अरु नगरमा गाईजात्रा मनाए जस्तै ललितपुरमा मतयाः मनाउने गरिन्छ । ललितपुरमा गाईजात्रा भने मनाउने चलन छैन ।

यही वर्ष दिवंगत भएका आफन्तका नाममा परिवारका सदस्यहरू ललितपुरमा मतयाःमा सहभागी हुने गर्दछन् । मतयाः मुलतः बत्ती बाल्दै जाने यात्रा हो । यसमा ललितपुरभरिका सबै बौद्ध बहाःबही, चीभाः, चैत्य आदि बौद्धस्थलहरू परिक्रमा गरी दिवंगत आफन्तका नाममा बत्ती, पैसा, चामल वा अन्य वस्तु चढाउँदै जाने गरिन्छ ।


यसमा बीच बीचमा विभिन्न देवीदेवता र हास्यपूर्ण भेष धारण गरी ख्यालीहरू पनि आइरहेका हुन्छन् ।

मतयाः यात्रालाई कठिन यात्राका रुपमा लिने गरिन्छ । यो बिहान ४ बजे शुरु हुन्छ र करिब १५ घन्टाको लगातार हिँडाइ पछि समापन हुन्छ ।

ललितपुरका १० वटा परम्परागत टोलहरूले पालैपालो यो यात्राको आयोजना गर्ने चलन रहेको छ । यस वर्ष सौगः टोलले यसको आयोजना गरेको थियो । सौगः टोलबाट विभिन्न बौद्धस्थलहरू परिक्रमा गर्दै इमाडोलको थुरसम्म यो यात्रा पुग्ने गर्दछ ।

ललितपुरको मूख्य नगर क्षेत्र बाहेक बुंगमती, ठसी, ठेचो आदि ग्रामिण क्षेत्रमा पनि मतयाः निकाल्ने परम्परा रहेको छ । यो वर्ष मकवानपुर जिल्लाको हेटौंडामा पनि मतयाः आयोजना गरिएको छ ।