आज पञ्चदान पर्व भव्यपूर्वक मनाइयो
काठमाडौं, २६ भदौ । उपत्यकाका बौद्ध नेवार समुदायको एक विशिष्ट पर्व पञ्चदान आज मनाइयो । आज बिहानैदेखि विभिन्न बहाःबही, सार्वजनिक चोक, ननी आदि जस्ता ठाउँमा स्थानीय शाक्य वज्राचार्य समुदायलाई धान, चामल, गेडागुडी, नुन आदि जस्ता अन्न र अन्य सामग्री दान गर्ने परम्परा रहेको छ । बौद्ध नै भए पनि दान गर्ने नेवाः समुदायको यो एक मौलिक पर्व हो ।
बुद्ध धर्ममा दानको ठूलो महत्व रहेको छ । मानिसलाई त्याग, परोपकार र सद्भाव जस्ता गुणले सम्पन्न गरी लोभ, पाप र असत्य कामबाट टाढा राख्ने उद्देश्यले बुद्ध धर्ममा दानको संस्कार विकास गरिएको पाइन्छ । बुद्ध धर्ममा विभिन्न किसिमका दानको चर्चा गरिएको छ । त्यस मध्ये पञ्चदान काठमाडौं उपत्यकामा प्रचलित मौलिक संस्कार सहितको दान हो ।
यो दान विशेषतः शाक्य, वज्राचार्य समुदायले ग्रहण गर्दछ भने शाक्य वज्राचार्य लगायत तुलाधर, महर्जन, मानन्धर आदि समुदायले प्रदान गर्दछ । काठमाडौंमा पञ्चदान प्रदान गर्ने उद्देश्यले विभिन्न गुठीहरू पनि स्थापना गरिएका छन् । त्यस मध्ये धेरै पुरानो र प्रचलित एउटा गुठी काष्ठमण्डप पछाडि बसोवास गर्ने ताम्रकार समुदायद्वारा सञ्चालित ‘तःचतं गुठी’ हो ।
यो गुठीले काष्ठमण्डप भित्र अनुष्ठान गरिएको भात पकाई भात नै दान गर्दछ । भात नै दान गरिने भएकोले यो पर्वलाई ‘पञ्जरां’ पनि भन्ने गरिन्छ । ‘पङ्जा’ नामक एक किसिमको पूण्य भात दान गरिने भएकोले यसलाई ‘पञ्जरां’ भनिएको हो । काष्ठमण्डपमा गरिने यो दान स्वयम् काष्ठमण्डप भन्दा पनि पुरानो मानिन्छ ।
आज बिहानैदेखि स्वयम्भू महाचैत्यमा पनि त्यहीं बस्नुहुने बुद्धाचार्य समुदाय र स्वयम्भू परिसरमा भएका सबै देवीदेवता र चैत्यलाई पनि पञ्चदान गरिएको थियो ।
नेपालमा लिच्छविकालीन अभिलेखहरूमा पनि दानका विषयमा उल्लेख गरिएको पाइन्छ । त्यसैले पञ्चदान नेपालमा प्राचिनकालदेखि नै प्रचलनमा रहेको विश्वास गरिन्छ ।
आज काठमाडौं लगायत भक्तपुर र थिमिमा पनि पञ्चदान मनाइँदैछ । ललितपुरमा भने गत भाद्र ७ गते नै मनाइसकेको छ । केही वर्षदेखि काठमाडौंमा पञ्चदानबाट प्राप्त हुने धान, चामल र नगदलाई सामुहिक कार्यमा प्रयोग गर्ने चलन पनि हुँदै आएको देखिन्छ । नेपाल परम्परागत बौद्ध धर्म संघको पहलमा सञ्चालित यो सामुहिक पञ्चदानमा संकलित रकम लुम्बिनीमा निर्माण भइरहेको नेपाली शैलीको वज्रयानी विहार (बहाः) लाई प्रदान गरिन्छ ।
संघका अध्यक्ष एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व कुलपति प्रा.डा. नरेशमान वज्राचार्यले पञ्चदान नेपाली बौद्धहरूको अत्यन्त महत्वपूर्ण र प्राचिन परम्परा भएकोले यसमा सहभागी हुन सम्पूर्ण शाक्य वज्राचार्य समाज एवं दाताहरूलाई अपिल गर्नुभएको छ ।