भारतीय मन्त्रिपरिषद्बाट स्वीकृत भयो नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने समझदारी
काठमाडौं, १९ फागुन । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गरेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले द्विपक्षीय वार्तापछि मन्तव्य दिदैँ भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् किन्ने सार्वजनिक गर्नुभएको थियो ।
उहाँले त्यसैबेला प्रधानमन्त्री तहको वार्तामै त्यसलाई छिट्टै मन्त्रिपरिषद्बाट पारित गरिने पनि उल्लेख गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले त्यतिबेला गरेको प्रतिवद्धतालाई मन्त्रिपरिषद्बाट पारित गर्नुभएको छ । त्यसको भारतीय पक्षबाट आधिकारिक पुष्टि नभए पनि दिल्लीस्थित नेपाली राजदूत शंकरप्रसाद शर्माले भने यो कुराको पुष्टि गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत नै भारतले नेपालसँगको विद्युत् व्यापारसम्बन्धी समझदारी पत्रलाई स्वीकृत गरेको उल्लेख गर्नुभएको छ ।
‘भारतको मन्त्रिपरिषद्ले आगामी दश वर्षभित्र १० हजार मेगावाट विद्युत् खरिद गर्ने स्वीकृतिले २०७२ सालमा विद्युत् विकासको नयाँ मार्गचित्र बनाउने बाटो खुला गरेको छ,’ उहाँले भन्नुभएको छ, ‘यसले नेपालको आर्थिक विकास र पुनर्संरचनामा महत्वपूर्ण भूमिका खेल्नसक्छ ।’
प्रचण्डको भारत भ्रमणमा दुबै प्रधानमन्त्रीको उपस्थितिमा फुकोट कर्णाली र तल्लो अरूण निर्माणका लागि एमओयू भएको थियो । त्यसैगरी गोरखपुर–भैरहवा ४०० केभी प्रसारण लाइनको शुभारम्भ पनि गरिएको थियो।