एमाले कोसी अध्यक्षमा चारको कोसिस, लुम्बिनी दोहोरिएला कि, सर्वसम्मत होला ?

काठमाडौं, २१ भदौ । नेकपा (एमाले) ले सात वटै प्रदेशको अधिवेशन धमाधम गर्दै आएको छ । सात प्रदेश मध्ये लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भएको छ । बाँकी ६ प्रदेश र उपत्यकाले पनि अधिवेशनका लागि आ–आफ्नै तयारी अघि बढाएका छन् । लुम्बिनीले आफ्नो अधिवेशन भदौ १६–१७ सम्पन्न गरेको छ ।
त्यसैगरी मधेस प्रदेशको अधिवेशन असोज ५–६ गते गर्ने तयारी छ भने असोज ८–९ बागमती प्रदेशको अधिवेशनकमे तयारी छ । १०–११ कर्णाली प्रदेश, असोज १२–१३ कोसी, असोज १५–१६ गण्डकी र असोज १९–२० उपत्यका विशेषको अधिवेशन तयारी छ । असोज २१–२२ गते सुदूरपश्चिम प्रदेशले अधिवेशनको तयारी गरेको छ ।
लुम्बिनीमा सम्पन्न अधिवेशन निर्वाचनमार्फत नै सम्पन्न भएपछि अन्य प्रदेशमा पनि सर्वसम्मत नेतृत्व छनोट हुन नसके निर्वाचनको बाटो खुला हुने अनुमानसँगै बाँकी प्रदेशमा उम्मेदवार बन्नेको होडबाजी बढ्ने देखिएको छ ।
कोसी प्रदेशको अधिवेशन असोज १२ र १३ गते निश्चित भएसँगै त्यो प्रदेशमा अध्यक्षका लागि नेताहरुले दौडधुप बढाएका छन् । प्रदेश अध्यक्षलाई पोलिट्ब्युरो सदस्य सरहको मान्यता दिएपछि कार्यकारी पद रहेको प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्य र पोलिट्ब्युरोसम्मका नेताहरुले आँखा लगाएका छन् । लुम्बिनीको अधिवेशनमा राधाकृष्ण कंडेल ४७९ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभयो ।
पहिलो अधिवेशनमा उहाँसँग प्रतिस्पर्धामा रहनु भएका हरि रिजालले ४७७ मत प्राप्त गर्नुभयो । रिजाल केन्द्रीय सदस्य हुुनुहुन्थ्यो । केन्द्रीय सदस्य नै अध्यक्षको उम्मेदवार बनेपछि प्रदेश अध्यक्षको हैसियत केन्द्रीय सदस्यको भन्दा बलियो छ भन्ने सहज अनुमान लगाउन सकिन्छ । त्यसले पनि उक्त पदमा माथिल्लो पदमा रहेका व्यक्तिहरुको समेत आँखा पर्न थालेपछि बाँकी प्रदेशहरुमा आकांक्षी बढ्ने अनुमान गर्न थालिएको छ ।
एमालेले अधिवेशनमा प्रतिनिधि चयनको मापदण्ड र क्षेत्र निर्धारण समेत गरेको छ । सो अनुसार प्रतिनिधि चयनका लागि पालिकालाई निर्वाचन क्षेत्र तोकिएको छ भने कमिटीमा युवा सहभागिताको सुनिश्चितता गर्नुपर्ने निर्णय गरेको छ । सो अनुसार प्रदेशमा १० प्रतिशत, जिल्लामा १५ प्रतिशत, पालिकामा २० प्रतिशत र वडा र टोलमा एकतिहाई युवा प्रतिनिधित्वको सुनिश्चित गरेको छ । यो मापदण्डलाई आधार मान्दै अहिले हरेक प्रदेशमा नेताहरुको प्रतिनिधि छनोटलाई समेत ध्यानमा राखेर आफ्नो पक्षमा पल्लाभारी बनाउने योजना बनाउन थालेका छन् ।
