संसदमा प्रधानमन्त्री र गृहमन्त्रीप्रति गगनको गर्जन–हामी एक्लै हिँड्न हुने हो कि होइन ?

काठमाडौं, २१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मात्रै होइन सत्ता साझेदार दल नेपाली कांग्रेसले समेत आफ्ना सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको आक्रमणको घटनाका सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरेको छ । आज संसदमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यस्तो माग गर्नुभएको हो ।
‘म गृहमन्त्रीलाई सोध्न चाहन्छु के अब हामी काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो ?’ उहाँले प्रश्न गर्नुभयो, ‘कोही जलाइदिन्छु भन्छ कोही धम्की दिन्छ। हामी एक्लै हिँड्न हुने हो कि होइन । म प्रधानमन्त्रीले ठाउँ–ठाउँमा बोलेको पनि सुनिरहेको छु । यसलाई छाडिनेछैन भनेर जिम्मा लिनेले बोल्ने होइन काम गर्ने हो। हामी परिणाम हेर्न चाहन्छौँ।’
थापाले सन्काले हान्यो भनेर यसलाई थामथुम पार्ने सामसुम पार्ने प्रयास भैरहेको भन्दै त्यसो नगर्न सरकारलाई सचेत गराउनुभयो । ‘नेपाली कांग्रेसको तर्फबाट सरकारलाई सचेत गराउन चाहन्छु । सरकारको ध्यानाकर्षण गराउन चाहनछु । यो विषयको गहिरो अनुसन्धन भएर सबै पक्षहरुको बारेमा अनुसन्धान होस् ।’
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि प्रतिनिधि सभाको अर्को बैठकमा घटनाको सत्यतथ्यसहितको विवरण लिएर आउन आग्रह गर्नुभयो । ‘म गृहमन्त्रीज्युलाई आग्रह गर्न चाहन्छु,’ उहाँले भन्नुभयो, ‘यसपछि बस्ने प्रतिनिधि सभाको बैठकमा यो घटनाको बारेमा सम्पुर्ण विवरण सहितको जानकारी र यसमा भए गरेका सम्पूर्ण कामहरुको विवरण सदनमा प्रस्तुत गर्नुहुनेछ भन्ने नेपाली कांग्रेसको संसदीय दलको तर्फबाट माग गर्न चाहन्छु ।’