नेपालको समृद्धिमा चिनियाँ अनुभव उपयोगी र महत्त्वपूर्णः महासचिव पोखरेल

चाइना, १८ भदौ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा रहनु भएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेल आज बिहान जनवादी गणतन्त्र चीनको मुख्य शहर छोङछिङमा रहेको चिनियाँ कम्युनिष्ठ पार्टीको स्कुलमा आयोजित विचार आदनप्रदान–अन्तरक्रिया कार्यक्रममा सहभागी बन्नु भएको छ ।
उहाँले कार्यक्रममा सहभागी हुँदै जनताको बहुदलीय जनवादको आलोकमा ‘समृद्ध नेपालः सुखी नेपाली’ को लक्ष्य सहित नेकपा (एमाले) ले नेपालको कम्युनिष्ठ आन्दोलनको नेतृत्व गरिरहेको बताउनु भयो ।
उहाँले नेपालको समृद्धिमा चिनियाँ अनुभव उपयोगी र महत्त्वपूर्ण रहेको भन्दै नेपाली कम्युनिष्ट आन्दोलन विकासक्रमका मुख्य ३ मोडहरु पुष्पलाल श्रेष्ठको पार्टी स्थापना र संगठन, मदन भण्डारीको विचार र वर्तमान पार्टी केपी शर्मा ओलीको समृद्धि रहेको पनि उल्लेख गर्नुभयो । ‘हामी हाम्रो अध्यक्ष ओलीको नेतृत्वमा नेपालमा सुखी नेपालीको लक्ष्य पुरा गर्दै समाजवादको आधार निर्माण गर्छौं,’ महासचिव पोखरेलले भन्नुभयो ।
कार्यक्रममा चिनियाँ आधुनिकरणमा छोङछिङको अभ्यासको बारेमा प्रोफेसर सुन लिङ उले र प्रोसेसर दा सिउ लाईओईले नयाँ युगका लागि चिनियाँ विशेषता सहितको समाजवादः सि बिचारधारा विषयमा प्रस्तुती राख्नु भएको थियो ।
भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेताहरू ज्वाला कुमारी शाह, राम राना, टुका हमाल, सहदेब देवकोटा, रचना खड्का, निरज आचार्य, मन्जु गुरुङ, अजय कुमार गुप्ता, मानबिर राई लगायत हुनुहुन्छ ।