पूर्व राष्ट्रपति भण्डारीले ओढाए राष्ट्रिय झण्डा

काठमाडौं, २६ भदौ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्बाङप्रति विभिन्न विशिष्ट व्यक्तित्वहरूले अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

नेकपा (एमाले) को मुख्यालय च्यासलमा राखिएको उहाँको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न विभिन्न विशिष्ट व्यक्तिहरू पुग्नुभएको हो ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी च्यासल पुगेर उहाँको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउनुभएको छ ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायत मन्त्रिमण्डलका मन्त्रीहरूले पनि उहाँलाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

त्यस्तै पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पनि अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानाले पनि श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

नेम्बाङको पार्थिव शरीर एमाले कार्यालय ल्याउनासाथ सबैभन्दा पहिले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाउनुभएको थियो ।