डोल्पाकाे चिन्डेबगरमा भेटिएको शव गुल्मपति पण्डितकै

काठमाडाैं, २७ भदाै । मंगलबार डोल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका–५ चिन्डेबगरमा भेटिएको शव गुल्मपति बिमल पण्डितकै भएको पुष्टि भएको छ।

चिन्डेबगरमा माछा मार्न गएका स्थानीयहरूले शव भेटिएपछि खदाङ प्रहरीलाई जानकारी गराएका थिए।

डोल्पाका प्रहरी प्रमुख, डिएसपी शिव बुढाथोकी, नेपाली सेनाको टोलीले बगाएर ल्याएको अवस्थामा भेरी नदीको चेपबाट शव निकालेको थियो। उक्त शवलाई सदरमुकाम ल्याएपछि औंठी र घडीको सहायताले शव पण्डितकै भएकाे पहिचान गरिएको जिल्ला प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिनुभयाे ।

‘मंगलबार बिहानै खदाङस्थित भेरी नदीको चेपमा ढुंगाको बीचमा एउटा शव बगाएर ल्याएको छ भन्ने खबर आयो। नेपाली सेना र प्रहरीहरू त्यहाँ पुगेर शव निकालेर सदरमुकाम ल्यायौं। धेरै दिनदेखि शव पानीमा रहेकाले अनुहारबाट पहिचान नै हुन सकेन। सदरमुकाम ल्याएपछि उहाँको बुवाले शवको पहिचान गर्नुभयो,’ डिएसपी बुढाथोकीले जानकारी दिनुभयाे ।

सेनानी पण्डितको शव मंगलबार राति नै पोष्टमर्टमका लागि जिल्ला अस्पताल पठाइएको पनि बुढाथोकीले जानकारी दिनुभयाे ।

नन्दबक्स गुल्मका गुल्मपति पण्डित गत भदौ १० गते अपराह्न ४ः५५ बजेदेखि सम्पर्कविहीन भएका थिए।

उनी ब्यारेकबाट स्थानीय जिप भाडामा लिएर त्रिपुराकोट गएको खुलेको थियाे। जिल्ला प्रहरी प्रमुख बुढाथोकीका अनुसार सेनानी पण्डितसँग त्यस गाडीलाई भाडा तिर्न नगद साथमा नभएको खुलेको छ। उनले चालक बस्नेतलाई ‘खाता नम्बर छ, अनलाइन पे गर्दिन्छु’ भनेका रहेछन्।

चालकसँग बैंकको खाता नम्बर नभएकाले गाडीबाट ओर्लिएर तीन–चार वटा पसलेसँग डिजिटल भुक्तानीबारे सोधेका थिए। पसलेहरूले नभएको बताएपछि चालकले साहुसँग भेटाइदिएको अनुसन्धानबाट देखिएको छ।

त्यसपछि सेनानी पण्डितले २६ हजार ५ सय रुपैयाँ खातामार्फत् ट्रान्सफर गरेको र आफूले नगद लिएका थिए। लिएको नगदमध्ये ६ हजार ५ सय गाडी भाडाबापत् भुक्तानी गरेका थिए।

गाडीबाट ओर्लिएर एउटा पसलमा चप्पल, झोला बोकेर सम्पर्कविहीन भएको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए।