अभिभावकले आफ्ना सन्तानलाई छोडेर जाने नमासिने वस्तु मातृभाषा मात्रै होः उपमेयर डंगोल

काठमाडौं, ३० भदौ । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले हरेक आमाबुबाले आफ्ना सन्तानलाई कहिल्यै नमासिने गरी छोडेर जाने वस्तु भनेको आफ्नो मातृभाषा मात्रै हो भन्नुभएको छ ।

अहिले नेवार लगायत विभिन्न भाषिक समुदायका नयाँ पुस्ताले आफ्नो मातृभाषा छोड्दै गइरहेको विडम्बनापूर्ण छ भन्दै उहाँले भन्नुभयो, ‘अहिले बच्चाहरूले धेरै समय बिताउने भनेको आफ्ना हजुरबा हजुरआमासँग हो । त्यसैले हजुरबा हजुरआमाहरूले कनिकुथि अरु भाषा सिकाउनुभन्दा आफ्नै मातृभाषा सिकाउनुपर्छ । उहाँहरूले आफ्ना सन्तानलाई कहिल्यै नमासिने गरी छोडेर जाने भनेको आफ्नो मातृभाषा मात्रै हो । अरु वस्तु त सबै नासिएर गइहाल्छ ।’

काठमाडौंका स्थानीय नेवाः समाजको आन्दोलनकारी संस्था नेपालभाषा मंकाः खलःको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित बिजेश्वरीमा निर्माण गरिएको उक्त भवनको लागि काठमाडौं महानगरपालिकाले आर्थिक अनुदान उपलब्ध गराएको थियो । महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यको पहलमा मंकाः खलःको भवन निर्माण गर्न आर्थिक सहयोग उपलब्ध भएको थियो ।

निर्माण सम्पन्न भएको उक्त भवन उपमेयर सुनिता डंगोल लगायत नेपालभाषा मंकाः खलःका अध्यक्ष एवं जनकवि दुर्गालाल श्रेष्ठ र कामपा १५ वडाका अध्यक्ष ईश्वरमान डंगोलले सामुहिक रुपमा उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालभाषा आन्दोलनका अगुवा मल्ल के. सुन्दरले नेपालमा भाषिक अधिकारको आन्दोलन उठाउने काम मंकाः खलःको नेतृत्वमा भएको इतिहास सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘मंकाः खलःको यो भवन एउटा भौतिक संरचना मात्र होइन । यो सयौं वर्षदेखि चल्दै आएको आन्दोलनको एउटा प्रतीक हो । यो भवनको एक एक इँटामा नेपालभाषा आन्दोलनको इतिहास कोरिएको छ ।’

कार्यक्रममा कामपा १५ वडाका वडा अध्यक्ष ईश्वरमान डंगोल, मंकाः खलःका पदाधिकारी रमेशमान पिया, प्रतापमान शाक्यले पनि मन्तव्य राख्नुभएको थियो ।