एमाले बागमती प्रदेश अधिवेशन तिव्र तयारीमा, लोगो सार्वजनिक

काठमाडौं, २१ भदौ । नेकपा (एमाले) को प्रथम बागमती प्रदेश अधिवेशनको तयारी तिव्र गतिकासाथ अघि बढको बागमती एमालेले जानकारी दिएको छ । अधिवेशन तयारीकै सन्र्दभमा आज एमाले बागमतीले लोगो सार्वजनिक गरेको छ ।

‘एमालेको बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी असोज ८ र ९ गते काठमाण्डौँमा आयोजना गरिँदै छ,’ बागमती प्रदेश एमालेका प्रचार विभाग प्रमुख महेश वर्तौलाले भन्नुभयो, ‘कमिटीको प्रचारप्रसार समितिले निर्माण गरेको लोगो पदाधिकारी र इन्चार्जको सुझावअनुसार टुंगो लगाइएर आज सार्वजनिक गरेका छौँ ।’

उहाँले लोगोमा बागमती प्रदेश भित्रका हिमाल, पहाड र तराइको भूभाग दर्शाउने आकृति, यहाँका सांस्कृतिक, धार्मिक पहिचानका संकेतहरु र जातजाती, भेषभूषा, जीवजन्तु साथै यहाँको परिवर्तन र विकास गर्न प्राण आहूती गरेका शहीदहरुको स्मरण गरिएको जानकारी दिनुभयो ।

‘समृद्ध बागमती प्रदेश निर्माणका लागि एमालेकै नीति र नेतृत्व आवश्यक छ, भन्ने झल्काउन एमालेको झण्डा र चुनाव चिन्ह सूर्य सजाइएको छ,’ प्रमुख बर्तौलाले भन्नुभयो ।

असोज ८ मा उद्घाटन हुने यो अधिवेशनलाई एमालेले राष्ट्रिय महाधिवेशनको झल्को दिनेगरी तयारी गरिरहेको छ । राजधानी सहर समेत जोडिएको यस प्रदेशमा उद्घाटनका बेला मानवसागर उतार्ने तयारी भइरहेको एमाले बागमतीको भनाई छ ।