अष्ट्रेलियन राजदूतले सभामुखसँग भन्नुभयो– क्यानबेरामा बढी बोलिने भाषामा नेपाली तेस्रो

काठमाडौं, २१ भदौ । सभामुख देवराज घिमिरेसँग नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरवारस्थित सभामुख कार्यकक्षमा आज भएको भेटमा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमण लगायतका विषयमा छलफल भएको छ ।

भेटमा सभामुख नेपालले नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अत्यन्तै सुमधुर र सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गर्नुभयो । ‘आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगमा आधारित दुई देशबीच रही आएको मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनहरुमा अझ फराकिलो र गहिरो बन्दै गएकोमा खुशी लागेको छ,’ उहाँले भन्नुभयो ।

नेपाली विद्यार्थीहरुको ठूलो संख्या अष्ट्रेलियामा रहेको बताउँदै सभामुख घिमिरेले उनीहरुको शैक्षिक वृत्ति विकासबारे चासो लिनुभएको थियो । राजदूत भोल्कले अष्ट्रेलियामा एक लाख ३० हजारभन्दा बढी नेपालीको बसोबास रहेको बताउँदै क्यानबेरामा बढी बोलिने भाषामा नेपाली भाषा तेस्रो स्थानमा रहेको समेत जानकारी गराउनुभयो ।

राजदूत भोल्कले नेपाललाई अष्ट्रेलियाले उच्च प्राथमिकतामा राखेको बताउँदै गएको वैशाखमा अष्ट्रेलियाका सहायक विदेश मामिला मन्त्री टिम वाट्सले नेपाल भ्रमण गरेको स्मरण गराउनुभयो । उहाँले आगामी अक्टूबरमा अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुखको नेपाल भ्रमणबारे जानकारी गराउनुभएको थियो ।