कोसी प्रदेशमा अहिलेसम्म चार जना नेताको अध्यक्षमा आकांक्षा देखिएको छ । एमालेका केन्द्रीय सदस्य एवं धनकुटा इन्चार्ज विनोद ढकालले अध्यक्षमा आकांक्षा देखाउनु भएको छ । अहिलेका अध्यक्ष तुलसी न्यौपानेले पनि एक पटक अधिवेशनबाट अध्यक्ष बन्ने आकांक्षा देखाउनु भएको छ । उहाँसँगै मोरङका पूराना नेता घनश्याम खतिवडा र उपाध्यक्ष टिकाराम चेम्जोङको पनि अध्यक्ष बन्ने चाहनाले कोशीमा चार जना मैदानमा उत्रिनसक्ने संभावना देखिएको छ ।
एकातिर लुम्बिनीको निर्वाचनले अन्य प्रदेशमा पनि निर्वाचन गर्ने ढोका खोलिदिएको छ भने लुम्बिनीको निर्वाचनपछि गुबन्धीको हो–हल्ला फैलाएपछि त्यस्लाई न्यूनिकरण गर्न सर्वसम्मत नेतृत्व छनोटमा पार्टी नेतृत्वले चासो देखाउने हो कि भन्ने पनि त्यत्तिकै संभावना छ ।
कोसीका आकांक्षीहरु मध्ये ढकालको पृष्ठभूमि अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षहुँदै मोरङको पार्टी सचिव, दुई पटक जिल्ला अध्यक्ष रहेको छ । वर्तमान अध्यक्ष न्यौपाने जिल्ला विकास समिति संखुवासभा सभापतिदेखि प्रदेश सांसद र प्रदेश मन्त्री भैसक्नु भएको व्यक्ति हो ।
चेम्जोङचाँहि संघीय सांसद भैसक्नु भएको व्यक्ति हो । उहाँसँग पार्टीको जिल्ला प्रमुखको रुपमा काम गरिसकेको अनुभव छ । खतिवडा भूमिगत कालदेखि नेकपा (एमाले) का समर्पित नेता हुनुहुन्छ । उहाँ संघीय सांसदसमेत भैसक्नु भएको व्यक्ति हो ।
बाहिर चर्चा चार जना नेताको चलेपछि अहिलेसम्म कसैले पनि खुलेर उम्मेदवारी घोषणा भने गरेको देखिदैँन । आकांक्षीहरुले आफ्नो उम्मेदवारी माथिल्लो नेतृत्वहरुको सल्लाहमा हुने भन्दै टार्दै आएका छन् । केन्द्रीय सदस्य नै प्रदेशको उम्मेदवार बनेपछि केन्द्रीय सदस्य पद स्वतः खारेजी हुने भनेपछि ढकाल जित्ने अवस्था नहुने भयो भने प्रदेशमा ओर्लिन हच्किने संभावना पनि बढी रहेको देखिएको छ । लुम्बिनीमा रिजाल केन्द्रीय सदस्यबाट प्रदेशमा झर्दा र हार्दा दुबै पद गुमाएको दृष्टान्तले अन्य प्रदेशमा पनि तल ओर्लिन नेताहरु हच्किने संभावना बढी देखिएको छ ।
अन्य प्रदेशको तुलनामा कोसी प्रदेश एमालेका शक्तिशाली नेताहरुको क्षेत्र पनि हो । एमाले अध्यक्ष केपी शर्मा ओली, निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सचिव योगश भट्टराई, स्थायी समिति सदस्यहरु भीम आचार्य, शेरधन राई, लालबाबु पण्डित, राजेन्द्र गौतम, शिवमाया तुम्बाहाम्फे, हिक्मत कार्कीलगायतका नेताहरु यो प्रदेशमा रहेका कारण पनि यो प्रदेशको अधिवेशनलाई अर्थपूर्णरुपमा हेरिएको छ । नेताहरुले पनि अहिलेम्म यो उम्मेदवार भनेर मुख नखोलिसकेको अवस्थामा छ ।